हलेसी (खोटाङ) । सनाखतका लागि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)लाई निर्वाचन आयोगले भदौ ९ गते आयोग कार्यालय बोलाएको छ । दल दर्ताको आधिकारिकता पाउन एक दिन बाँकी रहे पनि खोटाङमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पालिकास्तरीय संगठन निर्माण तीव्र पारिरहँदा हलेसी तुवाचुङ नगरपालिकामा माधव नेपाल समूहको पार्टीको वास्तविकता कस्तो होला ?
११ वडा रहेका हलेसी तुवाचुङ नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को उपस्थिति रहरलाग्दो र भरलाग्दो नदेखिएको बताइन्छ । अहिलेको अवस्थामा हलेसी तुवाचुङ नगरपालिकामा सूर्य चिह्न बलियो देखिन्छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका दीपक कार्की नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा उभिएका छन् । कार्की तात्कालिक नेकपा जिल्ला कमिटी सदस्यसमेत हुन् ।
हलेसी तुवाचुङ नगरपालिका–२ का लालकेशर राई नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का भरलाग्दा नेता मानिन्छन् । नेता राई साबिक डिकुवा गाउँ विकास समितिका प्रभावशाली पूर्वगाविस अध्यक्षसमेत हुन् ।
यसैगरी, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा वडाध्यक्ष हरिकुमार खड्का प्रस्ट नखुले पनि एकताका आफू माधव नेपालतिरै रहेको अभिव्यक्ति दिने गरेका थिए ।
यता, हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मिटार वडाध्यक्ष भलराज राई माधव नेपाल समूहमै रहनेमा द्विविधा रहेन । वडाध्यक्ष राई र तात्कालिक नेकपा खोटाङ जिल्ला सचिवालय सदस्य खडेन्द्रकुमार राई सम्धी–सम्धी हुन् । पार्टी एकीकरणको पक्षमा रहेको बताउँदै आए पनि तात्कालिक नेकपा खोटाङ जिल्ला सचिवालय सदस्य राई नेपाल समूहमै रहेकाले भलाराज राई पनि सोही समूहमा रहने पक्कापक्की छ ।
हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका विष्णु दाहाल नेपाल समूहकै हुन् । साबिक बडहरे गाविस अध्यक्ष दाहालको बडहरेमा लोभलाग्दो प्रभाव रहेको सबैले स्वीकार्दै आएका छन् । २०५४ का गाविस अध्यक्ष दाहाल र नेपाल खेलकुद महासंघ अध्यक्ष रमेश पौडेलको वडा एउटै भए पनि दोस्ती त्यति न्यानो नभएको वडावासीले बताउन कुनै आइतबार कुर्दैनन् ।
हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमवासी नेता खडेन्द्रकुमार राई नेपाल समूहका पक्का कार्यकर्ता हुन् । तात्कालिक नेकपा खोटाङ जिल्ला कमिटी सचिवालय सदस्य राईबाहेक दुर्छिम वडासदस्य फलामसिं राई पनि नेपाल समूहमै छन् । दुर्छिममा वडासदस्य राईको प्रभावशाली उपस्थिति रहेको वडावासीको कथन छ । ‘एमाले विभाजन नहुँदा ओली समूहमा लाग्न सांसद विशाल भट्टराईले पटक–पटक अनुरोध गरेका थिए,’ एमाले जिल्लास्तरीय नेताले हाँस्दै सुनाए, ‘तर, फलामसिं दाइले मान्नुभएन ।’
हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका नेता अकिल राई पहिल्यैदेखि नेपाल समूहमा थिए । अहिले पनि छन् । मंगलटारकै जिल्लास्तरीय नेता जुद्ध पुलामीमगर एमाले विभाजन नहुँदै ओली समूहमा खुलेपछि नेता राई वडामा एक्लिएका हुन् ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा नेकपा एमालेको बलियो पकड रहेको छ । हलेसीमा अहिलेसम्म नेपाल समूहमा कोही खुलेका छैनन् ।
कतिपय वडामा भने प्रतिशोधको राजनीति प्रस्टै देखिन्छ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा भने परशु लिम्बू जता उभिइन्छन्, धितुङवासी कम्युनिस्ट पक्षधर विपक्षमा जाने हल्लाखल्ला चर्को सुनिँदै छ । लिम्बू एमाले रहे वडावासी कम्युनिस्टधारीले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेश गर्ने सुनाउँदै हिँडेका छन् ।
पूर्वनेकपा जिल्ला कमिटी सदस्य रामबकस राईसमेत नेपाल समूहकै हुन् । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेवासी नेता राईले फरक कित्ता नरोजेको सल्लेवासीको भनाइ छ ।
यसैगरी, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा सूर्य चिह्नकै बोलवाला छ । नेकपा विभाजनलगत्तै एमाले टुक्रिँदासमेत अर्खौलेमा एमालेकै बाहुल्य छ । यो समाचार तयार पार्दासम्म अर्खौलेमा नेपाल समूहका नेता खुलेका छैनन् ।
हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा समेत नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को उपस्थिति बिचरा देखिन्छ । राजापानी वडासदस्य प्रदीप राई एमाले विभाजन नहुँदा ओली समूहमा खुलेका थिए । वडासदस्य राई पछिल्लो समय कतै नखुलेको बताइन्छ ।