पाथिभरा सैन्य तालिममा आलोकसँग रात बिताउने कमरेड को थिइन् ?


यानप्रसाद गौतम ‘आलोक’

भीमखोरी मोर्चा सफल पारेपछि सिन्धुलीका विभिन्न गाउँ–बस्ती पुग्यौं । त्यहाँबाट दुस्मनसँग लुकीछिपी सिन्धुलीको चुरे पर्वत शृंखला हुँदै मरिनको किनारैकिनार उत्तर (रामेछाप) तिर लम्कियौं । तिर्खाले छटपटायौं । हिँड्दै जाँदा चुरेको बीचमा गाईगोठ देख्यौं । पानी कहाँ पाइन्छ भनेर गोठमा देखिएका दाइलाई सोध्यौं । उनले ठूलो ढुंगाबीचको खोपिल्टो देखाए ।

खोपिल्टोको पानी प्रदूषित थियो । पानी पिउनयोग्य नभए पनि कचौराले उबाएर प्यास मेट्यौं । भएभरको पानी सिध्यायौं । पानीको तागतले हायू बस्ती पुग्न सघायो । हायू समुदायका बुवाआमा, दाजुभाइ, दिदीबहिनीसँग भेट भयो । भाइबहिनी नांगैभुतुंगै बाटामा खेलिरहेका थिए । उनीहरूसँग हायू भाषा सिक्ने जमर्को गर्यौं । हायू भाषामा दिदीलाई नुनु भनिँदोरहेछ । केही भाषा त थामी समुदायसँग मिल्दोरहेछ । बुढ्यौलीले छोएका बुवाहरू लगौंटीमात्रै लगाएर डोको बुनिरहेका थिए । फाटेको चौबन्दीले जसोतसो इज्जत ढाक्न विवश बूढी आमाहरू घरधन्दामा टहलिरहेका देखिन्थे । लोपोन्मुख समुदायलाई पहिलोपटक नजिकबाट देख्दा असाध्यै खुसी लाग्यो ।

स्थानीयले चामल, पीठो बटुलिदिएपछि खाना पकाउने प्रबन्ध मिलायौं । खाना पकाएर खायौं । हामीले त खाना खायौं । खाना सीमित थियो । हामी हिँड्ने बेला बालबालिकाले भुँइमा खसेको भातको सिता टिपेर खाँदै गरेको देखें । मुटु भक्कानियो । थाहै नपाई मेरा आँखामा आँसु टिलपिल भयो । अभावग्रस्त जिन्दगी बिताउनु उनीहरूको बाध्यता थियो । साँच्चै दुःखी गरिबको जिन्दगी जहाँ पनि उस्तै–उस्तै । मुटु दह्रो बनाएर बाटो लाग्नुको विकल्प थिएन ।

पूर्वका प्रथम सहिदद्वय टीका देवकोटा र ज्ञानेन्द्र देवकोटालाई हत्या गरिएको ठाउँ (मरिनको शिर) लाई एकपटक सलामी दिँदै अघि बढ्यौं । जनयुद्ध सुरुवातको प्रशिक्षण लिएको अमलेमा पाइला रोकिए । त्यहाँका घर घरधनीका प्रतीक्षामा थिए । दुस्मनको श्वेत आतंक (राज्यले तत्कालीन अवस्थामा गरेको दमन) ले गाउँ रित्तो–रित्तो बनाएको थियो । कतिपय घर ढल्न र खाँबा मक्किन लागेका देखिन्थे । बगैंचाभरि अम्बा, भोगटे, निबुवा, केरा, सुन्तलालगायतका फलफूल लटरम्मै पाकेका थिए । भावनाको सागरभित्र डुबुल्की मारेर निबुवाको अमिलो केस्रासँगै नुनिला आँसु पियौं । आँसुलाई एसिडमा परिणत गर्ने प्रणसहित दुस्मनलाई बदला लिन दृढ थियौं ।

त्यहाँबाट रामेछापको ऐतिहासिक भूमि बेथान पुग्यौं । दसैंको रमझम लागिसकेको थियो । बेथानलाई रातो सलामी दिँदै दसैं मनायौं । चाडबाडमा घरपरिवार, आफन्तजनको सम्झनाले छाती पोल्थ्यो । तर, क्रान्तिकारीका जीवनमा ती सबै गौण लाग्थे । सहिदको रगत र बारुदको टीका लगाउने, गोलीको जमरा पहिरिने योद्धाको जीवन एकतमासको थियो ।

