६०० जनाले मन्त्रीको गाउँमा मनाएको त्यो दसैं


संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती ।

संवत् २०६१ को त्यो दसैं। दसैं स्थल धोदलेखानी, कटुन्जे भोजपुर । अर्थात् संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको गाउँ । दुई जिल्ला (खोटाङ र भोजपुर)को पार्टी नेताका प्रयास र माओवादी ‘होलटाइमर’ कार्यकर्ताको जमघटमा सामूहिक कार्यक्रम गरी दसैं मनाइएको थियोे । दसैं कार्यक्रममा पंक्तिकारसमेत सहभागी थिए । त्यसबेला मनाइएको दसैं भव्य थियो । माओवादीले चाडबाड कसरी मनाउँछन् भन्ने सवालमा त्यो दसैं उदाहरणीय मानिन्थ्यो ।

हामीले मनाएको त्यो दसैं एकदमै पृथक् थियो । टीकाटालो गरिएन । आशीर्वाद दिने र थाप्ने पनि भएनौं । दुई जिल्लाका ६०० भन्दा बढी जना नेता तथा कार्यकर्ताको उपस्थितिमा दसैं मनायौं । त्यसबेला जनमुक्ति सेनाको सोलु–सल्लेरी छैटौं ब्रिगेडले सुरक्षा प्रबन्ध मिलाएको थियोे ।

बिहान ४ बजे उठेपछि रोलकलमा आ–आफ्नो सेन्ट्रीको रिपोर्टिङ गर्नुपथ्र्यो । त्यसपछि तालिम स्थल पुग्नुपथ्र्यो । त्यहाँ जिल्ला पार्टीका प्रत्येक कार्यकर्ता फौजी सिस्टममा बाँधिनुपथ्र्यो । सिस्टममा रहँदा को नेता ? को कमान्डर ? को सदस्य ? सजिलै थाहा पाइँदैनथ्यो ।

सबैभन्दा अगाडि लामबद्ध कमान्डरले आ–आफ्नो टोलीको रिपोर्टिङ गर्थे । जिल्लाका इन्चार्ज र जनसेनाको ब्रिगेड कमान्डर कमिसारले रिपोर्टिङ सुनिसकेपछि परेड तथा जनमुक्ति सेनाको फौजी तालिम सुरु हुन्थ्यो । राजनीतिक विभागमा सक्रिय कतिपय नेता तथा कार्यकर्ता एक/दुई दिनको तालिमले लखतरान भइसकेका थिए । तालिम गर्न नसक्नेले आ–आफ्नो टोलीका लागि खाना तयार पार्नुपथ्र्याे ।

हामी कटुन्जे माध्यमिक विद्यालयमा दैनिक तीन घन्टाको दरले सात दिनसम्म तालिम लियौं । जनमुक्ति सेनाको यो तालिमलाई शिविर अर्थात् क्याम्पियन पनि भनिन्थ्यो । क्याम्पियनमा फौजी ज्ञान लिन पाइन्थ्यो । राजनीतिक विभागमा कार्यरतलाई माओवादीले जनताको विश्वास कसरी जितिरहेछन् भनेर जनमुक्ति सेना बुझ्न लोभिन्थे ।

देवान किराती ‘पृथ्वी’ ।

तीनघन्टे तालिम सकिएपछि खाना खाइन्थ्यो । समय डेढ घन्टा छुट्ट्याइएको थियो । त्यसपछि स्कुलको प्राङ्गणमा जम्मा हुन्थ्यौं । भलिबल, नृत्य, हाँडी फुटाऊ, वक्तृत्व कला, हाजिरीजवाफ, कविता वाचन प्रतियोगितालगायत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । प्रतियोगितामा जिल्ला पार्टी कार्यकर्ता र जनमुक्ति सेनाबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताले आन्तरिक क्षमता बढाउँथ्यो । प्रतियोगितामा भुलिँदा दसैं बितेको पत्तै भएन । दसैं बितेको पत्तो नपाए पनि त्यतिबेला लिएको तालिम आजसम्म बिर्सन सकेको छैन । तालिम गाह्रो हुनु स्वाभाविकै हो । बिहान उठेर पनि दिसापिसाब गर्न बसेपछि उठ्न र उठेपछि बस्न कठिन थियो । कतिपयले भन्थे, ‘म त टुक्रुक्क बसेर दिसा गर्न नसकेपछि लठ्ठीको सहारा लिएँ ।’

जनमुक्ति सेनाको ‘सी’ कम्पनी कमान्डर सर्वधन राई ‘अग्नि’ले तालिम गराएका थिए । कमरेड अग्नि हामीमाझ छैनन् । उनीजस्ता योजनाकार माओवादीभित्र कमै थिए ।

त्यतिबेला देवान किराती ‘पृथ्वी’कै प्रस्ताव र प्रयासमा भिन्नखालको दसैं मनाउने अवसर पाएका थियौं । सशस्त्र जनयुद्धताका ‘पृथ्वी’को नाम बाक्लै सुनिन्थ्यो । उनको कामले त्यत्तिकै चर्चा पाएको थियो । स्वभाव कडा । काम–कारबाहीमा कडिकडाउ । बाधा–व्यवधान पन्छाउन त्यत्तिकै चतुर ।

२०६१ माघ १९ पूर्वराजा ज्ञानेन्द्र शाहले ‘कू’ गरेर शासनसत्ता हातमा लिए । तात्कालिक प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरेर मुलुकको बागडोर सम्हालेको विरोधमा माओवादी आक्रोशित हुनु अस्वाभाविक होइन । त्यसको विरोधमा माओवादी खोटाङले विरोध कार्यक्रमको तयारी थाल्यो । विरोध कार्यक्रमसँगै जिल्लाका ठाउँ–ठाउँमा फायरिङ गर्ने योजना बनेको थियो । माओवादीले बम आफैं बनाउँथे । बम बनाउनेक्रममा देवान किराती ‘पृथ्वी’ले बनाएको बम पड्कन्छ कि पड्कँदैन भनेर परीक्षण गर्नै लाग्दा अकस्मात् बम पड्क्यो । बम पड्कँदा पृथ्वीले देब्रे हत्केला गुमाए । हत्केला गुमाए पनि नाफाको जिन्दगी बाँचिरहेका उनी नेकपा माओवादी केन्द्र कोसी प्रदेश उपाध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्