‘कोभिड–१९ नियन्त्रण गर्न सरकारी नीति सफल पारौं’



काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ वर्ष २०७७ ले कोभिड–१९ संक्रमण नियन्त्रणका लागि सरकारले लिएका नीति निर्णयलाई अझ बढी प्रभावकारी कार्यान्वयन गर्न सफल भइने विश्वास व्यक्त गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले नयाँ वर्षको उपलक्ष्यको सन्देशमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा नयाँ वर्षको उपलक्ष्यमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

लामो राजनीतिक संक्रमणकाल अन्त्य गर्दै संविधानसभाबाट जारी नेपालको संविधानबमोजिम तीन तहका सरकारको निर्माण भई भौतिक र आर्थिक विकास गर्दै समृद्ध नेपाल, सुखी नेपालीको नारासहित अगाडि बढिरहेको बेला कोरोना महामारीले उच्च जोखिममा पारेको सन्देशमा उल्लेख छ ।

कोरोनाबाट जोगिन सरकारले जारी गरेको निर्देशन, आचारसंहिता, सावधानीका उपाय र आह्वानलाई घरमै बसी परिपालना गर्नु उत्तम उपाय भएको बताउँदै उनले नयाँ वर्षले कोरोना महामारी अन्त्य गर्दै सम्पूर्ण नेपालीलाई सामान्य अवस्थामा फर्कन ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्