दिक्तेल (खोटाङ) । तात्कालिक प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारसँग भएको सम्झौताअनुसार कर्मचारीलाई सेवा–सुविधा उपलब्ध गराइएन । त्यसो भएपछि खोटाङे कर्मचारीसमेत आन्दोलित भए । कर्मचारीले विरोधस्वरूप जुलुस निकाले ।
दिक्तेल बजार परिक्रमापछि जुलुस तात्कालिक प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिलवालको कार्यकक्षतर्फ सोझिँदै थियो । प्रहरीले अन्धाधुन्ध गोली चलाए । जुलुसमा विद्यार्थी मनोज जोशीसमेत सहभागी थिए ।
दिक्तेलस्थित हेलिप्याडमा प्रहरीले अन्धाधुन्ध गोली चलाए । जोशीलाई गोली लाग्यो । उनको घटनास्थलमै निधन भएको प्रत्यक्षदर्शी सुमन श्रेष्ठले जानकारी गराए । यो संवत् २०४८ साउन १५ गतेको कुरा हो ।
दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययनरत जोशीको हत्या भएको घटनालाई जिल्लामा सहिद ‘मनोज हत्याकाण्ड’का रूपमा चिनिन्छ । ३१ वर्षअघि उनको हत्या गरेको भन्दै जुलुसमा सहभागीले तात्कालिक प्रमुख जिल्ला अधिकारी सिलवालाई घाँस खुवाएका थिए । आफूलाई घाँस खुवाएको झ्वाँकमा प्रजिअले सरकारविरुद्धको आन्दोलनमा सहभागी भएको भन्दै कर्मचारीविरुद्ध सिकायत गरेपछि १३ जनाको जागिर चट भएको थियो ।
सामाजिक काममा क्रियाशील उनी जिल्लाका कुशल खेलाडीका रूपमा समेत परिचित थिए । उनको वास्तविक नाम सर्मेन्द्र जोशी हो । नारायणप्रसाद जोशी र अम्बिका जोशीका कान्छो छोरा मनोज जोशीको जन्म संवत् ०३० असोज २३ गते दिक्तेल बजारमा भएको थियो ।
कर्मचारी आन्दोलनक्रममा हत्या गरिएका उनलाई सरकारले ०७४ माघ २२ गते सहिद घोषणा गरेको थियो । मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)ले सालिन्दा साउन १५ गते ‘मनोज–झपेन्द्र’ स्मृति दिवसका रूपमा मनाउँदै आएको छ ।