पूर्वमन्त्री अशोक राईले चामल छैन भनेपछि तीन माना दिएँ



‘साबिक दुर्छिम गाउँ विकास समिति अध्यक्षमा निर्वाचित भएँ,’ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ज्येष्ठ कम्युनिस्ट मञ्च सदस्य कुवेर राईले विगत कोट्याए, ‘संवत् २०५४ जेठमा गाविस अध्यक्ष निर्वाचित भएँ । ०५६ भदौमा माओवादी प्रवेश गरें ।’

माओवादीमा प्रवेश गरे पनि गाविस अध्यक्षका रूपमा जनताका काम गर्न छाडेनन् । ०५९ असार मसान्तसम्म गाविस अध्यक्षको भूमिका निर्वाह गरे । पदावधि सकिएपछि माओवादीका ‘होलटाइमर’ बने । ‘होलटाइमर’ हुनुअघि उनी माओवादी हुन् भनेर कसैले भेउ पाएनन् । त्यसअघि पार्टीले साबिक दुर्छिम, च्यास्मिटार, महादेवस्थान र धितुङ गाविस हेर्ने जिम्मेवारी दिएको थियो ।

माओवादी भएको दुई वर्षपछि ०५८ जेठमा पार्टी सदस्यता पाए । तात्कालिक माओवादी खोटाङ सेक्रेटरी पुण्यबहादुर मगर ‘हिरण्य’ ले पार्टी सदस्यता दिए । सदस्यता पाएको २५ महिनापछि ‘होलटाइमर’ बनेका उनी मृत्युपत्रमा हस्ताक्षर गरेर जनयुद्धमा लामबद्ध हुन कत्ति पनि डराएनन् । ‘होलटाइमर’ बनेपछि खोटाङका २२ गाविस प्रमुखको जिम्मेवारी दिइयो । यो ०६१ को कुरा हो । माओवादी खोटाङ न्यायिक समिति संयोजकको समेत जिम्मेवारी थपियो । पाएको भूमिका निर्वाह गर्ने उनको कार्यक्षमताको खुलेरै चर्चा गरिन्छ । ‘पार्टीको आवश्यकता र निर्देशनअनुसार भूमिका निर्वाह गर्नेक्रममा सामूहिक रूपमा हिँड्नुको आनन्द शब्दमा व्यक्त गर्न कठिन हुन्छ,’ उनले अतीत सम्झे, ‘सामूहिक रूपमा हिँड्दा कतिपय अवस्थामा अप्ठ्यारो आइपर्नुु अस्वाभाविक होइन । त्यसमध्ये भोजपुरको घोडेटार र पान्धारे भिडन्तमा ज्यान जोगाउन त्यति सजिलो थिएन ।’ घोडेटारमा दोहोरो भिडन्त हुँदा उनी खैराङमा ‘स्ट्यान्डबाइ’ थिए ।

त्यतिबेला उनको भूमिका के थियो होला ? ‘संगठन विस्तार त छँदै थियो । दोहोरो भिडन्तमा जनमुक्ति सेनाका घाइतेको उद्धार, उपचारका लागि प्रबन्ध मिलाउनुपर्थ्यो,’ उनले थपे, ‘त्यतिमात्रै होइन, व्यवस्थापन पक्षको समेत भूमिका निर्वाह गर्नुपथ्र्यो । कतैबाट खर्च माग हुनासाथ सम्बन्धित ठाउँ र व्यक्तिसम्म पठाइदिनुपर्थ्यो ।’

कर्तव्य पूरा गर्ने सन्दर्भमा खोटाङ र भोजपुरमै केन्द्रित रहे । त्यतिबेला रामहादुर थापा ‘बादल’ पूर्वी कमान्ड इन्चार्ज थिए । बादल पूर्वगृहमन्त्रीसमेत हुन् । बादलसँग पूर्वमन्त्रीद्वय पम्फा भुसाल र वर्षमान पुन ‘अनन्त’ सँग गाउँठाउँ (दुर्छिम) मा भेट भयो । गाउँठाउँसम्म आइपुगेका नेतामध्ये बादलले हलेसी तुवाचुङ नगरपालिका–५, भन्ज्याङनिवासी दाइन्द्र राईको खोल्मामा सेल्टर लिएका थिए । पूर्वमन्त्री भुसाललाई दुर्छिमकै साल्तेम्मा (डाँडाटोल) निवासी शैलेन्द्रकुमार राई (शिक्षक)को घरमा बास बस्ने प्रबन्ध मिलाइएको थियो भने दुर्छिम रातमाटेको इमान भनिने गणेश राईको घरमा पुनलाई राखिएको थियो । पुनले हलेसी तुवाचुङ नगरपालिका–३, बखापु च्यास्मिटारनिवासी धनकुमार राईको घरमा समेत एकरात बिताए । नेता कुवेर राईले जनयुद्धताका गाउँठाउँमा भेटेकामध्ये तीन नेता सबैभन्दा उपल्ला थिए । गाउँठाउँमै उपल्ला नेता भेटिँदा उनलाई त्यतिबेलै लागेको थियो, ‘सिंहदरबार ढिलोचाँडो गाउँगाउँमै पुर्याउनुपर्छ ।’

