राजग्रह परेको युवा नेतालाई एमाले केन्द्रीय सदस्यको जिम्मेवारी



दुर्छिम (खोटाङ) ।  युवा नेता रमेशकुमार पौडेल नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे खोटाङनिवासी पौडेललाई गत मंसिर २६ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

नेपाल खेलकुद महासंघ अध्यक्षसमेत रहेका नेता पौडेललाई एमाले विधानअनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयनक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पत्याएका थिए ।

एमाले केन्द्रीय सदस्य पौडेल युवा संघ नेपाल पूर्वअध्यक्षसमेत हुन् । ‘जनताले जनतामाथि अन्याय नगरून् । सबै नेपाली समान हुन् । नेपाल र नेपाली समृद्ध हुन्,’ केन्द्रीय सदस्यमा मनोनीत भएपछि नेता पौडेलले आफू राजनीतिमा लाग्नुको अभिप्राय सुनाए, ‘दुनियाँले नेपालको राजनीतिमा हस्तक्षेप गर्दै आएको छ । नेपाल दुनियाँको पथप्रदर्शक बन्न सकोस् । सचेत नागरिकको देश बनाउने सपनाले राजनीतिक क्षेत्रमा डोरिएको हुँ ।’

वृश्चिक राशीका नेता पौडेल कर्ममा विश्वास गर्छन् । ‘कर्मलाई धर्म मान्ने र भौतिकवादी दर्शन आत्मसात् गरेकाले भाग्य, विधाताभन्दा कर्मदातामा विश्वास गर्छु,’ उनले थपे, ‘त्यसैले मेरो राजनीतिक भविष्य कस्तो होला भनेर कहिल्यै ग्रहदशा हेराएको छैन । मेरा बाउबाजे पुरेत, पण्डित छन् । उहाँहरूका अनुसार म राजग्रह परेको मानिस हुँ रे । म कर्म गर्दै जान्छु । असल नागरिक बन्ने चाहनासहित कर्म गर्दै छु । त्यहीअनुसारको फल पाइएला ।’

नेपाल खेलकुद महासंघ अध्यक्ष रमेशकुमार पौडेलले बाल्यकालमा कबड्डी र डन्डिबियो खेलेर रमाउनसम्म रमाए । ‘आफूले नखेले पनि फुटबल असाध्यै मन पर्छ । प्रत्येक खेलका आ–आफ्नै विशेषता हुन्छन्,’ नेपाल खेलकुद महासंघ अध्यक्ष पौडेलको भनाइ छ, ‘सबै खेलप्रति उत्तिकै सम्मान छ । ब्राजिल र अर्जेन्टिनाका फुटबल खेलाडी मन पर्छन् । स्वदेशीमा सबैका खेल हेरिरहेको छु । सबैको प्रगति लोभलाग्दो देख्छु ।’

चितवनमा सम्पन्न एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा नेता पौडेलले केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका थिए । पार्टीपंक्तिभित्रकै चर्को घेराबन्दीमा परेपछि केन्द्रीय सदस्य बन्न वञ्चित उनलाई अन्ततः एमाले केन्द्रीय सदस्य बन्न कसैले रोक्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्