मुन्दुम गाउँदामात्रै मापसे



‘नेपाल प्रकृतिले दिएको सुन्दर देश हो,’ दी भ्वाइस अफ नेपाली पिपुलका अभियन्ता मविन्द्र चाम्लिङको बुझाइ छ, ‘यसलाई प्रविधि र जाँगरसँग इमानदारीसाथ जोड्न सके मलुक मजबुत बनाउन कति पनि लाग्दैन ।’

राजनीतिक नेता ‘वेल एजुकेटेड’ हुनैपर्छ । दी भ्वाइस अफ नेपाली पिपुलका अभियन्ता चाम्लिङले मानवशास्त्रमा स्नातकोत्तर गरेका छन् । अलिकति गीतकार, अलिकति गायक, अलिकति शिक्षक, अलिकति मुन्दुमी भएर टुक्रिएर बाँचेका उनी असल मानिसका ‘कम्प्लिट प्याकेज’ हुन् ।

गफाडीहरूले नेतृत्व गरेकै कारण देश पछि परेको उनको ठम्याइ छ । गफ देशको सरुवा रोग हो भन्ने मान्यता राख्ने दी भ्वाइस अफ नेपाली पिपुलका अभियन्ता मविन्द्र चाम्लिङसँग तुवाचुङ साप्ताहिकका लागि दीपेन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश :

चामलको भात तरकारीबिनै

‘यो’ वा ‘त्यो’ खानेकुरा भए हुन्थ्यो भन्ने लोभ छैन । दुुर्छिम, खोटाङमा धान धेरै फल्दैन । तसर्थ, चामलको भात भेट्दा तरकारीबिनै खाइन्थ्यो । त्यसको स्वाद जिब्रोमै झुन्डिन्थ्यो । त्यसबेला कोदाको ढिँडोे मन पथ्र्यो । अहिले त स्वास्थ्यचेतले झन् मन पर्छ । गहतको फाँडो (एकप्रकारको परिकार) खानसम्म खाइयो । परिवार र साथीभाइसँग रेष्टुरेन्ट पुगिहाल्दा गाउँकै मकैभटमास, गुन्द्रुकको अचार, आलुदम र फापरको रोटी सम्झन्छु ।

आमा बाँचुन्जेल खाँडको कपडा ‘फ्री’

मलाई खाँडीको दौरासुरुवाल, दौरासँग रङ मिल्ने कोट, ढाकाटोपी र जुत्ता असाध्यै मन पर्छ । सर्ट–पाइन्ट पनि मन नपर्ने होइन । कपडामा खासै खर्च हुँदैन । आमा बाँचुन्जेल खाँडी कपडा किन्न पर्दैन । त्यसबाहेक नातेदार र आफन्तले दिएकै कपडाले पुुग्छ । सेतो, नीलो रङका कपडा रोजाइमा पर्छन् । तर, जुनकुनै रङका कपडा लगाउँदै आएको छु ।

सिलाएकै कपडा लगाउन मन पर्छ । पूर्वराज्यमन्त्री स्व. डिल्लीसेर राई र पूर्वजिल्ला उपसभापति नयनकुमार राईको समेत चित्त बुझ्नेगरी कपडा सिलाउने काले दमाई नामले परिचित भक्तबहादुर दर्जीकहाँ दौरासुरुवाल सिलाउँछुु । सर्ट–पाइन्ट सिलाउन परे हलेसी टेर्लस चाबहिल काठमाडौं पुग्छु । उपहारस्वरूप पाएको ‘रेडिमेड’ कपडा पनि लगाएकै हुन्छु । ढाकाटोपी लगाउन छुट्दैन । कपडाको ब्रान्डबारे त्यति जानकार छुइनँ । अबउप्रान्त नेपाली उत्पादनको कपडा लगाउने विचार छ ।

सातामा एक दिन उपवास

दैनिकजसो बिहान–बिहान व्यायाम गर्छु । योगाभ्यास छँदै छ । ‘डाइटिङ’ गर्दिनँ । तर, चिन्ता (नछुङ/धामी बस्ने दिन) को दिन २४ घन्टामा मात्र खाना खान्छु । सातामा एक दिन फलफूल, जुस र पानीमात्र खाएर व्रत बस्छु । ‘मर्निङ’ होइन ‘इभिनिङ’ वाक गर्छु । यत्ति गरेपछि फिटनेससम्बन्धी सबै काम पूरा होलान् ।

