सांसद भट्टराईद्वारा जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री



दिक्तेल (खोटाङ) । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्य सामग्री हस्तान्तर गरेका छन् । सांसद भट्टराईले जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष बवि चाम्लिङलाई बिहीबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

नेकपा केन्द्रीय सदस्यसमेत रहेका नेता भट्टराईले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दीपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल, विभिन्न राजनीतिक दलसम्बद्ध नेता र जिल्ला अस्पतालसम्बद्ध स्वास्थ्यकर्मीको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

जिल्ला समन्वय समिति प्रमुख, अस्पताल व्यवस्थापन समिति अध्यक्ष रहने प्रावधान भएकाले सांसद भट्टराईले चाम्लिङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको स्वास्थ्य सामग्रीमध्ये १ हजार थान मास्क, आरडीटी र पीसीआर कीट ५/५ सय थान रहेका छन् । अस्पातालले प्राप्त गरेको स्वास्थ्य सामग्रीमा ग्लोब्स १ सय थान, पीपीई ५०, सर्जिकल क्याप ५०, सुकभर ५० र ५० थान एन नाइन्टी फाइभ मास्क रहेका छन् । यसैगरी, चस्मा ३०, थर्मल गन २०, फेस सिल्ड २० थान र ८ लिटर स्यानिटाइजर रहेका छन् ।

सरकारले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री बोकेर सांसद भट्टराई बुधबार खोटाङ आइपुगेका थिए । स्वास्थ्य सामग्री अभावले जिल्लामा कोरोना संक्रमण परीक्षण प्रभावित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्