प्रिय छोरी,
तिमी असल छौ । तिम्रा पदचापले असल मार्ग पछ्याइरहून् । तिम्रो आधारभूत आवश्यकता पूरा हुन नसकेको वर्तमान परिप्रेक्ष्यमा हामी बाउआमाप्रतिको गुनासोरहित आफ्नो काम र कर्तव्यमा अविचलित लागिरहेकी छौ । लक्ष्यमा पुग्न तिम्रो रगतमा धैर्य बगेको पाउँछु भने सकारात्मक सोचलाई व्यवहारमा देखिरहेको छु । त्यसैले त परिवारले भरोसा र विश्वासको प्रतिमूर्तिका रूपमा तिमीलाई पाएका छौं । जीवन जिउनु र मानिस भएर बाँच्नु आफैंमा चुनौती छ नै । तर पनि मानिसभित्र मानव भएर जीवन र जगत्को हितमा तिम्रा पाइला अविचलित बढिरहनेछन् ।
संघर्षका प्रत्येक रूप र क्षेत्र हुन्छन् । त्यो असीमित छ । तर, अनवरत संघर्षले नै उचाइ चुम्न सकिन्छ । अब चीलझैं स्वतन्त्रपूर्वक कर्मको भारी बोकेर तिमीले उडान भर्नेछौ र भर्नु पनि पर्छ । जगत्को यो खुला आकाशभित्र सुदूर उडान भरे पनि गाईलाई लगाएको पगाहाझैं जीवनलाई सम्झनुपर्छ र हुनु पनि पर्छ । तिम्रो चुनौतीका पहाड निकै ठूलो र चट्टानै–चट्टानले भरिपूर्ण अक्करझैं छन् । समयको प्रवाहलाई आफ्नो अनुकूलतामा ढाल्दै घर, परिवार, समाज र देशसहित जीवन र जगत्प्रतिको दायित्व पूरा गर्नुपर्ने जिम्मेवारी छ । यावत् जिम्मेवारी र दायित्व पूरा गर्न एक्लै त सम्भव हुँदैन नै तर पनि व्यक्तिको भूमिका त्यत्तिकै महत्वपूर्ण रहन्छ ।
प्रिय छोरी,
हुन त देशको आर्थिक, सामाजिक, धार्मिक र राजनीतिक अवस्था धुमिल भएको वर्तमान समय र परिवेशमा हाम्रा जीवन सहज पक्कै छैनन् । र, हुन सक्दैनन् पनि । वर्तमान अवस्थाको धुमिल समय र परिवेशले यही दृश्य देखाइरहेको छ । र त, हामी बाउआमा पनि कतै धर्मराएका पो छौं कि भन्ने आभास हुन्छ । त्यस्तो अनुभूति गरिरहेको बेला तिमीलाई पाउँदा आफैंलाई पुनर्ताजगी गर्दै सबै–सबै पीडा भुलिदिन्छौं । अब त तिमीले सिकेका ज्ञान जीवन र जगत्को भलो हुने कार्यमा लगाउनेछौ । जीवनपर्यन्त सिक्दै र सिकाउँदै जानुपर्छ । किनकि सिकाइको अन्त्य हुँदैन । सिकाइ नै जीवनको आधार हो भने जीवनलाई असल मार्गमा हिँड्न सिकाउने ज्ञान पनि हो ।
घरभित्र सिकेको संस्कृति, सभ्यता र संस्कार मनन गरेकी छौ । तर, अझै समृद्ध र सम्वद्र्धन गर्दै जानुपर्ने दायित्व पनि मनन गर्नुपर्छ । र, गर्नेछौ भन्नेमा विश्वस्त छौं । हामीले टेकेको धर्ती सुन्दर बगैंचा हो । बगैंचाभित्र सम्पन्नता र विकासको नाममा शस्त्रहरूको होडबाजी चलिरहेको छ । जसकारण मानिसमात्र नभई, सम्पूर्ण जीवन र जगत्को अस्तित्व संकटमा पर्दै गइरहेको छ । तर पनि हाम्रो अस्तित्व यही बगैंचामा छ । यहींका प्रकृति र पर्यावरणले हामीलाई सजीव र जीवन्त बनाएको छ । त्यसैले प्रकृति र पर्यावरणको विनाश हुँदै गएको यो घडीमा यसको सम्बद्र्धन र संरक्षण गर्दै आफ्नो जीवनजत्ति नै धर्तीलाई माया र प्रेमले सजाउँदै सुन्दर बगैंचा बनाउने बाटोमा तिम्रो तर्फबाट सक्दो प्रयत्न हुनेछ भन्नेमा विश्वस्त छौं ।
उही तिम्रो बाउ
उपेन्द्र तिमिल्सिना
कागेश्वरी मनोहरा नगरपालिका काठमाडौं ।