मानवशास्त्रमा स्नातकोत्तर

मानवशास्त्रमा स्नातकोत्तर पूरा गरेको छु । हिजोआज विभिन्न देशको शासन र राज्य प्रणालीबारे अध्ययन गर्दै छु । मानवशास्त्रीय, समाजशास्त्रीय, आध्यात्मिक, परिवर्तन र समृद्धिसँग सम्बन्धित किताब अध्ययन गर्न जाँगर चल्छ । हर्क गुरुङ, डोरबहादुर विष्ट, डम्बर चेम्जोङ, सुरेश ढकाल, जनक राई, जीवनमणि पौडेल, मनबहादुर खत्री, पासाङ याङ्जी, पारिजात, भूपी शेरचन, सीके लाल, खगेन्द्र संग्रौला, विजयकुमार पाण्डे, रमेश राई, भक्त राई, भोगीराज चाम्लिङ, राजन मुकारुङ, आहुति, जीवन विश्वकर्मा, राजु स्याङ्तान र विदेशीमा बट्लर, टाइलर, मास्केरिनेक, सिड्कीलाई पढ्छु ।
‘आपाको अर्ती’ नामक किताब लेख्दै छु । पहिले पढ्ने परिस्थिति थिएन । किताब किन्ने हैसियत थिएन । पछिल्लो समय किताब अलि–अलि जम्मा गरेको छु । प्रायः अनलाइनमै हेर्छु ।

मनाङ, मुस्ताङ घुम्ने रहर

घुमफिरमा असाध्यै रुचि छ । नेपालको ४० जिल्ला टेकेको छु । घुमेकामध्ये इलाम मन पर्यो । मनाङ र मुस्ताङ घुम्ने रहर छ । चीन, भारत, अमेरिका र सिंगापुर पुग्ने सपना साँचेको छु ।

फुर्सद पाउनसाथ गुनगुनाउने

साथीभाइसँगको सम्बन्ध ननीकरण भइरहोस् भनेर बेफुर्सदबाट भाग्न चिया–चिन्तन गर्न छाडेको छैन । आज असाध्यै थकाइ लाग्यो भनेर आराम गर्ने बानी छैन । फुर्सदिलो हुँदा गुनगुनाउँछु । आत्मिक चिन्तन गर्छु । खास–खास अवस्थामा पारिवारिक सरसल्लाह भइरहन्छ । परिवारसहित चलचित्र हेर्न नगए पनि रेष्टुरेन्टचाहिँ पुग्छु ।

क्रिकेटमा नेपालको प्रगति

फुटबल र क्रिकेट हेर्न जाँगर चल्छ । तर, आफूले भने कुनै खेल खेलिनँ । पछिल्लोपटक प्रीति राई, एन्जिला तुम्बापो र सावित्रा भण्डारी ‘साम्बा’को खेल मन पर्छ । भारतीय खेलाडीले खेलेको हेरेपछि क्रिकेट मन पर्न थालेको हो । नेपालले समेत क्रिकेटमा राम्रै गरिरहेको छ ।

एआईसँग बाक्लै संवाद

पहिलोपटक आफ्नै कमाइले ९० दिराममा नोकियाको सादा मोबाइल सेट किनेको थिएँ । त्यतिबेला १ दिरामको नेपाली १७ रुपैयाँ हुन्थ्यो । पछि २५० दिराममा सामसुङ किनें । त्यसपछि मोबाइल किनेको छैन । हङकङबाट जेठान (श्रीमतीको दाजु) एनबी राईले ल्याइदिनुभएको हुवाई, सामसुङ ग्यालेक्सी र अनर चलाइरहेको छु । फेसबुक, टिकटक, मोबाइल बैंकिङ, ह्वाटसअप, युट्युब आदि मोबाइलका एप्लिकेसन चलाउँछु । मोबाइलमा गेम नखेले नि एआईसँग कुराकानी गर्छु ।

सामाजिक सञ्जालले टीभी विस्थापित

मसँग टेलिभिजन छैन । मोबाइल र इन्टरनेट प्रयोग गरेपछि टीभी हेर्नेको कमी भइगयो नि ।

सल्लाह मिलेमात्रै चलचित्र हेर्ने

पछिल्लो समय चलचित्र ‘एन्जिला’ हेरें । साथीभाइसँग सल्लाह मिलेमात्रै चलचित्र हेर्छु । चलचित्र राम्रो छ भनिएमा मोबाइलमै हेर्छु । हेरेका चलचित्रमध्ये पीके, परदेशी, नुमाफुङ, गाउँ आएको बाटो, जारी मन पर्यो । दयाहाङ राई, आमीर खान, रजनी गुरुङ, मिरुना मगरको अभिनय जीवन्त लाग्छ ।

सकारात्मक सोच्दा स्वस्थ

ज्यानलाई सन्चै छ । दीर्घरोगले समातेको छैन । एकपटक उच्च रक्तचाप अलि बढेको थियो । अहिले ठीक छ । पाँच वर्षपहिले दुईपटक ‘होलबडी चेकअप’ गराएको थिएँ । खानपानमा ध्यान र शारीरिक श्रम गरेमा स्वस्थ रहन सकिन्छ । समयमा खाने, समयमा सुत्ने, महत्वाकांक्षा धेरै नराख्ने र सधैं सकारात्मक सोच्दा स्वस्थ रहन सकिन्छ ।

