‘नयाँ वर्षलाई कोरोनामाथि जितको वर्ष बनाऊँ’


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नयाँ वर्ष २०७७ लाई संसारभरि मानिसलाई त्राहिमाम बनाइरहेको कोरोनामाथि जितको वर्ष बनाउन आह्वान गरेका छन् ।

नयाँ वर्षका उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी एवम् दाजुुभाइमा शुुभकामना सन्देश दिँदै सभामुख सापकोटाले समृद्धि र दिगो विकासको बाटामा अघि बढेको वर्षका रूपमा नयाँ वर्षलाई स्थापित गरौं भनेका छन् ।

नयाँ वर्ष स्वागत गर्दैगर्दा कोभिड–१९ को महामारीविरुद्ध संघर्ष गरिरहेको प्रसंग उल्लेख गर्दै उनले भने, ‘नयाँ वर्षको आरम्भलाई कोरोना र सम्भावित अन्य महामारी परास्त गर्ने दृढसंकल्प गर्नुपरेकाले सोहीअनुसारको व्यवहारमा रही आपसमा शुुभकामना आदान–प्रदान गरेर स्वागत गरौं ।’

जस्तासुकै विषम परिस्थिति परास्त गरी अघि बढेको नेपालको गर्विलो इतिहास सदैव पे्ररणादायी रहेको उल्लेख गर्दै उनले सन्देशमा भनेका छन्, ‘कोभिड–१९ को जोखिमको विषम परिस्थितिलाई जितेर लोकतन्त्रलाई अझ विस्तार, विकास र सुदृढ गर्दै समाजवादउन्मुख नीति, कार्यक्रम र योजनासहित अघि बढ्ने प्रेरणा हामी सबैलाई मिलोस् ।’

प्रतिक्रिया दिनुहोस्