मानव जीवन बचाउन ‘लकडाउन’ र सामाजिक दूरी उत्तम


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वांगीण विकास र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

नयाँ वर्ष २०७७ का उपलक्ष्यमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले कोरोना भाइरसले एक लाखभन्दा बढी मानिसको जीवन समाप्त पारिसकेको र लाखौं–लाख संक्रमणबाट प्रभावित भई जीवनका निम्ति संघर्ष गरिरहेका बेला आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई थप सशक्त तुल्याउनुपर्नेमा जोड दिइन् ।

सन् २०१९ को अन्त्यतिर विश्वव्यापी महामारीको रूप लिएको नोबल कोरोना भाइरस (कोभिड—१९) को रोकथाम, नियन्त्रण र उपचार प्रभावकारी तुल्याएर अमूल्य मानव जीवन बचाउन अहिलेको सबैभन्दा उत्तम विकल्प ‘लकडाउन’ र सामाजिक दूरी कायम गर्नुपर्ने देखिएको जनाउँदै उनले नेपाली अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभाव कम गर्न उर्वर भूमि, जलसम्पदा, वन–जंगल र जैविक विविधता सदुपयोग गर्दै दिगो विकास हासिल गर्न अग्रसर हुनुपर्ने औंल्याइन् ।

‘नेपाल सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को साझा राष्ट्रिय आकांक्षा हासिल गर्न अग्रसर भएसँगै विकासका प्रयास तीव्र गतिमा अगाडि बढेका छन् । गत वर्ष हामीले महत्वपूर्ण आर्थिक वृद्धि हासिल गर्न सफल भयौं,’ उनको सन्देशमा भनिएको छ, ‘विनाशकारी भूकम्पले भत्काएका निजी आवास तथा ऐतिहासिक र सांस्कृतिक सम्पदा पुनःनिर्माणमा सफलता हासिल भएको छ । राष्ट्रव्यापी सडक सञ्जाल निर्माणमा निरन्तरता, विभिन्न जलविद्युत् परियोजना सम्पन्न हुनेक्रमले राष्ट्रिय आय र जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिरहेकै बेला विश्वव्यापी महामारीको चपेटामा परेका छौं ।’

कोरोना भाइरससिर्जित विपत्मा साझा प्रयास गर्दा मानव जातिको जित सुनिश्चित रहेको बताउँदै राष्ट्रपतिले उच्च मनोबल र सकारात्मक सोचसाथ महामारी रोकथाम एवम् नियन्त्रणका लागि सम्पूर्ण नेपालीले पुनः एकजुट भई अगाडि बढ्न नयाँ वर्षले ऊर्जा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गरेकी छन् ।

महामारीको संक्रमण रोक्ने उपायका रूपमा अवलम्बन गरिएको ‘लकडाउन’ले नयाँ वर्ष मनाउने र हर्षोल्लास आदान–प्रदान गर्ने कार्यमा सावधानी अपनाउन ध्यानाकर्षण गराउँदै उनले नयाँ वर्षले राष्ट्रमा दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिका लागि नयाँ जोश, जाँगर र उत्साह पैदा गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्