कोरोना कहरले नेपाल र नेपाली अछुतो छैनन् । नेपालमा ‘लकडाउन’ गरिएको छैन । स्वास्थ्य संकटकालसमेत लागू गरिएको छैन । निश्चित समयमा बाहेक निषेधाज्ञामा सबै–सबै बन्द छन् । अत्यावश्यकबाहेक सरकारी कार्यालयले सेवा बन्द गरेको छ । खाद्य पसलदेखि डिपार्टमेन्टल स्टोरसमेत बन्द छन् । निषेधाज्ञाले गर्दा महिलाले असहज परिस्थितिमा पोषिलो खानेकुरा, सरसफाइसम्बन्धी सामग्रीलगायतका उचित व्यवस्था नहुँदा महिलाले ठूलो समस्या भोग्नपर्ने बाध्यता आइलागेको छ ।
स्वास्थ्य संकटको ख्यालै नगरी सत्ताधारी र सत्ताबाहिर रहेका विभिन्न राजनीतिक दलसम्बद्ध नेताले वर्तमान अवस्थालाई ध्यान नदिएको हो कि भन्ने भान हुन्छ । सत्ताका स्वाद थाहा पाएकालाई वर्तमान अवस्थाभन्दा सत्ताका लागि चालेको चालबाजी प्राथमिकतामा परेका हुन् भनेर लख काट्न सहजै सकिन्छ । यसको प्रत्यक्ष तथा अप्रत्यक्ष पीडा महिलाले नै भोग्नुपर्नेछ ।
कोरोनाले थलिएको शरीरबाट महिनावारीताका बग्ने रगतले सम्बन्धित महिलाको हालत कस्तो होला ? यस्तो पीडा महिलालाई मात्र थाहा हुन्छ । सामान्यतया महिनावारी समयमा देखिने लक्षण र कोरोना संक्रमण हुँदाको लक्षण झन्डै–झन्डै उस्तै हुनुले पनि नेपालमा महिलाले सास्ती भोग्नुपरेको हो । यतिबेलाको बाध्यात्मक परिस्थिति सामना गर्नेक्रममा कति महिलाले ज्यान गुमाउनुपरेको छ । गुमाएका छन् । कोरोना संक्रमण भएपछि ‘आइसोलेसन’ तथा ‘सेल्फ आइसोलेसन’मा बस्नुपर्ने बाध्यत छँदै छ । त्यसमाथि महिनावारी भएको समय छुट्टै बस्नुपर्दा नेपाली महिला शारीरिक र मानसिक तनावले झन् कमजोर बन्ने गर्छन् ।
स्वास्थ्यविज्ञानका अनुसार कोरोना संक्रमितले तागतिलो खानेकुरा खानुपर्ने, सरसफाइ गरिरहनुपर्ने, हावा राम्रोसँग चल्ने कोठा, प्रशस्त मात्रामा घाम ताप्नुपर्ने भए पनि एउटै कोठामा कोचिएर बस्नुपर्ने बाध्यात्मक स्थिति शब्दमाा व्यक्त गर्न कठिन हुन्छ । स्वच्छ पानीको असुुविधा, घरपरिवारका साथै अन्यले नजानिँदोपाराले गर्ने अपहेलित व्यवहारले महिलाको स्वास्थ्यस्थिति कमजोर बनाउन सघाउँछ ।
कोरोना कहरबाट जोगिन मानिस सहरबाट गाउँ पुगेका छन् । गाउँ पुग्ने पुरुषमात्रै होइन, महिला पनि उत्तिकै छन् । गाउँ हिँड्नेक्रममा विविध कारणले बाटोमा अलपत्र पर्दा महिनावारी भएका महिलालाई कत्ति गाह्रो होला ? कल्पना गर्दामात्रै पनि मुटु चिरिन्छ । त्यसमाथि गाउँघरमा हुने रूढीवादी परम्पराले महिलाको स्वास्थ्य कमजोर बनाउन सघाउ पुर्याइरहेकै छ ।
कोरोना संक्रमण हुँदा सम्बन्धित संक्रमितको शरीर शिथिल बनाउँछ । त्यसमाथि यही समयमा महिनावारी हुँदा पीडामाथि पीडा सहनुको विकल्प छैन । त्यस्तो बेला सकारात्मक नसोच्ने, मनोबल कमजोर भएमा सम्बन्धित परिवारले अनिष्ट बेहोर्नुपर्छ । तसर्थ, त्यस्तो अनिष्टबाट जोगिन सम्बन्धित परिवारको उत्तिकै हात हुन्छ । प्रत्येक घरपरिवारले महिलाको वास्तविकता बुझ्नुपर्छ । समस्यामा परेको बेला सहज तरिकाले सहयोग गर्नुपर्छ ।
कोरोना संक्रमणले अपवादबाहेक सहरका मानिस घरभित्रै थुनिएका छन् । कोरोना संक्रमित र संक्रमण नभएका एउटै कोठा वा फ्ल्याटमा बस्नुपर्ने बाध्यता त्यत्तिकै चर्को छ । उल्लिखित सबै–सबै समस्या पार गर्दै ज्यान जोगाउन सम्बन्धित परिवारमा सबैको उत्तिकै हात हुन्छ । तसर्थ, एकले अर्काको पीडा अनुभूति गरेर सहयोग गरागर गरेमा जस्तोसुकै समस्यालाई पार लगाउन सकिन्छ । पार लगाउने स्वास्थ्य क्षमता विकास गरौं । मनोबल उच्च बनाऊँ । यसैमा सबैको भलो हुनेछ ।