दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाद्वारा सुत्केरीको उद्धार



दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले तीन दिनकी सुत्केरीलाई उद्धार गर्न एम्बुलेन्स ओखलढुंगा पठाएको छ । तीन दिनअघि सुत्केरी भई मिसन अस्पताल ओखलढुंगाबाट डिस्चार्ज भए पनि घर फर्कन नसकेकी ज्ञानकुमारी घिमिरेलाई उद्धार गर्न एम्बुलेन्स ओखलढुंगा पठाइएको हो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले खोटाङनिवासी सुत्केरी घिमिरेलाई घरसम्म ल्याउन नगरले एम्बुलेन्स पठाएको नगरप्रमुख दीपनारायण रिजालले जानकारी गराए । शनिबारको बैठकले निर्णय गरेको २० मिनेटमै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका पीडितको उद्धारमा लागेको हो ।

पाठेघरको शल्यक्रिया गरी बिचल्लीमा परेकी दिक्तेल रूपाकोट नगरपालिका–८ बुवालुङकी भीमा राउत र उनको परिवारलाई नगरले सहयोग गरेको छ । उपचारक्रममा काठमाडौंमा रहेको राउत परिवारको बसाइ अवधिभर नगरले खाद्यान्न व्यवस्था मिलाइदिएको छ ।

यसैगरी, काठमाडौंको वीर अस्पतालमा मुटुको शल्यक्रिया गरी डिस्चार्ज भएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका तुले कामी र उनको परिवारलाई काठमाडौंको बसाइ अवधिभरिका लागि खाद्यान्न व्यवस्था मिलाइएको नगर उपप्रमुख वीणादेवी राईले जानकारी गराइन् ।

प्रतिक्रिया दिनुहोस्