
सितिमी मासिकको १००औं अंक प्रकाशन भइसकेको छ । चाम्लिङ राई भाषामा प्रकाशन हुने सितिमी मासिकको १००औं अंक प्रकाशन गर्नु सामान्य काम होइन । सितिमीका सम्पादक तिलक चाम्लिङ हुन् ।
‘नेपाल टेलिभिजनमा प्रत्येक शुक्रबार चाम्लिङ भाषाको कार्यक्रम प्रसारण हुन्छ । म त्यसको प्रस्तोता हुँ नि,’ मातृभाषा पत्रकारितामा रमाइरहेका चाम्लिङले खुसी व्यक्त गरे, ‘हलेसी एफएममा समेत प्रत्येक बिहीबार चाम्लिङ भाषाकै कार्यक्रम सञ्चालन गर्छु ।’
नेपाल प्रज्ञाप्रतिष्ठानबाट प्रकाशन हुने ‘खुवालुङ’ पत्रिकाको कार्यकारी सम्पादकको भूमिकामा छन् । खुवालुङ राई समुदायमा बोलिने भाषाहरूको पत्रिका हो । गोरखापत्र दैनिकमा चाम्लिङ राई भाषा पृष्ठ संयोजन उनैले गर्छन् । एक व्यक्ति अनेक भूमिकामा अनुहारिएका पत्रकार, लेखक तथा कवि तिलक चाम्लिङसँग तुवाचुङ डटकमका लागि दीपेन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश :
ढिँडो र सुँगुरको मासु जिब्रोमै झुन्डिने
सामान्यतः नेपालीले खाइआएका खानेकुरा सबै–सबै खान्छु । नखाने केही छैन । मन परेको खानेकुरा सधैं कहाँ खान पाइन्छ र । तैपनि सुँगुरको मासुँसँग ढिँडो खान पाए हुने हुन्छु । मासु नहुँदा फर्सीको मुन्टा, मही र धानको भात खान मन पर्छ । फुक्को भुटुवा तरकारीसँग भात खान सक्दिनँ । पातलो भए पनि मही वा दाल चाहिन्छ । तर, मकैको च्याख्लाभन्दा ढिँडो र चामलको भातै मन पर्छ ।
खानकै लागि रेस्टुरेन्ट जान्न । साथीभाइसँग कहिलेकाहीं जाने साइत जुर्छ । त्यतिबेला गइदिएजस्तो गर्छु । तर, साथीहरूको खर्च गरिदिन मन लाग्दैन । मनमा ‘कुचकुच’ भइरहन्छ । सित्तैमा खर्च गरिदिन मनले मान्दैन । पाप र धर्ममा विश्वास गर्दिनँ तर भार लागिरहन्छ ।
स्न्याक्स र खाजा एउटै हो भनेर बुझेको थिएँ । एक दिन छोरी सिकुरीमालाई खाजा के खाने भनेर सोधें । छोरीले खाजा नखाने मलाई ढिला हुन्छ, स्न्याक्स ल्याइदिनु भनेपछि स्न्याक्स भनेको खाजाका लागि पहिल्यै तयार गरिएको छिटो खाजा रहेछ भनेर बुझें । यस अर्थमा मलाई स्न्यास्क (रेडिमेड खाजा) खाने हाम्रो संस्कार नभएकाले होला मन पर्दैन । मलाई मकैभटमास मन लाग्छ ।
पकाउने रुचि छैन । पकाउनुपर्दा साह्रै अल्मलिन्छु । नुन, तेल, मसला हाल्न जान्दिनँ । आफूले जे जानेको छु, त्यही गर्ने हो । मेरी श्रीमती पाककलामा अब्बल छिन् । घरमा भाँडा माझ्ने काम मेरो हो । हिजोआज छोरीले मलाई सघाउँछिन् ।
अधिकांश कपडा उपहारका
घरमा बस्दा खकुलो भेस्ट र ट्राउजर लगाउँछु । बाहिर निस्कँदा पनि त्यस्तै कपडा लगाउन मन लाग्छ । पोसाकमा खासै खर्च हुँदैन । भित्री पोसाकमात्रै किन्छु । जुत्तादेखि ज्याकेट, सर्ट साथीभाइ, नातागोताले उपहार पठाइदिन्छन् । मलाई सेतो सर्ट र कालो पाइन्ट मन पर्छ । भेस्टमा नेभी ब्लु मन परे पनि रङविशेषमा चुजी छुइनँ । मैले लगाउने सबै कपडा रेडिमेडै हुन्छन् । जिन्स पाइन्ट थुप्रै छन् ।
