बुटेनवा


मैले तिमीबाटै सिकें
दुःख–सुख बाँड्न
थाहा थिएन
दुःख बाँडे घट्छ
सुख बाँडे बढ्छ ।

मनभरि विषवृक्ष पालेर
अनुहारमा अमृतको घैला
रच्नुहुँदैन
जुनी एकबारको हो
फेरिफेरि आउँदैन
तिमीबाटै सिकें मैले
जीवनमा पाखण्डको
कुनै अर्थ छैन ।

पीडा कस्तो हुन्छ ?
पीडाको बीचबाट निस्कने
हा“सोको मूल्य के हुन्छ ?
अभावको बीचबाट निस्कने
हिम्मतको आँच कस्तो हुन्छ ?
निराशाबीच निरन्तर आशा
तिमीबाटै सिकें मैले
थाकेर हार खानुको
जीवनमा कुनै अर्थ छैन ।

खुलेर हाँस्न
रुन मन लागेको बेला
साथीभाइमाझ
वा कतै एकान्तमा रुन
तिमीबाटै सिकें मैले
आफैंलाई छल्नुको
जीवनमा कुनै अर्थ छैन ।

उत्पीडनविरुद्ध संघर्ष
र संघर्षले बनाएका
असंख्य घाउमाझ
कहिल्यै नमर्ने
झन्झन् जग्मगाएर उठ्ने
संकल्प र सपनाबीच
आनन्दको कस्तो अनुभूति हुन्छ
तिमीबाटै सिकें मैले
डराएर भाग्नुको जीवनमा कुनै अर्थ छैन ।

कुनै महान् पुस्तकभन्दा पनि
महान् तिम्रो जीवनबाट
धेरै थोक सिकें मैले
मेरो बुटेनवा
थाहा थिएन कुनै बेला
एउटा सामान्य मजदुरबाट
सिक्न सकिन्छ यति धेरै कुरा !

प्रतिक्रिया दिनुहोस्