मकवानपुर । थाहा नगरपालिका मकनवानपुरको दामनमा रहेको एउटै उद्यानमा दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस)मा सूचीकृत लोपोन्मुख जडीबुटीसहित ६१ प्रजातिको वनस्पति संरक्षण गरिएको छ ।
उद्यानमा संरक्षित वनस्पतिमा साइटिसको लोपोन्मुख सूचीमा रहेका सतुवा, सुगन्धवाल, भुतकेस, लोठसल्ला, बिखुलगायत रहेका छन् । उद्यानमा लोप हुँदै गएका फिरफिरे, तालिसपत्र, तेजपात, बोझो, जीवन्ती, वनमुला, एक्लेवीर, चिराइतो, काउलो, जमानेमान्द्रोलगायत संरक्षण गरिएको वनस्पति अनुसन्धान केन्द्र मकवानपुर प्रमुख रघुराम पराजुलीले बताए ।
वनस्पतिको स्व–स्थानीय एवम् पर–स्थानीय संरक्षण, अध्ययन–अनुसन्धान र वातावरणीय सेवा र संरक्षण शिक्षा प्रदान गर्न २०२१ मा उद्यान स्थापना गरिएको थियो । कुल ६५ हेक्टरमा फैलिएको उद्यानमा विभिन्न प्रजातिका लालीगुराँस र सुनाखरीको समेत छुट्टै ब्लक बनाएर संरक्षण गरिएको छ ।
वनस्पति विभागअन्तर्गत नेपालकै एकमात्र पर्वतीय वनस्पति उद्यानका रूपमा रहेको दामनस्थित उद्यानले बर्सेनि बहुमूल्य जडीबुटीका बिरुवा उत्पादन गरेर वितरण गर्ने गरेको केन्द्र प्रमुख पराजुलीले बताए ।
विभागले आर्थिक विकासका लागि प्राथमिकीकरणमा राखेको ३३ प्रकारका जडीबुटीमध्ये धेरैजसो उद्यानमा संरक्षण गरेर राखिएको उनले जानकारी गराए । उद्यानले संरक्षित वनस्पतिको अवलोकन, सुगन्धित वनस्पति तथा जडीबुटीसम्बन्धी जानकारी, वनस्पति संरक्षण शिक्षासम्बन्धी जानकारीलगायतको सेवा दिँदै आएको छ ।
नेपालमा रहेका ११ वनस्पति उद्यानमध्ये मकवानपुरमा तीनवटा रहेका छन् भने दुईवटा थाहा नगरपालिकामै छन् ।