फोहोर किन्ने उपमहानगरपालिका



दाङ । घोराही उपमहानगरपालिकाले नगरवासीसँग फोहोर खरिद गर्न थालेको छ । बोटल र गुट्खाका खोलमा पैसा आउन थालेपछि स्थानीय दंग परेका छन् । गल्ने फोहोरबाट ग्यास र मल उत्पादन तयारी अन्तिम चरणमा पु¥याइएको छ भने नगल्ने फोहोरलाई खरिद गरेर पुनः प्रयोगमा ल्याउन थालिएको छ ।

केही महिनापहिले सरसफाइ स्वयंसेवक परिचालन गरेर फोहोर किन्नेबारे जानकारी गराएको उपमहानगरपालिकाले नगरवासीका घरमै पुगेर फोहोर खरिद गर्न थालेको हो । घोराही–१४ नयाँबसपार्कमा जलजला होटलकी सञ्चालक सीता रोकालाई फोहोर व्यवस्थापनले निकै पीडा दिएको थियो । दैनिक बिहान फोहोर जम्मा गरेर उपमहानगरपालिको गाडीमा पठाउनपर्ने झन्झट हुन्थ्यो । पहिलोपटक फोहोर बेचेकी रोकाले २० केजी फोहोर दुई सय पाँच रुपैयाँ प्राप्त गरिन् । होटलबाट उत्पादित फोहोरले आम्दानी दिने भएपछि उनी खुसी छन् ।

यो वर्षदेखि उपमहानगरपालिकाभित्रको फोहोर खरिद गर्ने नीति लिएपछि फोहोर बिक्री गर्ने प्रतिस्पर्धा चलेको छ । चालु आर्थिक वर्षको बजेटमै राखेर उपमहानगरपलिकाले गत वैशाखदेखि फोहोर खरिद गर्न थालेको थियो । अहिलेसम्म झन्डै २० हजारको फोहोर खरिद गरिएको उपमहानगरपालिका वातावरण तथा सरसफाइ महाशाखा प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिए । उपमहानगरपालिकालाई प्लास्टिकमुक्त बनाउने अभियानअन्तर्गत यो कार्यक्रम अघि सारिएको हो ।

उपमहानगरपालिकाले प्लास्टिकको बोतलसहित नरम पोलिथिन एक किलोलाई १०, कपडा प्रतिकिलो पाँच, सुर्र्तीजन्य प्लास्टिकको फोहोर प्रतिकिलो दुई, गत्ता, कापीसहित वर्गीकरणअनुसारका फोहोरलाई १० देखि २० रुपैयाँसम्ममा किलोमा खरिद गर्ने दर कायम गरिएको छ ।

खरिद गरिएको गल्ने फोहोरलाई बायोग्यासमा प्रयोग गरिने र नगल्ने फोहोरलाई उद्योगसँग समन्वय गरेर बिक्री गरिने नगरप्रमुख चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्