साइज नमिल्ने भएकाले पाइन्टचाहिँ कहिलेकाहीं सिलाउँछु । सिलाउँदा जहाँ पायो त्यहीं पुग्छु । ब्रान्डबारे त्यति थाहा छैन । सजिलो र हलुंगो कपडा भए पुग्छ । ढाकाटोपी लगाउँछु । गर्मीमा क्यापटोपी पनि लगाउँछु ।
गन्धु दाइसँग बस्दा ‘मर्निङवाक’
फिटनेसका नाममा केही गरेको छुइनँ । दैनिकजसो पसलबाट दुई जार खानेपानी ल्याउँछु । तरकारीलगायतका सामग्री किनमेलमा निस्कन्छु । छोटो दुरीको यात्रा पैदलै हिँड्छु । त्यतिले मलाई ‘एक्सरसाइज’ पुगेजस्तो लाग्छ ।
अधिकांश मानिसले मुख बारेको देख्छु । मैले अहिलेसम्म मुख बार्नुपरेको छैन । विपश्यना ध्यानमा गइरहने राजबल राईले एक दिन सोध्नुभयो, ‘तपाईं ध्यान, तपस्या गरिरहनुहुन्छ जस्तै लाग्छ । विपश्यनामा पनि जानुभएको छ ?’ आफू अहिलेसम्म नगएको सुनाएँ । राईले थप्नुभयो, ‘तपाईंको आनीबानी सकारात्मक लाग्छ । विपश्यना गरेजस्तै ।’

मैले बुझेर वा नबुझेर सानैमा धेरै ध्यान, योगा गरेको थिएँ । हिजोआजचाहिँ छैन । त्यो अवसर कसरी जुर्यो ? सुनाउँछु है । मुन्दुम अध्येता भोगीराज चाम्लिङ (गन्धु दाइ) सँग काठमाडौंमा बस्थें । जागिर खोजिदिएर मलाई काठमाडौं बोलाउनुहुने पनि उहाँ नै हुनुहुन्छ । सानैदेखि उहाँलाई पछ्याइरहन्थें । उहाँले योगामा जाऊँ भन्नुभयो । हुन्छ भनेर पछ्याउँथें । त्यसबेला हामी सीतापाइला (बाफल) मा बस्थ्यौं । बाफल चोकबाट ताहाचल आउँदा–जाँदा बीचमा गाईबाछा चोक छ । त्यहाँ ओशो ध्यान केन्द्र थियो । संवत् २०५९ देखि ०६३ सालसम्म कहिले बिहान, कहिले बेलुका नियमित पुग्थ्यौं । नियमितजसो पुग्ने भएपछि हाम्रा लागि एक/एक थान कलेजे रङको पोसाक तयार गरिदिएका थिए । त्यहाँ बसुन्जेल एक घन्टा त्यही पहिरन लगाए पनि निस्कँदा त्यहीं छाड्नुपथ्र्यो ।
१५ मिनेट उफ्रिने । १५ मिनेट लामो सास फेर्ने । १५ मिनेट स्वतन्त्र तरिकाले गीत गाउने । अनि मन खोलेर कराउने । त्यसपछि ३० मिनेट आँखा चिम गरेर ओशोको प्रवचन सुन्नुपथ्र्यो । कुण्डलिनी, नादब्रह्म, नटराज, विपश्यना, डायनामिक मेडिटेसनजस्ता थुप्रै ध्यान गरेको छु । ओशो प्रवचनका किताब र क्यासेट थाकथाक थिए । मैले अलि–अलि हिन्दी भाषा जानेको त्यहींबाटै हो । घरमै किताब ल्याएर पढ्न पाउने सुविधा थियो । राजबल दाइले ध्यान/तपस्याबारे सोध्नुभएपछि विगत ‘क्लिक’ भयो । त्यो ध्यानले अहिलेसम्म काम गरिरहेकै जस्तो लाग्छ ।
गन्धु दाइसँग बस्दा मर्निङवाक नियमित गएँ । पानी पर्दा छाता ओढेरै पनि स्वयम्भूसम्म मर्निङवाक जान्थ्यौं । हिजोआज बानी छुट्यो ।
मातृभाषा साहित्यको इतिहास पढ्दै
राजनीति गर्नुपर्छ भनेर केही वर्ष एकता केन्द्र मसालको अर्धभूमिगत संगठनमा काम गरें । राजनीतिलाई सहयोग गर्छ भनेर राजनीतिशास्त्रमा धेरै पहिले प्राइभेटबाटै एमए गरेको थिएँ । प्राइभेट भन्न लाज लागेर कसैलाई भनिनँ ।
