‘म’ अभियान, सम्मानै–सम्मान



बच्चा जन्मनेबित्तिकै रुन्छ । किन होला ? सर्वप्रथम त आमाको न्यानो गर्भबाट बाहिर आएकाले अत्यधिक चिसो हुन्छ । मलाई चिसो भइसक्यो, छिटो न्यानो देऊ भन्ने अधिकारको बुलन्द आवाज हो । बच्चालाई नुहाइदिएपछि न्यानो कपडामा बेर्दा आनन्द मानी रुन छाड्छ ।

फेरि रुन्छ । कारण भोक लाग्यो । खाना (दुध) देऊ भन्ने सशक्त माग हो । अनि फेरि पनि रुन्छ । कारण– दिसापिसाब गरेको छु, सफा गरी न्यानोमा राख भन्ने निवेदन हो । सबै अधिकार प्राप्त भयो भनेमात्र बच्चा हाँस्छ, खेल्छ र निदाउँदछ । त्यो बच्चाको सर्वांगीण विकास भएपछि उसले पनि फेरि असल अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ ।

बच्चाको भावना, आवश्यकता र आफ्नो कर्तव्य नचिन्ने र नठान्ने निर्दयी अविभावक छन् भने बच्चाको बाँच्न र हाँस्न पाउने अधिकार गुम्छ । यदाकदा हामीले सुनेकै हौंला– झाडीमा जीवित बच्चा भेटियो । फलानाले लगेर पाले रे । मरेको बच्चा चर्पी, खोला, झाडी र डस्टबिन आदिमा भेटियो रे । उल्लिखित काम निर्मोही र चेतनाहीन अविभावकले गर्छन् ।

वास्तवमा ‘सरकार’ देश र जनताको अभिभावक हो । संरक्षक हो । सरकार जनताप्रति सदैव उत्तरदायी हुनुपर्छ । जनताको मर्म र भावना बुझेर काम गर्ने हुनुपर्छ । देश, काल, परिस्थिति, विश्वपरिवेश र भू–राजनीति बुझ्ने क्षमता राख्नुपर्छ । देशमा द्वन्द्व समाधान गरी शान्ति कायम गर्ने कार्यकौशलता हुनुपर्छ । भौतिक, सांस्कृतिक र मनोवैज्ञानिकसहित आर्थिक विकास गर्न सधैं प्रयत्न गर्नुपर्छ । भ्रष्टाचार जरैदेखि उखेल्ने तागत हुनुपर्छ । हरक्षण देश र जनता सम्झनुपर्छ । मुलुकको संविधानले दिएको कानुनबमोजिम काम गर्नैपर्छ । नेतृत्व गतिशील हुन आवश्यक छ । अभिभावक छन् है भन्ने जनताले अनुभूति गरेमात्रै देशले विकासको लय समात्छ ।

जनता पनि राज्यप्रति पूर्ण वफादार र उत्तरदायी हुन नितान्त आवश्यक छ । आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन हुन्छ कि भनेर सदैव सचेत रहनुपर्छ । सरकारलाई प्रत्येक ठाउँमा सहयोग पुर्याउनुपर्छ । परिवार, समाज र देशको एक सिपाही हो भन्ने भावना र व्यवहार हुनुपर्छ । कर्तव्यनिष्ठ नागरिक बन्न सक्नुपर्छ । अभिव्यक्ति स्वतन्त्रताको व्यवस्था भए पनि देश, काल, परिस्थिति बुझेर अभिव्यक्ति दिने जिम्मेवार नागरिक बन्न आवश्यक हुन्छ ।

आन्दोलन रहर कि बाध्यता ? अवश्य पनि बाध्यता हो । गर्भबाट भर्खरै बाहिरी संसार देखेका बच्चाले न्यानो, खाना, सफाइ र वात्सल्य पायो भने आनन्द लिई हाँस्छ, खेल्छ र सुत्छ । न्यानो, खाना, सफाइ र वात्सल्य पाएन भनेमात्र रुने वा चिच्याउने हो । त्यसैले जनताप्रति कर्तव्यनिष्ठ नेतृत्व भएमा कुनै आन्दोलन हुने छैन । आन्दोलनले क्षति अवश्य गराउँछ । क्षति भइसकेपछि सहमति हुनुपहिल्यै सहमति गरी जनतालाई आन्दोलित नबनाउनुचाहिँ उत्तम हुन्छ । जनउत्तरदायी सरकार भएमा आन्दोलनको सट्टा विकास निर्माणमा जनता अवश्य लाग्छन् ।

आइन्दा सचेत नेपाली जनता उत्पादनमा आन्दोलित हुनुपर्छ । जो जहाँ छ, त्यहींबाट आफूबाटै कर्मशील बन्न सुरु गरौं । जसका लागि ‘म’ अभियान सुरु गरौं । जस्तै : म घुस लिन्न र दिन्न । म कर तिर्छु । म कानुन पालना गर्छु । म हल्लाको पछि लाग्दिनँ । कार्यालयमा मेरो पालोमा मात्र मेरो काम गर्छु । म अरूको दबाब दिएर काम लगाउँदिनँ । म झगडा गर्दिनँ । म श्रम गर्छु । म समय बर्बाद गर्दिनँ । अनि देश बन्दै जान्छ । मुलुक अरूले होइन, आफैंले बनाउने हो ।

प्रतिक्रिया दिनुहोस्