एमालेबाट गाविस उपाध्यक्ष हुँदै अध्यक्षमा निर्वाचित नेता राईलाई माओवादीमै प्रवेश किन गर्नुपर्यो होला ? ‘कम्युनिस्ट पार्टीहरूमध्ये माओवादी क्रान्तिकारी लाग्यो । परिवर्तनका लागि क्रान्तिकारीको भूमिका बलशाली हुन्छ,’ उनको बुझाइ थियो, ‘परिवर्तन पक्षधर भनेको साँच्चिकै माओवादीमात्रै हो भन्ने लाग्यो । तसर्थ, माओवादी पार्टी रोजाइमा पर्यो ।’

जनयुद्धताका उसले उठाएका मुद्दा सम्बोधन गर्ने/गराउने उद्देश्यसहित माओवादी शान्ति प्रक्रियामा आयो । आउनुपर्ने नै थियो । पार्टीले उठाएका अधिकांश मुद्दाको सम्बोधन गर्न नेतृत्व तहमै पुग्नुपर्ने निष्कर्षसहित पार्टीले संसदीय राजनीतिक यात्रा रोज्नुपर्ने बाध्यता थियो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन–तीनपटक मुलुकको प्रधानमन्त्री बने । यो ‘स्टोरी’ तयार पारिरहँदासमेत प्रधानमन्त्री छन् ।

जनयुद्धताका उठाइएका मुद्दा पूर्णतः कार्यान्वयन भएका छैनन् । ‘तसर्थ, क्रान्ति अझै आवश्यक छ,’ उनले जोड दिए, ‘फेरि पनि शान्तिपूर्ण क्रान्तिको आवश्यक छ । भरोसा माओवादीसँगै छ ।’ उनलाई कसैले माओवादी बन्न सुझाएनन् । स्वविवेकले माओवादी बने । ‘म आजदेखि माओवादी भएँ । मैले पार्टी सदस्यता कहिले पाउँछु भनेर दिलकाजी कार्की र ठुलकुमार श्रेष्ठलाई सोधें,’ उनले सुदूरअतीत सुनाए, ‘कार्की र श्रेष्ठले पहिले काम गरौं भने । उनीहरूले त्यसो भनेको दुई वर्षपछि सदस्यता पाएँ ।’

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले कुवेर राईलाई ज्येष्ठ कम्युनिस्ट मञ्चमा संगठित गरेकै छ । बैठकमा बोलाउँदा पुगिहाल्छन् । पार्टीले सम्मान गरेर संगठित गरेपछि मासिक २० रुपैयाँ लेबी बुझाउन छाडेका छैनन् । राईको परिवारै माओवादीमै रहे पनि राजुविक्रम चाम्लिङ, झलका राई ‘विशाल’ र शुभलाल राई ‘आदेश’ को सक्रियता लोभलाग्दो छ ।

सजिलो बाटो हिँड्न जोकोही रुचाउँछन् । यो मानवीय स्वभाव हो । त्यसताका उनी अप्ठ्यारो बाटो हिँड्न रुचाए । त्यतिबेला माओवादी हुनु भनेको अक्करको बाटो रोज्नुजस्तै थियो । तर पनि उनी वडाध्यक्षको जिम्मेवारी पूरा गरेर माओवादीले रोजेको बाटो हिँड्न उत्साहित भए । ‘संगठन विस्तार गर्न त्यति सजिलो थिएन,’ उनले विगत कोट्याए, ‘प्रस्ताव राख्नसाथ मानिस भागाभाग हुन्थे । सम्झाइ–बुझाइ गर्न गाह्रो थियो ।’

परिवर्तन चाहनेहरू पनि संगठित हुन डराउँथे । ‘माओवादीले थालेको जनयुद्ध अति आवश्यक थियो,’ उनले पार्टीको प्रशंसा गरे, ‘सशस्त्र क्रान्तिविना परिवर्तन सम्भव थिएन ।’ क्रान्ति अझै अपरिहार्य छ । पार्टी संसदीय राजनीतिक यात्रामा रहे पनि जनयुद्धताका उठाइएका सबै मुद्दा सम्बोधन गर्न अर्थपूर्ण क्रान्ति ढिलो–चाँडो फेरि पनि गर्नैपर्छ ।