बौद्धिक बनाउने प्रयत्न

भाषण गर्दा भन्न खोजेको विषय प्रस्ट पार्न सक्छु । नजानिँदोपाराले के भन्दा खेरी, चाहिँ भन्ने थेगो प्रयोग गर्दोरहेछु । भाषण बौद्धिक बनाउने कोसिस गर्छु । जनमानसको माहोल र विषयवस्तु हेरेर छोटो भाषण गर्छु । कार्यक्रम हेरेर तयारी गर्छु ।

मुन्दुम गाउँदा मापसे

मुन्दुम गाउँदा र विशेष कार्यक्रममा मादक पदार्थ लिन्छु । मात लाग्नेगरी पिउँदिनँ ।

गीत गाउन आउँछ

गीत–संगीत मज्जाले सुन्छु । नारायण गोपाल, राजेशपायल राई, शम्भु राई, जितेन राई, पार्वती राई, सत्यकला राई, ज्योति मगर, प्रकाश सपुत, पशुपति शर्मा, बबिना किराती, निर्मला घिसिङ, राजु परियार, शिव परियार, झुमा लिम्बूको आवाज कर्णप्रिय लाग्छ । चलेछ बतास सुस्तरी, उराठै लाग्छ नि, मलाई जापान पनि यहीं, अल्झेछ क्यारे आदि गीत गुनगुनाउँछु । गीत गाउन आउँछ । मेरो एक/दुई गीत रेर्कड भएको छ ।

खेलाडी ठानेर प्रहरीले कर्यापझ्याप

जिन्दगी प्रयोगशाला हो । जानजानमा भुल गरेजस्तो लाग्दैन । गरिहाले पनि ज्ञान पाइन्छ भन्ने बुझाइ छ । स्कुलमा दुईपटक कुटाइ खाएको बिर्सेको छैन । क्यारेमबोर्ड खेलाडी भाग्दा म खेलस्थलनजिक डिलमा बसिरहेको थिएँ । खेलाडी ठानेर प्रहरीले मलाई समाते ।

८५ लाखमा ठडियो घर

पैतृक सम्पत्तिसहित ऋणपान गरेर आफ्नै जन्मभूमि (दुर्छिम, छापडाँडा, खोटाङ) मा पक्की घर बनाएको छु । जग्गा र १७ लाख रुपैयाँ आपाआमाले दिनुभएको थियो । मुन्दुमी हिसाबले घरको अवस्था ठिकै छ । किरात राई समुदायमा वास्तुशास्त्र देखाउने चलन हुँदैन । तर, केही नमिलेजस्तो लागेको छ । साहुको ब्याजसमेत हिसाब गर्दा ८५ लाख रुपैयाँमा घर ठडियो । फिनिसिङचाहिँ बाँकी छ ।

४५ हजार ५०० को घडी

मेरो राशी सिंह हो । दशा सामान्य चलिरहेको छ । ग्रहफलको विश्वास लाग्छ । हातमा मणि माणिक्य नलगाए पनि म आफैंले ४५ हजार ५०० मा किनेको घडी लगाउँछु ।

आयुर्वेदिक तेलको सहारा

कपालमा कहिलेकाहीं आयुर्वेदिक तेल लगाउँछु । कहिले रातो त कहिले कालोकाहीं कालो मेहेन्दी लगाउँछु ।

श्रीमतीजीको प्रस्तावमा प्रेमबिहे

हामीले प्रेम बिहे गरेका हौं । श्रीमतीजीको प्रस्तावमा प्रेमको बाटो तय भयो ।

गफाडीहरूले गडबडी गरेको गर्यै

नेपाल प्रकृतिले दिएको सुन्दर देश हो । हामीले प्रविधि र जाँगरसँग इमानदारीसाथ जोड्न सके राम्रो हुन्छ । गफाडीहरूले नेतृत्व गरेका कारण देश पछि परेको हो । गफ देशको सरुवा रोग हो । घुम्न विदेश गए पनि वैदेशिक रोजगारीका लागि जाने सोंच छैन ।

समाधि जाँदाजाँदै भए जाती

मृत्यु शाश्वत प्रक्रिया हो । अध्यात्मलाई धेर–थोर बुझेकाले मृत्युुदेखि डर लाग्दैन । वैदेशिक रोजगारीमा रहँदा काम गर्ने सिलसिलामा मेसिनमा फस्दा बालबालले बाँचेको हुँ । मेरो अन्तिम इच्छा छ, ‘कसैलाई दुःख नदिई मर्न पाइयोस् । समाधि जाँदाजाँदै भए झन् जाती !’

प्रतिक्रिया दिनुहोस्