फुर्सदमा भाषाविज्ञानसम्बन्धी किताब पढ्छु । चाम्लिङ भाषासाहित्यको इतिहाससम्बन्धी किताब लेख्दै छु । त्यसैले नेपालमा बोलिने मातृभाषा साहित्यको इतिहास पढिरहेको छु । अमृत योञ्जनको तामाङ मातृभाषा साहित्यको इतिहास, कृष्णराज सर्वहारीको थारू साहित्यको इतिहास भर्खरै पढिसकेको छु ।
एकताका राजनीति र दर्शन पढ्न रुचि लाग्थ्यो । बीचमा साहित्यका किताब पढें । हिजोआज भाषाविज्ञानका किताब पढ्न मन लाग्छ । खगेन्द्र संग्रौला, आहुति, गुरुङ सुशान्तलाई पढ्न जाँगर चल्छ । सानोमा मेक्सिम गोर्कीका अनुवादित साहित्य धेरै पढें । समय मिल्दा अरुन्धती रोय पढ्छु ।
गनेको त छुइनँ तर मेरो निजी पुस्तकालयमा तीन र्याक किताब छन् । पुराना किताब बोरामा छन् । सितिमी पुस्तकालय बनाउने रहर पालेको छु ।
पैदल हिँडेर नाम्चे पुग्ने रहर
घुमफिरमा रुचि छ । पूर्वका सबै जिल्ला पुगेको छु । लुम्बिनी प्रदेशभन्दा उताका जिल्लामा पुग्न मन छ । भारत र भुटान धेरैपटक पुगेको छु । घुमेकामध्ये इलाम रमाइलो लाग्यो ।
एसएलसी परीक्षा लेखेपछि जिरी हुँदै नाम्चेसम्म भारी बोकेर धेरै हिँडियो । ती ठाउँ घुमन्ते भएर एकपटक पैदल हिँड्न मन छ ।

फुर्सदमा छोरीहरूसँग खेल्ने
नेपाल टेलिभिजनमा प्रत्येक शुक्रबार चाम्लिङ भाषाको कार्यक्रम चलाउँछु । हलेसी एफएममा प्रत्येक बिहीबार कार्यक्रम चलाउँछु । नेपाल प्रज्ञाप्रतिष्ठानबाट प्रकाशन हुने राई समुदायमा बोलिने भाषाहरूको पत्रिका ‘खुवालुङ’को कार्यकारी सम्पादकको भूमिकामा छु । गोरखापत्र दैनिकमा चाम्लिङ राई भाषा पृष्ठ संयोजन गर्छु । सितिमी मासिकको सम्पादक छु । सितिमी टीभी युट्युब च्यानल सञ्चालनमा छ ।
धेरै वटा काम गरिरहेको छु । आफ्नै अनुकूलमा गर्ने भएकाले उल्लिखित काम आरामकै छ । फुर्सद मिलाएर दुई छोरीसँग खेल्न मन लाग्छ । कार्यालय गएरै गर्नुपर्ने काम छैन । घरै बसेर गर्ने काम भएकाले प्रायः परिवारसँगै हुन्छु । परिवारसहित घुम्न, रेस्टुरेन्टमा खान जाने बानी छैन । महिनामा एक दिन चलचित्र हेर्न सपरिवार हलसम्मै पुग्छौं ।
तास मन पर्दैन
भलिबल हेर्न मन पर्छ । मन नपर्ने खेल तास हो । औपचारिक रूपमा कुनै खेल खेलेको छुइनँ ।
नबिग्रेसम्म मोबाइल प्रयोग
ओप्पोको मोबाइल सेट प्रयोग गर्दै आएको छु । यो पनि मैले किनेको होइन । नबिग्रेसम्म/नहराएसम्म अर्को किन्दिनँ । च्याट जिपिटी, डिपसिक, फेसबुक, युट्युबलगायत एप्लिकेसन चलाउँछु । बैंकिङ कारोबार मोबाइल एप्सबाटै गर्छु ।
हविन्द्र भाइले ल्याइदिएको टीभी प्रयोगहीन
३२ इन्चको सामसुङ टीभी भित्तामा छ । पैसा हालेको छुइनँ । टीभी हेर्न छाडेको निकै भयो । एकताका राति ८ बजेको समाचार नियमित हेर्थें । हिजोआज युट्युबमै समाचार हेर्छु । यो टीभी हविन्द्र राई भाइले विदेशबाटै ल्याइदिएका हुन् ।
मिरुना मगरको अभिनय अब्बल
पछिल्लोपटक चलचित्र पूर्णबहादुरको सारंगी हेरेको थिएँ । परिवारको खुसीका लागि महिनामा एक दिन हलसम्म पुग्नै पर्छ । टीभीमा पनि चलचित्र हेर्ने सुविधा छ । सो सुविधा सदुपयोग गरेकै छु । हेरेकामध्ये बलिदान, पूर्णबहादुरको सारंगी र जारी मन पर्यो । मिरुना मगरको अभिनय मन पर्छ ।

