माओवादी नेताले २० हजार खर्चिंदा पनि पत्तो लागेन अनार मर्नुका कारण



बोहेम्मा (दुर्छिम) । ‘कोरोना कहरमा काठमाडौंदेखि गाउँ (दुर्छिम, भन्ज्याङ) फर्कें,’ माओवादी नेता अमेम्बर राईले सुनाए, ‘मैले रोपेको अनारको बिरुवमा समस्या देखियो भनेर हलेसी तुवाचुङ नगरपालिकाको कृषि शाखा कार्यालयसम्बद्धलाई कारण पत्ता लगाउन अनुरोध गरें ।’

केही दिनपछि कृषि शाखाले एक महिला कर्मचारीलाई नेता राईकहाँ पठायो । कर्मचारीले अमेम्बर राईको घर यही होइन भन्दै अमेम्बरलाई नै सोधेछन् । ‘तपाईंको अनारको बिरुवामा समस्या देखापरेकोसम्बन्धमा जानकारी लिन कृषि शाखाले मलाई पठाएको हो,’ त्यतिबेलाको प्रसंग जोड्दै उनले जानकारी गराए, ‘मैले रोपेको अनारको बिरुवामा देखिएको समस्या समाधान हुने कुरामा म ढुक्क थिएँ ।’

परीक्षणका निम्ति १५ बोट अनार रोपिएको थियो । कर्मचारीलाई अनारका बिरुवा देखाइयो । हुर्कंदै गरेको अनारका बिरुवा मर्दै गएका थिए । उनले कर्मचारीलाई समाधानको उपाय सोधे । ‘प्रश्न गरेपछि ती कर्मचारी अक्क न बक्क परिन्,’ उनले थपे, ‘त्यसपछि कृषि कर्मचारीको विज्ञतामा अप्ठ्यारो पर्ने प्रश्न नगरी बिदा दिएँ ।’

नगरका कर्मचारीबाट समस्या समाधान नभएपछि जिल्ला कृषि कार्यालयमा फोन गरें । संयोगवश कार्यालय प्रमुख हरिनारायण राईले फोन उठाए । उनले कार्यालय प्रमुख राईलाई पनि नगर कृषि शाखामा भनेजस्तै जानकारी गराए । ‘केही दिनपछि प्राविधिक पठाइदिन्छु,’ उनले भने, ‘ हाकिम सापले प्राविधिकसँग समस्याबारे छलफल सल्लाह गर्नुस् भन्ने उत्तर दिए ।’ नभन्दै कृषि हाकिमले केही दिनपछि दिक्तेलबाट जेटीए खटाए । जेटीएसँगै जिल्ला समन्वय समिति भूपूअध्यक्ष बबि चाम्लिङ, अहिलेका सांसद पीके राई, पूर्वसामाजिक विकासमन्त्री उषाकला राई, एमाले नेता देवविक्रम राईलगायत थुप्रै व्यक्ति दुर्छिम, भन्ज्याङ पुगे ।

नेता, नातानाला र जेटीएको आतिथ्यले नेता राईको घर–आँगन भरिभराउ भयो । बिहान ११ बजेतिर आइपुगेकालाई खानाको बन्दोबस्त गर्नैप¥यो । ‘पाँच धार्नीको सुँगुर पाठा काटें,’ उनले विगत कोट्याए, ‘बियरसहित जाँडपानी व्यवस्था गरें । सबै–सबै हिसाब गर्दा चानचुन २० हजार रुपैयाँ सकियो ।’

२० हजार रुपैयाँ खर्च भए पनि अनारको बिरुवा मरेको कारण पत्तो लागेन ।

प्रतिक्रिया दिनुहोस्