घरमा सुत्केरी श्रीमती, राहतका लागि श्रीमान् वडा कार्यालय धर्नामा


कास्की । पोखरा महानगरपालिका–९ बसपार्कसँगै जोडिएको कृष्णटोल । अधिकांश सुकुम्वासी परिवार बस्ने टोलमा कोरोनाबाट प्रभावित दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र विपन्नलाई राहतका लागि १९४ परिवारको नाम टोल विकास संस्थाले संकलन गरेर वडामा पठायो । तर, राहत आयो ५४ परिवारलाई मात्रै । केहीको नागरिकता नभएको तथा कोहीलाई कागजपत्र पूरा नभएको भन्दै वडाले नाम फिर्ता पठायो ।
दैनिक ज्यालादारीमा काम गरेर साँझ–बिहानको छाक टार्ने बस्तीका अधिकांशले राहत पाउन नसकेपछि उनीहरूले पटक–पटक वडाको ध्यानाकर्षण गराए । वडाबाट राहत पाउने आश्वासन दिइए पनि महिना दिन बित्दासमेत राहत नआएपछि उनीहरूले गत आइतबार वडा कार्यालयमा धर्ना दिए । धर्नामा भेटिए– ३९ वर्षीय वीरबहादुर विश्वकर्मा ।

दैनिक ज्यालादारीबाट कमाएको पैसाले परिवार पाल्दै आएका विश्वकर्माको लकडाउनपछि आम्दानी छैन । पाँचजनाको परिवारमा दुई महिनाको सुत्केरी श्रीमती घरमा छन् । सुत्केरी अवस्थामा आमा र बच्चाका लागि पोषिलो खानेकुरा त परै जाओस् साँझ–बिहान दुई छाक खाने अन्नसमेत छैन ।

लकडाउनको एक महिना छिमेकीसँग पैंचो मागेर भए पनि सुत्केरी श्रीमती र तीन बालबच्चाको पेट भरेका उनको घरमा अहिले पकाउने केही पनि छैन । घरमा चुलो बाल्ने उपाय नभएपछि गत शनिबार पौरखी समूहले व्यवस्था गरेको पाँच प्याकेट खाना सबैले बाँडेर छाक टारे । साँझ माइली भाउजूले दिएको चामल र छिमेकी दिदी पर्नेले दिएको दालले गत शनिबार साँझ र गत आइतबार बिहानको चुलो बलेको तर अब कसरी परिवार पाल्ने भन्ने चिन्ताले अन्य टोलवासीसहित वडामा राहतका लागि धर्नामा आएको उनले बताए ।

‘घरमा सुत्केरी श्रीमती छन् । कति दिन अरूसँग चामल र दाल मागेर परिवार पाल्ने ? अहिले सबैको अवस्था मेरोजस्तै हो,’ उनले सुनाए, ‘सरकारले कि हामीलाई काम गर्न जान दिनुपर्यो । नत्र परिवार पाल्न राहत चाहियो ।’ नागरिकता नभएकाले नै आफूलाई राहत पाउनबाट वञ्चित गरिएको हुन सक्ने उनको अड्कलबाजी छ । वर्षौंदेखि मुस्ताङबाट आएर यहीं बसोवास गरेको बताउँदै उनले एकपटक बनाएको नागरिकता हराएपछि पुनः अर्को नबनाएको सुनाए ।

राहत माग्दै कृष्णटोल, पार्वतीटोल र शान्तिनगर टोलका २०० हाराहारीका उनीहरूले बास्तोलाथरमा रहेको वडा कार्यालयमा मध्याह्नदेखि धर्ना दिएका थिए । प्रभावित परिवारको भीडभाड बढेपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो । सुरक्षाकर्मी र वडाका कर्मचारीको पहलमा उनीहरूको नाम संकलन गरिएको थियो ।

टोल विकास संस्थाका उपाध्यक्षसमेत रहेका कान्छा लामाले टोल विकास संस्थाबाट १९४ कै नामावली वडामा पेस गरिएकामा चैत २७ गते ५४ परिवारलाई राहत वितरण गरिएको थियो ।

वडाध्यक्ष र सचिवलाई पाँच दिनअघि वडामा आएर राहतका लागि आग्रह गर्दा दुई दिन पर्खिन भने पनि केही सहयोग नपाएपछि टोलवासी वडामा धर्नाका लागि आएको तर वडाध्यक्ष सम्पर्कमा नआएको उनको भनाइ छ । ‘वडाले पक्षपात गरेको छ । एउटै वडामा भए पनि कोहीलाई राति–राति घरमा राहत पुर्याउने, हामीले चाहिँ सरकारको राहत कस्तो हुन्छ, कहिल्यै देख्न पनि नपाउने,’ लामाले आक्रोश व्यक्त गरे ।

वडाध्यक्ष रामराज लामिछानेले राहतका लागि प्राप्त एक हजार ९४५ आवेदनमध्येबाट पहिलो चरणमा ६८८ परिवारलाई राहत वितरण गरिएको बताउँदै पाउनुपर्ने वास्तविक रूपमा प्रभावित कोही छुटेमा दोस्रो चरणमा दिइने बताए । एउटै व्यक्तिले पटक–पटक राहत लिने प्रवृत्ति रहेको भन्दै वडाध्यक्ष लामिछानेले दोस्रो चरणको राहत वितरण गर्नुअघि पहिलो चरणमा राहत पाएका सबैको नामावली मागिने र छुटेकालाई वितरण गरिने जानकारी दिए ।

‘राहत वितरणलाई प्रभावकारी बनाउन वडासदस्यको नेतृत्वमा सबै टोल विकास संस्थाका अध्यक्षसहितको वितरण समितिमार्फत राहत दिएका हौं,’ उनले भने, ‘छुटेकालाई केही दाता खोजेर पनि छुट्टै दिएका छौं ।’

प्रतिक्रिया दिनुहोस्