ओशो ध्यान केन्द्र धाउँदा तन्दुरुस्त
अहिलेसम्म थला पर्ने गरी बिरामी भएको छैन । मेरा आँखा कमजोर छन् । दीर्घ रोगले समातेको छैन । होलबडी चेकअपसमेत गरेको छैन । सानोमा ओशो ध्यान केन्द्र धाएकाले अहिलेसम्म तन्दुरुस्ती रहेको हुनुपर्छ ।
भाषण गर्न जान्दिनँ
म भाषण गर्न जान्दिनँ । भाषण गर्दा प्रयोग गर्ने थेगोसमेत थाहा छैन । गर्नैपर्दा बौद्धिक भाषण गर्न मन लाग्छ । भाषण धेरै गर्ने अवसर जुरेकै छैन । भाषण गर्नअघि पूर्वअध्ययन गरेर नोट बनाउँछु ।
एउटा तोङ्बा ठिक्क
खोजी–खोजी मादक पदार्थ खाँदिनँ । तलतल पनि लाग्दैन । जुरिहाल्दा पछि हट्दिनँ । जुरिहाल्दा तोङ्बा रोज्छु । खुकुरी रमभन्दा अरू बान्ड थाहा छैन । ‘हार्ड ड्रिङ्क्स’ गर्दिनँ । एउटा तोङ्बा भए ठिक्क हुन्छ । तोङ्बा नहुँदा एक बोतल बियरमात्रै पिउँछु । मात लाग्नेगरी केही खान्न ।
सिमली छायाँमा बसी गुनगुनाउने
पूर्वेली लोकगीत सुन्न जाँगर चल्छ । राजेशपायल राई र मेलिना राईका आवाज सुनूँसुनूँ लाग्छ । जीवन शर्माको ‘सिमली छायाँमा बसी’ गीत गुनगुनाउँछु ।
काँक्रा चोर्दा थरहरी
जान–अन्जानमा भूल गर्नु मानीय स्वभाव हो । सानोमा लाखधन राई काकाको काँक्रा चोरेर खाएको थिएँ । काकाले थाहा पाउनुभएपछि डर देखाउनुभयो । ‘अबदेखि चोर्दिनँ’ भनेर आत्मालोचना गरेको थाहा छ ।
३३ वर्षअघि बनेको घरमै बास
गाउँमा आपाले ०४९ मा बनाउनुभएको घर छ । घरचिन्ता बस्दा मुन्दुमी (धामी) ले राम्रै छ भन्थे । गाउँ पुग्दा किरातीपाराको पुरानो घरमै बस्छु । त्यसबाहेक अंशमा परेको खेतबारी छ । आफ्नै पौरखले भक्तपुरको ताथलीमा एउटा घडेरी किनेको छु ।

विश्वास लाग्दैन
मेरो राशी तुला हो । ग्रहदशामा विश्वास गर्दिनँ । ग्रहशान्ति गराउँदिनँ । ग्रह र नक्षत्रको फलप्रति विश्वास लाग्दैन ।
अहँ छैन
कपालमा केही लगाउँदिनँ । आजसम्म फेसियल गरेको छुइनँ । अनुहारमा क्रिम पनि लगाउँदिनँ । सेन्ट छर्कने बानी छैन ।
तर, थाहा छैन
हामीले प्रेम बिहे गरेका हौं । तर, साह्रै प्रेम परेको थाहा छैन ।
त्यो काम नेताको
नेपाललाई यस्तै बनाउन पाए हुने भन्नलाई म राजनीतिक नेता होइन । सानोमा ‘होलटाइमर’ भएर राजनीति गरे पनि हिजोआज छैन । मेरो गाउँ (बोहेम्मा) को बीच भएर सडक बनेको छ । त्यसको दुवैपट्टि बिरुवा रोपेर हरियाली बनाउन मन छ ।
स्वाभाविक होस्
जन्मेपछि मर्नै पर्छ । यो नियमित प्रक्रिया हो । नियमित प्रक्रिया स्वीकार्नुपर्छ । उदयपुरको कटारीबाट भारी बोकेर घर फर्कंदा सोरुङखोला दोभानबाट निभुवापाटी पस्नै लाग्दा सुनकोसीमा पानीको बहाव बढेपछि बाटो बन्द भयो । भारीसँगै कोसीमाथिको पाखा चहार्दा चिप्लें । मरें होला भनेकै बेला माइला दाइले टेकुवाले टेका दिएपछि बाँचेको थिएँ । मृत्यु स्वाभाविक होस् भन्ने लोभ छ ।



