खोटाङ । बन्दाबन्दीका कारण ६ महिनादेखि बन्द रहेको जिल्लाका तीनमध्ये दुई विमानस्थलमा आगामी शनिबारदेखि नियमित उडान हुने भएको छ ।
कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी हटेसँगै नेपाल वायु सेवा निगमको हवाईजहाजले मनमाया राई खानीडाँडा विमानस्थल र थामखर्क विमानस्थलमा शनिबारदेखि नियमित उडान भर्ने भएको हो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट सबैभन्दा नजिक रहेको खानीडाँडा विमानस्थलमा साताको दुईपटक बुधबार र शनिबार र जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थमा साताको एकपटक बुधबार उडान भर्नेगरी वायु सेवा निगमले कार्यतालिका सार्वजनिक गरेको छ । नियमित उडान हुने भएपछि वायु सेवा निगमले दुवै विमानस्थलका लागि भाडादरसमेत सार्वजनिक गरेको हो ।
खानीडाँडा–काठमाडौंका लागि एकतर्फी भाडा प्रतिव्यक्ति चार हजार ७४० निर्धारण भएको खानीडाँडा विमानस्थलका प्रमुख नवराज कटवालले बताए । प्रमुख कटवालका अनुसार यसअघि नियमित उडान हुँदै आएको खानीडाँडा–बिराटनगरको उडान भने तत्कालका लागि नहुने भएको छ । थामखर्क विमानस्थलका लागि भने एकतर्फी भाडा प्रतिव्यक्ति चार हजार ३८५ निर्धारण गरिएको जनाइएको छ । नियमित उडान हुने भएपछि कोरोना संक्रमण नियन्त्रण गर्न विमाननस्थलले सार्वजनिक सूचना जारी गरेर सचेतता अपनाउन अनुरोध गरेको छ ।
यात्रु लिन तथा लैजान प्रयोग गरिने सवारीसाधन गेटबाहिर राख्नुपर्ने, विमानस्थल हाताभित्र छिर्नुपूर्व यात्रुको ज्वरो नाप्ने तथा ब्यागेज निर्मलीकरण गर्नुपर्ने, टर्मिनल हल प्रवेश गर्नुअगाडि हात धोएको हुनुपर्ने, यात्रा अवधिभर आफूलाई चाहिने पानी, स्यानिटाइजर तथा यात्रु आफैंले जगेडा मास्क बोक्नुपर्ने जनाइएको छ । यात्रुमा सामान्य ज्वरो आएको तथा कोरोना भाइरससम्बन्धी कुनै लक्षण देखिएमा उक्त यात्रुलाई यात्रा गर्न नदिइने विमानस्थलद्वारा जारी सूचनामा उल्लेख छ ।
यसैगरी, जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थलमा भने तत्काल उडान नहुने भएको छ । लामीडाँडा विमानस्थलमा समेत चाँडै नियमित उडान भर्ने पहल भइरहेको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले जानकारी गराए ।