आफूलाई असली क्रान्तिकारी भन्ने कतिपय माओवादी नेता तथा कार्यकर्ताले बाटो बिराउँदा आफूलाई थकथक लागेको दुःखेसो व्यक्त गरे । ‘कतिपयले आँखैअघि सात पुस्तालाई पुग्नेगरी कमाएका छन्,’ उनले तीतो पोखे, ‘हिजो हामीले लगाएको गोल्डस्टार जुत्ताले समेत उनीहरूलाई कुरीकुरी गरिरहेको छ ।’

३४ सालको अनिकाल ।

खोटाङ हलेसी क्षेत्रका स्थानीय अनिकालसँग सिंगौरी खेलिरहेका थिए । स्थानीयले भदौदेखि बेसाहा बोक्न थालेका थिए । त्यतिबेला बाँच्ने उपक्रममा उनीहरूले खेपेका दुःख ‘भन्न नमिल्ने कथा’ र ‘गाउन नमिल्ने गीत’जस्तै बनेको थियो ।

हिन्दु धर्मावलम्बीको महान् चाड दसैं संघारमै आइसकेको थियो । दसैंमा दुई छाक मीठो–मसिनो खाने प्रचलन । हलेसी तुवाचुङ नगरपालिका–५, गणेशटार दुर्छिमका कुवेर राई दसैं लिन उदयपुरको कटारी झरे । २४ पाथी चामल बोकेर फर्कंदै गर्दा उदयपुरको निभुवापाटीमा अहिले पूर्वमन्त्री अशोककुमार राईसँग उनको भेट भयो । यो ०३४ असोज ६ या ७ गतेको कुरा हो । भारी बोकेर हिँडिरहेका उनलाई पूर्वमन्त्री राईले बोलाए । घाम घर फर्किसकेको थियो । पानी पर्लाजस्तो भएकाले माइला माझीकहाँ बास बस्न पुग्ने उस्तै हतारो ।

पहिलोपटक परिचय गर्दा उनले आफूलाई अमर राई र घर सिरहा भनेका थिए । नेपाली प्रस्ट बोल्ने तपाईंको घर सिरहा हुँदै होइन भनेपछि भोजपुर हो भने । होलाजस्तो पनि लाग्यो । तर, होइन रहेछ नि । कुनै एक भेटमा भोजपुरेले नै अशोक राई खोटाङका हुन् भनेपछि उनी तीनछक परे । उनीसँगै थिए– आफूलाई शेरबहादुर भन्ने उदयबहादुर बस्नेत (धनकुटा) पनि थिए । माझीकहाँ पुगेपछि कुवेरले खाना पकाउन थाले । हामीसँग त चामल छैन भनेपछि अशोक र उदयबहादुरलाई पनि उनले नै चामल हाले । खाना पाक्दै थियो । अशोकले आफ्नो कुरा राखेको राख्यै छन् । हामी संगठन गर्दै हिँडेको, तपाईं पनि संगठित हुनुपर्यो भन्दै अशोकले कुवेरलाई फकाउन छाडेनन् । उनले खाना खाइसकेपछि दोहोरो छलफल गर्ने प्रस्ताव राखे ।

खाना खाएपछि सबै भसक्क निदाए । त्यो रात निभुवापाटीमा बास बस्ने गणेशटार र वानाम्लाका २५ जनाभन्दा धेरै थिए । भारी बोकेर दिनभरिको हिँडाइले ज्यान थाके पनि रातभरि गफिए । हामी रातभरि छलफल गरेको कसैले चाल पाएनन् । अशोकले कम्युनिस्ट बन्नुपर्छ भनेर रातभरि फकाए । शोषक, सामन्तीलाई तह लगाउन यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भने । ‘म पीडित थिएँ,’ उनले वास्तविकता सार्वजनिक गरे, ‘खान, लाउन नपाएर होइन कि नातानालाको दलनले पीडित थिएँ । तसर्थ, सात घन्टामै कम्युनिस्ट बनें ।’ बेलुका खाना खाएपछि सात घन्टा लगातार गफगाफ चल्यो । दुई घन्टाजति सुत्यौं ।

‘भोलिपल्ट लाओर्सेसम्म सँगै यात्रा गर्यौं । म गड्तीरै–गड्तीर गणेशटारतिर लागें । उनीहरूले हैदेको बाटो समाते,’ उनले सम्झे, ‘अशोकले बाटोमा भात खान चामल छैन भाइ भनेपछि मैले तीन माना चामल दिएँ । बालाङ्मारीमा पनि मेरै चामलको भात खुवाएँ ।’