महिना दिनको यात्रापछि एसटीएफ फोर्सले दोलखामा पाइला टेक्यो । दुस्मनका आँखा छल्दै र संवेदनशील नाका पार गर्दै एकमहिने तालिम शिविरमा जिल्लाको अत्यन्तै विकट उत्तरी भेग (तात्कालिक श्यामा गाउँ विकास समितिको पाथिभरा) तिर लाग्यौं । त्यहाँ पुगेर जिल्ला पार्टीसँग सम्पर्क गर्दा शिविरका लागि चामल बोकिरहेका कमरेडहरू भेटिए । उनीहरूले रातभरि चामल बोके । शिविरमा अत्यावश्यक सामग्री जोहो गर्नु छँदै थियो । हामीचाहिँ युद्ध जितेर गएको लडाकु फोर्स भएकाले बिनाअनुमति कसैसँग नबोल्नू र केही काम पनि नगर्नू भन्ने कमान्डरको निर्देशन थियो । यतिसम्म भयो कि हामीले खाएको थालसमेत जिल्लाका कमरेडहरूले पखाल्नुपर्यो । मलाई कताकता अप्ठ्यारो अनुभूति भयो । महिना दिनअघि सँगै काम गरेका कमरेडसँग महिना दिनपछि भेट्दा आकाशपातालको फरक पाउँदा ‘म पनि क्रान्तिकारी हुँ र ?’ भन्दै आफैंलाई प्रश्न गरिरहें । मन अमिलो भयो । आखिर हामी सबै कम्युनिस्ट पार्टीका सदस्य थियौं । हामी सबैले क्रान्तिको कसम खाएका थियौं । तर पनि कम्युनिस्ट पार्टीभित्र पनि यस्तो हुँदोरहेछ नि भन्ने लागिरह्यो ।

डम्बर थामी ‘अनुपम’

त्यतिबेलाको ‘सेन्टिमेन्ट’ त्यस्तै भएर होला यानप्रसाद गौतम ‘आलोक’ कारबाहीमा परेका थिए । कमरेडहरूले हामीलाई लाल कमान्डोको संज्ञा दिए । त्यतिबेला पूर्वमा ‘आलोक प्रवृत्ति’ गाँजिएको थियो । आलोकको सेना भएर होला हामीलाई अरू काम गर्न दिइएको थिएन । हाम्रो काम केवल युद्ध लड्नेमात्रै । हामीले पाएको निर्देशनले हामीलाई नै तीखो काँडाले घोचिरह्यो ।

दोलखाको घ्याङसुका थोकर, जफे, हाँवा, च्यामा, जिरी हुँदै दुई दिन, दुई रातको हिँडेपछि शेर्पा गाउँ (माली) पुग्यौं । हिमाल चढेर वीरता र बहादुरी देखाएको शेर्पा बस्ती पुगेर सुख–दुःख साटासाट गर्दा आनन्द लाग्यो । त्यहाँबाट रातभर हिँडेर पाथीभराको काखमा लुटपुटिन पुग्यौं । जहाँ गौरीशंकर, नुम्बुर र पाथीभराले हिमशुभ्रको ताज पहिरिरहेझैं लाग्यो । पाथिभरालाई गुरिल्ला वारफेयर (युद्धकला) सिकाइको भूमिमा परिणत गर्न तयारी थाल्यौं । जहाँ गुरिल्ला वारफेयर तालिम सञ्चालन गर्न उपयुक्त मानिन्थ्यो । माउन्टेन वारफेयर र हिउँचितुवा तालिमका लागि यो ठाउँ हरेक कोणबाट उपयुक्त मानिन्थ्यो । चट्टाने पहाडको किल्लाबन्दी र जंगली काँडेदार लहराले हामी सुरक्षित थियौं ।

संवत् २०५६ कात्तिक १ । चिमाल, गुराँस र सुनपातीको सुगन्धले सुवासित वातावरण । राइफल बढाइँ गरेर तीर्थ स्मृति सैन्य प्रशिक्षण शिविर उद्घाटन भयो । उत्साहबद्र्धक ढंगले उद्घाटन भएको थियो । पंक्तिकारको जीवनमा पहिलोपटकको औपचारिक युद्धकला सिक्ने विश्वविद्यालय बन्यो । देश र जनताको मुक्तिका लागि क्रान्तिमा होमिएको दुई वर्षपछि मेरो जीवनमा यो नै गौरवमय दिन बन्यो । धर्म फिल्ड र भीष्म फिल्डमा विभाजित हामी कोर्समा तल्लीन थियौं । कमरेड माओको नेतृत्वमा ९० हजार लि (माइल) पार गरेको लम्बे अभियान सम्झें । कात्तिक २ गतेदेखि ‘जनसेना आयो, छापामार आयो, हा…हु….हा… दुस्मनको किल्ला ध्वस्त पार्छौं’ भन्ने गर्जनसहित तालिममा जुट्यौं । सैन्य जीवनकै पहिलो तालिम भएकाले त्यत्तिकै कष्टप्रद थियो । तर पनि विचलित भएनौं ।

