जनयुद्धदेखि जनप्रतिनिधिसम्म ‘सानो वर्षमान’ को राजनीतिक यात्रा



माओवादी आन्दोलनबाट स्थापित सशक्त योद्धाको नाम हो– चइन्द्र राई । जुझारु राजनीतिक नेता राईको बाल्यकाल अभावै–अभावमा बित्यो । बाल्यकाल असाध्यै कष्टप्रद रहे पनि प्रतिकूलतामा अनुकूलता खोज्नुपर्छ भन्ने चेत आएपछि उनले क्रान्तिकारी सपना देख्न थाले ।

महेन्द्रोद्वय माध्यमिक विद्यालय हलेसी खोटाङबाट शैक्षिक जस्केलो उघारे । ०५७ मा सोही माविको अनेरास्ववियु (क्रान्तिकारी) इकाइ अध्यक्षको भूमिका सम्हाले । विद्यार्थी राजनीति प्रारम्भ गरेकै वर्ष अनेरास्ववियु (क्रान्तिकारी) को आठौं जिल्ला सम्मेलनमा सहभागी बन्ने अवसर पाए । सो सम्मेलनले उनको क्रान्तिकारी यात्रालाई औपचारिक सुरुवात गरायो । उनले ०५८ मा एसएलसी उत्तीर्ण गरे ।

आफूसम्बद्ध पार्टीले थालेको सशस्त्र जनयुद्धको रापताप गाउँ–गाउँमा परेकै थियो । तात्कालिक शाही सेनाले उनको गाउँ (तल्लो कात्तिके) मा समेत ‘सर्च अपरेसन’ थाल्यो । घरमै बसेर पार्टीलाई सघाउने अवस्था रहेन । अन्ततः ०५९ पुस १४ गते पूर्णकालीन बनेर उनी सशस्त्र जनयुद्धमा होमिए । ०६० वैशाखमा जिल्लाकै विजयखर्कमा सम्पन्न अनेरास्ववियु (क्रान्तिकारी) को नवौं जिल्ला सम्मेलनले उनलाई जिल्ला सचिवको जिम्मेवारी दियो ।

रातभरि खानीडाँडा विमानस्थल (खोटाङ) मा माइन बिछ्याएर भोलिपल्ट बिहानको खाना खान भोजपुरको घोडेटार पुग्नुपर्ने बाध्यता छँदै थियो । त्यहाँ पनि युद्ध भयो । सेनाले हेलिकोप्टरबाट हानेको एचएमजी गोलीबाट बालबाल बाँचेर नाफाको जिन्दगी बाँच्न सफल भए । सिरहा, बन्दीपुर, भोजपुर सदरमुकामको रिपिटर टावर मोर्चा र घोडेटार मोर्चामा लड्दालड्दै पार्टीले उनलाई ६ नम्बर एरिया सदस्य (एसीएम) का रूपमा अघि सार्यो ।

०६१ मा उनी अखिल क्रान्तिकारी जिल्ला उपाध्यक्ष भए । ०६२ माघमा केन्द्रीय समितिबाट मनोनीत अखिल क्रान्तिकारी केन्द्रीय सदस्य बन्न सफल भए । त्यसपछि १७औं राष्ट्रिय सम्मेलनले उनलाई पुनः केन्द्रीय सदस्यमा निर्वाचित गर्यो ।

नेता राईले दस जोड दुईसम्मको अध्ययन पार लगाएका छन् । औपचारिक शिक्षा दस जोड दुईसम्मको मात्रै भए पनि उनले हासिल गरेको अनुभव कुनै पनि विश्वविद्यालयको प्रमाणपत्रभन्दा कमको छैन । उनले क्रान्तिको मैदान, जनयुद्धको विघ्नबाधा, बम, बारुद र गोलीको सिमाना, विचारको मञ्च लिएर नेतृत्वको प्रयोगशालामा आफूलाई अब्बल सिद्ध गरिसकेका छन् ।

०७४ को स्थानीय तह निर्वाचनमा उनी हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानको वडाध्यक्षमा निर्वाचित भए । सो विजय उदाहरणीय प्रतिनिधिमूलक भूमिकाको यात्रा थियो । जनयुद्धको भूमिगत सुरुङदेखि लोकतान्त्रिक चौतारीसम्मको यात्राको निरन्तरता मानिन्थ्यो ।

सानो वर्षमानको उपमा

माओवादी सशस्त्र जनयुद्ध हाँक्ने रोल्पाली जननेता वर्षमान पुन ‘अनन्त’ जसरी विद्यार्थी राजनीतिबाट माओवादी आन्दोलनमा पूर्णकालीन भएर होमिएझैं चइन्द्र राई पनि सोही मार्गका समानकर्मी सहयोद्धा थिए । पुनले विद्यार्थी राजनीतिक संघर्षबाट सुरु गरेर जनयुद्धको मोर्चामा नेतृत्व सम्हाले भने चइन्द्र राईले पनि विद्यार्थी संगठन, जनमुक्ति अभियान र जनयुद्धको विभिन्न चरणमा भूमिगत भएर युद्ध लडिरहे । अनन्तझैं चइन्द्र पनि जनता र माटोसँग सिधै जोडिएका जननेता हुन् ।

ठूलो वर्षमान र सानो वर्षमानको समानता केवल संगठनात्मक यात्रामा मात्रै होइन, विचार, त्याग र प्रतिबद्धताको स्तरमा समेत पाइन्छ । एकले राष्ट्रियस्तरको भूमिका सम्हाल्दा अर्काले जिल्लास्तरमा जनयुद्धको मेरुदण्ड बने । ठूलो वर्षमानको नेतृत्व गुण र जनतासँगको सामीप्यताजस्तो सानो वर्षमानमा पनि ‘बगालबाट युद्धमा, बारीबाट विचारमा’ भन्ने स्वभाव पाइन्छ ।
नेता चइन्द्र राईको जीवन केवल राजनीतिक कार्यकर्ताको जीवनमात्रै नभएर जनगाथा हो । जहाँ माटोको सुगन्ध भेटिन्छ । त्यहाँ बारुदको धुवाँ देखिन्छ । विचारको ताप पाइन्छ । जनताप्रतिको अथाह समर्पण छ ।

जसरी ठुलो वर्षमान अनुशासन र क्रान्तिको पर्याय बने, सानो वर्षमान पनि जिल्लास्तरको जननेतृत्वमा एक अपराजेय आदर्श नेता बनेका छन् । यस्ता व्यक्तित्व नै नेपाली माटोका साँच्चिकै क्रान्तिकारी बीउ हुन्, जसले भोलिको पुस्तालाई प्रतिरोध, विचार र समर्पणको पाठ सिकाइरहनेछन् ।

संवत् २०३९ असोज १८ गते निम्नवर्गीय किसान परिवारमा चइन्द्र राई जन्मेका थिए । हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थान, तल्लो कात्तिके खोटाङनिवासी अनसेर राई र आमा बभनसरी राईका कोखबाट राईको जन्म भएको थियो । अनसेरले दुई बिहे गरेका थिए । नेता राई कान्छी आमापट्टिका हुन् । आफ्नी आमापट्टि दुई दाजुभाइ र एक बहिनी छन् भने जेठी आमाबाट तीन दाजुभाइ छन् ।

प्रतिक्रिया दिनुहोस्