हलेसी (खोटाङ) । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हलेसी तुवाचुङ नगरपालिका नगर कमिटी सचिवालय सदस्य सर्वधन बस्नेतले काठमाडौंबाट ल्याइएका नगरवासीलाई क्वारेन्टाइनमा राखे सबै सुरक्षित रहने बताएका छन् ।
हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौंमा रहेका नगरवासीलाई घरसम्म ल्याएर अत्यन्तै सराहनीय काम गरेको बताउँदै नेकपा हलेसी तुवाचुङ नगरपालिका नगर कमिटी सचिवालय सदस्य बस्नेतले यस्तो सुझाएका हुन् ।
‘काठमाडौंमा अप्ठ्यारोमा परेका आफ्ना नगरवासी उद्धार गर्नु स्थानीय सरकारको कर्तव्य हो,’ उनले अनुरोध गरे, ‘अप्ठ्यारोमा परेका नगरवासीसँगै १०औं वर्ष गाउँ नफर्केका पनि फर्किए होलान् । त्यसलाई सुखद मान्नुपर्छ । तर, काठमाडौंबाट ल्याइएका सबैलाई कम्तीमा १४ दिन स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टाइनमा राख्नुपथ्र्यो ।’
काठमाडौंबाट ल्याइएका सबैलाई कसरी र कहाँ राख्ने भन्ने समस्याले ‘होम क्वारेन्टाइन’ मा बस्ने भनिएको होला तर त्यसो गर्दा आउने दिनमा योभन्दा ठूलो समस्या सिर्जना हुने हो कि भनेर नेता बस्नेतले चिन्ता व्यक्त गरे ।
‘हलेसीमा कम्तीमा ५ हजारजना अटाउने होटल रुमहरू छन् । होटल व्यवसायी संघले देशभरिका होटल क्वारेन्टाइनका रूपमा सञ्चालन गर्न दिने घोषणा गरिसकेका छन्,’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अनुरोध गरे, ‘हलेसीका होटल व्यवसायी संघसँग समन्वय गरेर यहाँका होटललाई क्वारेन्टाइनमा रूपान्तरण गरी काठमाडौंबाट ल्याइएका नगरवासीलाई कम्तीमा १४ दिन राखेर घर पठाउँदा घरपरिवार, गाउँ–समाज र देशै सुरक्षित रहन्थ्यो ।’