‘सरकारमा नरहे पनि सङ्कटमा सँगै लड्न सकिन्छ’


काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले काँग्रेस जिम्मेवार प्रतिपक्षी दलका रूपमा रहेर आजको चुनौती सामना गर्न ‘सरकारमा सँगै नरहे पनि संकटमा सँगै लड्न सकिन्छ’ भन्ने भावना र दृष्टिकोणसाथ सरकारलाई हरसम्भव सघाइरहेको बताएका छन् ।

नयाँ वर्ष २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै काँग्रेस सभापति देउवाले विश्वव्यापी महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरस संक्रमणविरुद्ध सबै एकजुट भएर लड्न आवश्यक रहेको जिकिर गरेका छन् ।

पूर्वप्रधानमन्त्री देउवाले यतिबेला सम्पूर्ण विश्व नै प्राणघातक कोरोना भाइरस (कोभिड–१९) बाट आक्रान्त रहेको र यस वर्षको अन्तिम दिनसम्म विश्वका १८ लाख व्यक्ति संक्रमित तथा एक लाखभन्दा बढीको मृत्यु भएको दुःखदायी घटना विश्वले बेहोर्नुपरेको बताए ।

‘कोरोना संक्रमणका कारण विदेशमा १४ नेपालीको मृत्यु, ६६५ जना संक्रमित तथा स्वदेशभित्र पनि १२ जनामा कोरोना पोजिटिभ देखिएको घटना हाम्रासामु विद्यमान छ,’ उनले भनेका छन् ।

नेता देउवाले कोरोना भाइरस संक्रमणविरुद्ध सबै एकजुट भएर लड्न आवश्यक रहेकामा जोड दिँदै लकडाउन पालना गर्न र समदूरी कायम गर्दै उच्च सतर्कता अपनाएर संयम र एकतासाथ कार्य गर्न र गराउन सबैमा आग्रह गरेका छन् । उनले नयाँ वर्ष कोराना भाइरसमाथि विजय पाउन सफल हुनेछ भन्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्