दिनहरू बित्दै गए । हिउँ र बरफ जमिरहने पाथिभराको काख न्यानो लाग्न थाल्यो । हिमालबाट बगिआउने चिसो सिरेटोसँग लुकामारी खेल्नुको आनन्द शब्दमा व्यक्त गर्न कठिन हुन्छ । गुरिल्ला वारफेयरको कोर्स चलिरहेकै थियो । हाम्रो टोलीको मोबाइल (सेन्ट्री बसेकाको निगरानी गर्ने) मिलाइएको थियो । एकरात बहादुर मगर सेन्ट्रीमा निदाएकाले उसको राइफल मैले कब्जा गरें । मगर पार्टीबाट पलायन भइसकेका छन् । ‘सेन्ट्री बस्दा मेरो राइफल लैजानेलाई एकान्तमा गोली हानिदिन्छु’ भन्दै धम्कीको भाषा बोले । उनको धम्कीपूर्ण भनाइले मलाई कताकता डर लाग्यो । घटना सानै भए पनि मेरो जीवनको अविस्मरणीय क्षण बन्यो । सेन्ट्रीमा रहँदा कहिलेकाहीं बाघ, भालु आउँथे । युद्ध कौशलताको गहिरो ज्ञान हासिल गर्न हामी सधैं मरिमेट्थ्यौं । मुख्यतः आक्रमण र रक्षाबारे गहिरो ज्ञान हासिल गर्न लोभिएका थियौं ।

बिहान उठ्नेबित्तिकै आँखैअघि देखिने हिमालले स्वागत गथ्र्यो । पाथिभराको काखमा क्रान्तिकारी जीवनका इन्द्रेणी सपना फुलिरहेको अनुभूति गथ्र्यौं । युद्धमा जुनसुकै समय आउने चुनौती सामना गर्न प्रशिक्षक कमरेडबाट फौजी कला सिकिरहेका थियौं । तालिमको अन्तिम–अन्तिमतिर पूर्वाञ्चलको तत्कालीन इन्चार्ज आलोक आएका थिए । उनले प्रशिक्षकलाई भने, ‘तालिममा सहभागीलाई डन्डा लगाइएन भने युद्ध कला राम्ररी सिक्दैनन् ।’ आलोक आइसकेपछि तालिममा सहभागीले ठुल्ठूला भाटा खायौं । उनकै हातबाट पनि भाटा खायौं ।

त्यतिबेला पाथिभरामा रहँदा आलोक रुकु चौंलागाईं ‘रचना’सँगै रात बिताउँथे । आँखैअघि त्यस्तो देख्दा कम्युनिस्ट पार्टीभित्र पनि यस्तो हुन्छ र भन्ने काउकुती लागिरहन्थ्यो । तर बोलिहाल्ने अवस्था थिएन । क्रान्तिकारी पार्टीमा दुई वर्ष बिताउँदै गरेकालाई बोल्ने आँट कहाँबाट आउनु । एकमहिने तालिम सकियो । क्रान्तिको अभिभारा पूरा गर्न त्यहाँबाट बिदा भयौं ।

जनयुद्धमा होमिएको दुई वर्षपछि तीर्थ स्मृति सैन्य प्रशिक्षण शिविर मेरो जीवनकै सैनिक विश्वविद्यालय बन्यो । त्यहाँ सिकेको सैन्य ज्ञानले हामी ठुल्ठूला मोर्चामा विजयी भयौं । ठुल्ठूला भिडन्त र मोर्चामा दुस्मनलाई परास्त गरेर विजयको माला पहिरिने अवसर पायौं । त्यतिबेला पंक्तिकारसमेत क्षेत्रीय स्तरको एसटीएफ सदस्य भइसकेका थिए । एसटीएफ सदस्य बन्न ‘होलटाइमर’ भएको दुई वर्ष पुग्नैपर्थ्यो । केही फौजी कारबाहीमा भाग लिएको हुनैपर्थ्यो ।

(लेखक थामी, जनमुक्ति सेनाका ब्रिगेड सहकमान्डर हुन् ।)

प्रतिक्रिया दिनुहोस्