‘हाम्रो साम्भा (कुवेर राईलाई गाउँघरमा साम्भा भनेर बोलाइन्छ) पनि इंग्लिस (कम्युनिस्ट भन्न नजानेर इंग्लिस भनेको) भइसक्यो,’ घर पुगेर भारी बिसाउनसाथ रहरसिंह राईले गाउँभरि हल्ला चलाए, ‘खोडाको मिना हो (कहाँका मानिस हुन्) हाम्रो साम्भालाई इंग्लिस बनायो । साम्भा इंग्लिस भएपछि गाउँका सबैलाई सुख दिन्छ रे । हामी पनि सबै लाग्नुपर्छ होला ।’

अशोक राई नियमितजसो हलेसी आइरहन्थे । कुवेर राईलाई कम्युनिस्ट बनाएपछि हलेसी आउन सजिलो पनि भयो । हलेसी आउनेक्रममा भूपेन्द्रकुमार राई (साल्तेम्मा), बच्चु राई (रातमाटे) र काशी राई (चुमाखु) सँग सम्पर्क सम्बन्ध विस्तार भयो । गणेश राई (चुमाखु) भने ०३८ मा मात्रै माले बनेका हुन् । गोरबहादुर खपांगीले राईलाई कटारीमा माले बनाए ।

अशोक राईले कुवेर राईलाई ०३४ मै मालेको सदस्यता दिए । सदस्यता शुल्क १५ रुपैयाँ थियो । हस्ताक्षरचाहिँ खपांगीको थियो । त्यतिबेला खपांगी माले महासचिव भइसकेका थिए । मासिक लेबी दुई रुपैयाँ थियो । लेबी दुई/तीन महिनाको एकैपटक पठाउँदा हुन्थ्यो । वर्ष दिनभित्र सदस्यता नवीकरण गरिसक्नुपथ्र्यो ।

बैठक खोकु, छिन्ताङ (धनकुटा) तिर हुन्थ्यो । बैठकमा सहभागी हुन रातभरि हिँड्नुपथ्र्यो । दिउँसो हिँड्दा शंकाको घेरामा परिन्थ्यो । दुर्छिमबाट बैठक स्थल (खोकु, छिन्ताङ) पुग्न साढे दुई रातको यात्रा तय गर्नुपर्थ्यो । अशोक राईले पहिले हिँडाएको बाटो पहिल्याउँदै बैठक स्थल पुग्नुपथ्र्यो । दुर्छिमको गणेशटारबाट राजापानी, खाम्तेल, साप्सुखोला तरेर उकालिएपछि याम्खा छिचोलेर छितापोखरी, मूलडाँडा हुँदै भोजपुरको सीमास्थल (कपासेभन्ज्याङ) बाट अघि बढ्नुपर्थ्यो । त्यसपछि भोजपुरको होम्ताङ हुँदै मझेनीघाट झर्नुपर्थ्यो । मझेनीघाट तरेर अलिकति उकालिएपछि मुगा हुँदै छिन्ताङ पुगिन्छ । बाटोमा बास बस्न असहज थिएन । अशोकले पहिल्यै चिनजान गराएको ठाउँमै बास बस्नुपर्ने बाध्यता थियो । मझेनीघाटकी मझेनीले सित्तैमा खाना खुवाउँथिन् ।

स्कुल कहिल्यै नटेकेका नेता कुवेर राई लेखपढ गर्न राम्रै जान्दछन् । २०१५ पुस ८ गते जन्मेका नेता राई निम्नमध्यमवर्गीय परिवारको प्रतिनिधित्व गर्छन् । खेतिकिसानबाहेक अर्को पेसा व्यवसाय छैन ।
३४ सालमा माले बनेका कुवेर राई ०४७ सम्म मालेमै रहे । ०४७ माघ २२ गतेको जनकपुर भेलाले माले र माक्र्सवादीबीच एकतापछि एकीकृत माक्र्सवाद लेनिनवाद बन्यो । त्यसपछि उनी एमाले भए ।
एमालेले आँखा चिम्लेर महाकाली सन्धिमा हस्ताक्षर गरेपछि वामदेव गौतमले माले गठन गरे । उनी वामदेवपथमा हिँडे । खोटाङका अधिकांश नेता मालेमै थिए । गौतम पुनः एमालेमा फर्के पनि उनीचाहिँ फर्केनन् । उनले एमालेभन्दा माओवादीमा भविष्य देखे ।

प्रतिक्रिया दिनुहोस्