दुर्छिम (खोटाङ) । स्वास्थ्यचौकी दुर्छिमको क्वारेन्टाइनमा रहेका नौजना आइतबार घर फर्केका छन् ।
हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इवन राई, नगर उपप्रमुख बिमला राई, प्रमुख प्रशासकीय अधिकृत राजेशबावु घिमिरे र इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक दिनेशप्रसाद खरेलको रोहबरमा उनीहरूलाई ‘डिस्चार्ज’ गरिएको हो ।
क्वारेन्टाइन्मा रहेका नौजना बुझाउनेमा स्वास्थ्यचौकी दुर्छिम, प्रमुख रामेश्वरप्रसाद चौधरी र बुझ्नेमा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका निमित्त वडाध्यक्ष फलामसिं राईले हस्ताक्षर गरेका छन् ।
१४ दिन ‘क्वारेन्टाइन’मा बसेर आइतबार घर फर्कनेमा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम हैदेका रुद्र सार्की (६२), रामलक्षी सार्की (६०), लालकुमार सार्की (२९), दलबहादुर सार्की (२६), बिन्दा नेपाली (२३), विष्णुमाया सार्की (१८), बिमला सार्की (१५) र दिप्सन नेपाली (३) रहेका छन् ।
यसैगरी, ताप्ली गाउँपालिका–४ ठानागाउँ उदयपुरका ३९ वर्षीय कीर्तिमान नेपालीसमेत आइतबार ‘डिस्चार्ज’ भएका हुन् ।
नेपालीको स्वाब परीक्षणक्रममा कोरोना भाइरसको रिपोर्ट ‘नेगेटिभ’ देखिएपछि नेपालीसहित नौजनालाई आइतबार ‘डिस्चार्ज’ गरिएको नगरप्रमुख राईले बताए ।
भारतको सिलीगुढीबाट काँकडभिट्टा हुँदै घर फर्केका ताप्ली गाउँपालिका–४ ठानागाउँ उदयपुरका नेपाली छोरी–ज्वाईं लालकुमार सार्कीको घर हैदेमा आश्रय लिएको थाहा पाएपछि आश्रय दिने परिवारका सबैलाई नगर प्रमुख राईको निर्देशनमा २०७६ चैत २३ गतेदेखि क्वारेन्टाइनमा राखिएको थियो ।
भारतबाट फर्केका कीर्तिमान नेपालीलाई उदयपुरको कटारी ‘आइसोलेसन’मा राखिएको थियो । कटारी ‘आइसोलेसन’बाट तेस्रो दिन भागेका उनी छोरी–ज्वाईंको घर हैदेमा लुकीछिपी बसिरहेका थिए ।
१४ दिन क्वारेन्टाइनमा रहँदाको सम्पूर्ण खर्च नगरपालिकाले बेहोरेको नगरप्रमुख राईले जानकारी गराए ।
स्वास्थ्यचौकी दुर्छिमको नयाँ भवनको माथिल्लो तलामा आठजनालाई एउटै कोठा र कीर्तिमान नेपालीलाई छुट्टै राखिएको यो । उदयपुरका नेपाली लुकीछिपी गत चैत २१ गते हैदे आइपुगेका थिए ।