दुर्छिम (खोटाङ) । जहाँ धपेडी, त्यहाँ अप्राकृतिक जीवन छ । त्यहाँ तनाव, अनिद्रा र दुखाइपिराइ हुन्छ । विकसित औद्योगिक मुलुक भनिएका अमेरिका, जापानलगायत देशका मानिसमा यस्तो समस्या धेरै छ । हिंसा र आत्महत्याका समस्या ती मुलुकमा अत्यधिक छ ।
नेपाल घुम्न आएका अमेरिकी र युरोपेली नागरिक भन्छन्, ‘जीवन त नेपालकै आनन्ददायी छ । हामी त मेसिन भइसक्यौं ।’
खोटाङमा जाल्पा भन्ने ठाउँ छ । त्यहाँ एक अमेरिकी नागरिक एनजीओको जागिरेका रूपमा ६ वर्ष काम गरे । उनलाई नेपाली रहनसहन र जीवनशैली मन प¥यो । अमेरिका फर्किने बेला उनले रुँदै भने, ‘म यो ठाउँमा किन जन्मिइनँ ?’
नेपालीलाई धपेडी कम भएकाले अनिद्रा, दुखाइ र तनावको समस्या कम छ । तर, अमेरिकाजस्तो मुलुकमा यस्तो समस्या अत्यधिक छ । लाखौं अमेरिकी सुत्नका लागि औषधि खान्छन् । उनीहरूलाई निद्रा नलाग्ने समस्या छ । थकाइ मेट्नसमेत औषधि खान्छन् । उनीहरूलाई आराम गर्ने समय कम छ । शान्ति कम भएकाले तनावले टाउको दुख्छ । त्यो कम गर्न पनि औषधि खान्छन् ।
क्यालिफोर्नियास्थित एक कम्पनी एचएमबीएलडीटीले औषधिको विकल्पमा काम गर्ने कलम निर्माण गरेको छ । त्यो कलम प्रयोग गरेपछि तनाव, थकान, अनिद्राजस्ता समस्या ठीक हुन्छ । औषधि खानुको सट्टा वाष्पीकरण गर्ने कलमले सबै ठीकठाक गरिदिन्छ । यो कलममा भाङको तेल राखिएको हुन्छ । कलमले वाष्पीकरण गरेका कारण सो तेल दलेपछि अनिद्रा, दुखाइ र तनावबाट छुट्कारा पाइन्छ ।