कोरोनाबाट फेरि पूर्वगोरखा सैनिकको निधन



लन्डन । यो साता बेलायतमा प्रायः दिनको एकजना नेपालीको ज्यान कोरोनाले लिएको छ । गत सोमबार फेरि एक पूर्वगोरखा सैनिकको ज्यान गएको छ ।

लन्डन सहरदेखि बाहिर रेडिङ भन्ने ठाउँमा बस्दै आएका ६५ वर्षीय पूर्वगोरखा सैनिक लक्षिणबहादुर गुरुङको गत सोमबार बिहान ७ बजे निधन भएको हो ।

उपचारक्रममा रेडिङको अस्पतालमा मृत्यु भएको समाजसेवी कमल गुरुङले जानकारी गराएका छन् । गत दुई सातादेखि अस्पतालमा राखिएका गुरुङलाई पछिल्लो समय भेन्टिलेटरमा राखिएको थियो ।

चिकित्सकले अब ठीक हुँदै छन् भनेर भेन्टिलेटरबाट बाहिर राख्ने तयारी हुँदै गर्दा गुरुङ ज्यान गएको कमल गुरुङको भनाइ छ ।

कास्कीको घान्द्रुक पुख्र्यौली घर भएका उनको पछिल्लो समय पोखराको दीपमा पनि घर थियो । घान्द्रुक समाज रेडिङमा समेत उनी केही वर्ष पहिला अध्यक्ष थिए । कमलका अनुसार धुमपान र मद्यपान केही नगर्ने उनको स्वास्थ्यसमेत निकै राम्रो थियो । अहिलेसम्म सार्वजनिक भएअनुसार कोरोनाकै कारण बेलायतमा निधन हुने नेपाली नौ पुगेका छन् । तीमध्ये ६ जना पूर्वगोरखा सैनिक छन् ।

प्रतिक्रिया दिनुहोस्