२५० दिनपछि त्रिधार्मिक धाम हलेसी खुला


हलेसी गुफा

हलेसी (खोटाङ) । त्रिधार्मिक धाम हलेसी आठ महिनापछि खुला गरिएको छ । २०७६ चैत ६ गतेदेखि अनिश्चितकालका लागि बन्द गरिएको हलेसी मंसिर १६ गतेदेखि खुला गरिएको हो ।

किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको पवित्र धाम हलेसीको प्रमुख प्रवेशद्वारबाट दर्शनार्थीलाई एकपटकमा १० जनालाई प्रवेश अनुमति दिइनेछ । एकपटकमा १० जनाले दर्शन गर्न पाउने भए पनि उनीहरूले भौतिक दूरी कायम गर्नुपर्ने हलेसी तुवाचुङ नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

दर्शनार्थीले मास्क अनिवार्य लगाउनुपर्नेछ भने हलेसी गुफाभित्र फूल, अछेता र अगरबत्ती लैजान पाइने छैन ।

हलेसी बन्द गरिए पनि बालपुजारीबाट साँझ–बिहान गरिने पूजाआजाचाहिँ नियमित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्