खोटाङ । विद्यालयमा नाछिरिङ राई भाषा पठनपाठन सञ्चालन गर्न कक्षा १ र २ को पाठ्यपुस्तक विमोचन गरिएको छ ।
किरात रदु नाछिरिङ साखाम केन्द्र काठमाडौंको पहलमा बनाइएको रामकुमार नाछिरिङ संयोजकत्वको पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखन समितिले तयार पारेको पाठ्यपुस्तक हालै साखामकै केन्द्रीय कार्यालय नारायणचोक कपनमा विमोचन गरिएको हो ।
पूर्वी नेपालका विभिन्न जिल्लामा बसोवास गरिरहेका नाछिरिङ राई भाषाको पाठ्यपुस्तक नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान उपाध्यक्ष गोकुलप्रसाद घर्ती, किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राई, किरात राई प्रज्ञा परिषद्का कुलपति जयकुमार राई, परिषद्का सदस्य सचिव एवम् भाषाविद् डा. तारामणि राई, लोहोरुङ राई समाज अध्यक्ष चित्रबहादुर लोहरूङलगायतले संयुक्त रूपमा विमोचन गरेका थिए ।
खोटाङ, सोलुखुम्बु, उदयपुरलगायत जिल्लाका नाछिरिङ राईको बाहुल्य रहेको विद्यालयमा पठनपाठन गर्न पाठ्यपुस्तक तयार पारिएको साखामका केन्द्रीय उपाध्यक्ष कमलकुमारी राईले बताइन् ।
संवत् २०७६ जेठ १२ गते विमोचन गरिएको कक्षा १ को पाठ्यपुस्तकको परिमार्जित संस्करणलाई समेत कक्षा २ को पाठ्यपुस्तकसँगै विमोचन गरिएको छ । २०७६ देखि सोलुखुम्बुको सोताङ गाउँपालिकाका पाँच विद्यालय र खोटाङको ऐंसेलुखर्क गाउँपालिकाको पाँच विद्यालयमा नाछिरिङ भाषाको पठनपाठन सुरु गरिएको छ ।
२०६८ को जनगणनानुसार पूर्वी नेपालमा नाछिरिङ भाषा बोल्नेको जनसङ्ख्या १० हजार ४१ रहेको छ । उदयपुरमा पनि एक विद्यालयमा नाछिरिङ भाषामा पठनपाठन तयारी भइरहेको साखामका महासचिव गान्धीव किरातीले बताए ।
लोपोन्मुख नाछिरिङ भाषा, संस्कृति, इतिहासलगायतको संरक्षण एवम् सम्बद्र्धनको लक्ष्यसाथ आफ्नै भाषामा पाठ्यपुस्तक तयार पारेर पठनपाठन सुरु गरिएको साखामले जनाएको छ । स्थानीय तहको कार्यान्वयनपछि विभिन्न भाषाभाषीमा पठनपाठन गर्ने बाटो खुलेसँगै नाछिरिङ राईको बाहुल्य रहेको ठाउँका विद्यालयमा नाछिरिङ भाषामै कक्षा १ देखि ३ सम्मको पठनपाठनका लागि समितिले पाठ्यक्रम तयार पारिसकेको छ ।
भाषाविद् डा. राईको परामर्शमा पाठ्यक्रम निर्माण समिति र नाछिरिङ राई भाषा बोल्न जान्ने पुर्खासँग विभिन्न चरणमा सञ्चालन गरिएको कार्यशाला/गोष्ठीपश्चात् पाठ्यक्रमलाई अन्तिम रूप दिइएको जनाइएको छ । ०७५ मंसिर १४ गते ३५ भन्दा बढी नाछिरिङ पुर्खाहरूको उपस्थितिमा धरानमा सम्पन्न पहिलो कार्यशाला गोष्ठीले ‘हामी सबै एउटै नाछिरिङ हौं, हाम्रो भाषा एउटै नाछिरिङ हो’ भन्ने निष्कर्षसहित भाषाको पाठ्यक्रम निर्माण सुरु गरेको थियो ।
नाछिरिङ राई भाषाको सुनाइ, बोलाइ, पढाइ, लेखाइजस्ता भाषिक विकासका साथै सामाजिक तथा सांस्कृतिक संरक्षण तथा सम्बद्र्धनको लक्ष्यसाथ पाठ्यक्रम निर्माण गरिएको पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखन समिति संयोजक नाछिरिङले बताए ।
सोलुखुम्बुको सोताङ, महाकुलुङ गाउँपालिका र खोटाङको ऐंसेलुखर्क गाउँपालिकामा नाछिरिङ राईको सघन बस्ती रहेको छ । यसबाहेक संखुवासभा, ताप्लेजुङ, पाँचथर, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, तेह्रथुम, इलाम, झापा, उदयपुर, काठमाडौँ, ललितपुर, भक्तपुर र प्रवासमा दार्जिलिङ, सिक्किम, भुटान, हङकङ, सिङ्गापुर, युके, अमेरिका, क्यानडालगायतका देशमा समेत नाछिरिङ राईको बसोवास रहेको छ ।
दस स्थानीय तह रहेको खोटाङ जिल्लामा संघीयता लागू भएपछि विभिन्न जातजातिका पाठ्यक्रम तयार गर्ने काम भइरहेको छ ।