मेयर राईद्वारा ताराखसे किरातेश्वर महादेव गुफामा किराती विधिअनुसार पूजाआजा


दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख बिमला राईले ताराखसे किरातेश्वर महादेव गुफा मन्दिरमा पूजाआजा गरेकी छन् । नगरप्रमुख राईले गुफामा रहेको तीन चुलामा केशरी चढाउँदै बत्ती बालेर पूजाआजा गरेकी थिइन् ।

हलेसी तुवाचुङ नगरपालिकाका नगर उपप्रमुख रमेश राउतले समेत नगरप्रमुख राईले जस्तै किराती विधिअनुसार पूजाआजा गरेका थिए ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम र वडा नम्बर ६ मंगलटारको सिमानामा रहेको मन्दिरमा लक्ष्मी दाहालले रुद्री प्रार्थना र शिवजी र पार्वतीलाई पहिरन गरेको ताराखसे किरातेश्वर महादेव गुफा मन्दिर समिति अध्यक्ष अगिन्द्रकुमार राईले जानकारी गराए ।

ताराखसे ज्ञान निर्माण गर्ने केन्द्र हो । ‘धामी (नछुङ)हरू खास–खास समयमा ताराखसे पुगेर ध्यान गर्थे । गुफा बस्थे,’ स्थानीय धामीहरू भन्छन्, ‘उनीहरू त्यहाँ गएर चिन्तन गर्थे । मनन गर्थे ।’

ताराखसे पितृ बसोवास स्थल पनि हो । त्यसैले ताराखसेलाई ज्ञान निर्माण गर्ने केन्द्रका रूपमा किरात राई समुदायले विशेष महत्वसाथ श्रद्धा गर्छन् । हलेसी तुवाचुङ नगरपालिकाभित्र रहेका गुफाहरू त्यसैका प्रतीक हुन् । नगरपालिकाभित्र रहेका गुफाहरूमध्ये ताराखसेमा रहेको ताराखसे किरातेश्वर महादेव गुफा पनि एक हुन् । उहिले स्थानीय धामीहरू ध्यान गर्ने, बस्ने गुफाबारे पछिल्लो समय चर्चा–परिचर्चा हुन थालेको छ ।

भित्र प्रवेश गरेपछि तीन फरक–फरक गुफा रहेका छन् । एउटै गुफाभित्र तीन फरक–फरक गुफा देख्दा पवन चाम्लिङ राई तीनछक परे । हलेसी तुवाचुङ नगरपालिका–५, साल्तेम्मानिवासी राईले एउटा गुफाभित्र तीन गुफा देख्दामात्रै होइन, गुफाभित्रका एउटा शिलामा तीन चुलाको दुरुस्तै आकृति देख्दा झन् अचम्मित भए ।

ताराखसे किरातेश्वर महादेव गुफा पुग्नेलाई गुफाभित्र पनि गुफा नै गुफा देख्दा अचम्म लाग्नु स्वाभाविकै हो । त्यतिमात्रै होइन, गुफाभित्र विभिन्न स्वरूपका आकृति देख्नेले झन् अचम्म मान्छन् । ‘गुफाभित्र किरातेश्वर महादेव, गोमन साँपले घेरेको मूर्तिको आकृति देख्न सकिन्छ,’ ताराखसे किरातेश्वर महादेव गुफा मन्दिर संरक्षण समिति अध्यक्ष राईले भने, ‘मानिस, कछुवा, हात्तीको सुँड, मादललगायतका आकृतिसमेत देखिन्छन् ।’

संवत् २०७० पछि ताराखसे किरातेश्वर महादेव गुफाको चर्चा बाक्लिएको छ । ‘पहिल्यैदेखि अस्तित्वमा रहे पनि गुफाबारे स्थानीयमात्रै जानकार थिए,’ उनको भनाइ छ, ‘हिजोआज दैनिक ५० जनासम्मले गुफा अवलोकन, पूजापाठ र ध्यान गर्छन् ।’

हलेसी आइपुगेको बौद्ध धर्मावलम्बी यहाँ आउन लालायित हुन्छन् । सोलुखुम्बुबाट आएका एक लामाले यहाँ तीन महिनासम्म ध्यान गरेको समितिले जनाएको छ । शैक्षिक भ्रमणका लागि हलेसी आइपुगेका विद्यार्थीसमेत ताराखसे किरातेश्वर महादेव गुफा आएर जिज्ञासुपारामा अवलोकन गर्ने गर्छन् ।

गुफाअघिल्तिर प्रवेशद्वार निर्माण गरिएको छ । प्रवेशद्वारमात्रै होइन, आगन्तुकलाई आवत–जावत सहज होस् भनेर सिँढी निर्माण गरिएका छन् । सिँढी पार गरेपछि तीनतिर जाने बाटा भेटिन्छन् । तीनतिर जाँदा तीन फरक–फरक गुफा पुग्न सकिन्छ ।

ताराखसे–नक्कले आहाल–धारापानी–कोटगैरा सामुदायिक वन (साबिक दुर्छिम गाउँ विकास समिति वडा नम्बर ७) र भोक्टेनी सामुदायिक वन (साबिक मंगलटार गाउँ विकास समिति ७, ८, ९) को सिमानामा रहेको गुफा पर्यटकीय स्थल बन्दै गएको छ ।

ज्ञान निर्माण गर्ने केन्द्रका रूपमा स्थापित ताराखसे र यहाँ रहेको ताराखसे किरातेश्वर महादेव गुफा आन्तरिक तथा बाह्य पर्यटकको रोज्जा पर्यटकीय स्थल बन्दै जानु निश्चय नै सुखद कुरा हो ।

प्रतिक्रिया दिनुहोस्