जयराम, बाहुनीडाँडा (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले काठमाडौंबाट घर फर्केकालाई अनुशासित भएर ‘होम क्वारेन्टाइनमा बस्न अनुरोध गरेका छन् ।
नगरप्रमुख राईले काठमाडौंबाट घर फर्केकाले अनुशासित भएर ‘होम क्वारेन्टाइन’मा नबस्नेलाई हलेसी तुवाचुङ नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा २१ दिन राखिने बताएका हुन् ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना संक्रमणले ‘लकडाउन’ थपिँदै गएपछि काठमाडौंमा रहेका हलेसी तुवाचुङ नगरपालिकावासी अप्ठ्यारोमा परेका थिए । अप्ठ्यारोमा परेको दृष्टिगत गर्दै नगरले नगरवासीलाई आफ्नै खर्चमा घरसम्म ल्याएको हो ।
काठमाडौंको पेप्सिकोलाबाट बुधबार बेलुका ८ बजेपछि नगरले तयार पारेको बस चढेर १, २, ३, ४ र ५ नम्बर वडावासी घर फर्केका थिए । घर फर्केका ५ सय ५५ जनामध्ये यो समाचार तयार पार्दासम्म कतिपय घर पुगिसकेका छन् भने कतिपय जयरामबाट अघि बढेका छन् ।
‘घर फर्केकालाई जयराममा स्वास्थ्य जाँच गरिएको थियो,’ हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारीले जानकारी गराए, ‘घर फर्केका प्रत्येकका नाम, ठेगान, टेलिफोन नम्बरसमेत लिइएको थियो ।’ घर फर्केकालाई कोभिड–१९ सम्बन्धी नगरले निर्माण गरेको आचारसंहितासमेत बाँडिएको वडाध्यक्ष तिवारीले बताए ।
जयराममा सबै प्रक्रिया पूरा गरेपछि घर फर्केकालाई सम्बन्धित वडाका वडाध्यक्षलाई जिम्मा लगाइएको थियो ।