‘कोभिड–१९ विरुद्ध संघर्षमा राष्ट्रिय एकता प्रदर्शन गरौं’


काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्ष २०७७ ले कोभिड–१९ विरुद्ध संघर्षमा अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा दिने बताएका छन् ।

नयाँ वर्ष २०७७ को अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै उपराष्ट्रपति पुनले नयाँ वर्षको प्रारम्भिक महिनामै कोरोना महामारी नियन्त्रण हुने र देश पुनः ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न पुरानै लयमा छिट्टै फर्कने विश्वास व्यक्त गरे ।

कोभिड–१९ विरुद्धको संघर्ष सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रयासले मात्रै नजितिने भन्दै उनले आमजनताको पूर्ण साथ र सहयोगको खाँचो औंल्याभएका छन् । जस्तोसुकै अप्ठ्यारामा धैर्य गर्ने र उच्च मनोबलसाथ चुनौती सामना गरेर परिस्थितिलाई अनुकूलमा बदल्ने हाम्रो विगत भएको स्मरण गर्दै उनले सन्देशमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सरकारको निर्णयमा पूर्ण साथ दिन सबैमा अपिल गरे ।

‘विषम परिस्थितिबीच हाम्रो घर–आँगनमा आइपुगेको नयाँ वर्ष २०७७ सबै नेपालीका लागि सम्झनायोग्य हुने मैले विश्वास लिएको छु,’ सन्देशमा उपराष्ट्रपतिले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्