४६ तस्बिरमा तुवाचुङ


तुवाचुङ किरात राई समुदायको सम्मानित मातृथलो हो । तुवाचुङलाई सत्य, शक्ति, सभ्यता, ज्ञान र सीपको पवित्र थलो मानिन्छ । ज्ञान र सीप विकासको थलो भएकाले तुवाचुङ पुग्ने जोकोहीले मातृहरूसँग ज्ञान माग्ने गर्छन् । त्यतिमात्रै होइन, मातृहरूको श्रद्धा गर्दै बुद्धि–विवेक माग्नसमेत बिर्संदैनन् ।

किरात राई समुदायले तुवाचुङलाई घरभित्रको चुलाजत्तिकै पवित्र मान्छन् । यसलाई अपवित्र बनाए आफूहरूलाई दोष–दशा लाग्छ भन्ने उनीहरूको विश्वास छ । तुवाचुङ किरात राई समुदायको सभ्यताको उद्गम थलो हो ।

तुवाचुङ एक, नाम अनेक छन् । तुवाचुङलाई मुन्दुममा ‘तुवातिप् तिप्लोखा’ भनिन्छ । मुन्दुमी मिथकअनुसार तोंयामा र खियामा दिदीबहिनी हुन् । दिदीबहिनी भेट्ने ठाउँ भएकाले तुवाचुङलाई ‘तुवातिप् तिप्लोखा’ भनिएको हो ।

समुद्र सतहदेखि १,८०० मिटर उचाइमा रहेको तुवाचुङ भौगोलिक हिसाबले अत्यन्तै आकर्षक छ । यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्य लोभलाग्दो देखिन्छ । हिउँद होस् या बर्खा आकाश खुलेका दिन उत्तरतिर हेर्दा चाँदीझैं टल्केका हिमाल आँखैअगाडि देखिन्छन् । तुँवालो नलागेको रात सप्तकोसीको भीमनगर पुलसम्म देख्न सकिन्छ । एकैठाउँ बसेर हिमाल, पहाड र तराई देखिँदा भन्न कर लाग्छ, ‘किरात मातृहरू तोंयामा र खियामाले तान बुन्ने उपयुक्त थलो तुवाचुङ त्यसै रोजेका होइनन् ।’

‘तुवाचुङ घुम्न पाउँदा प्रेरणा लिएँ,’ तुवाचुङमा भेटिएका सञ्चारकर्मी राजु स्याङ्तानले खुसी व्यक्त गरे, ‘आफूसँग सम्बन्धित ठाउँ तामाङ समुदायबाट संरक्षण कमै भएका छन् । तुवाचुङ देखेपछि आफूसँग सम्बन्धित ऐतिहासिक तथा सांस्कृतिक स्थल तामाङ समुदायले संरक्षण गर्नुपर्ने सवक सिकायो ।’

प्रतिक्रिया दिनुहोस्