रखे कामीको आरान, मेरो छुरा



मेरो कविताको शीर्षककै नाममा एक्लाके छ
यसमा मेरो दोष छैन, कारण
जंगबहादुरको जातप्रथाले जरो गाड्यो
विभिन्न नामको शासन व्यवस्थाले
उही बाटो पछ्यायो र
समाजमा चलन यै छ
एक हिंसा वा हेपेर एक्लाके लाइन्छ
अर्को मायाले पनि त एक्लाके लाइन्छ
हाम्रै समाजका कुरा यसरी पस्कन्छु ।

कुरा काट्ने दिमागी छुरा बनाउने
आरान सुरु गरेको नि वर्षौं भएछ लाले !
रखे कामीको आरानभन्दा
मेरै आरान कैयौं गुना सजिलो छ ।
चाहेको बेला जुनसुकै बखत
जहाँ पनि गोल सल्काइहाल्छु
धार उध्दाइहाल्छु ।
कहिले लाग्गो धार निकाल्छु,
कहिले भुत्ते नै भए नि काम चलाउँछु
बस ! यति हो सिकार हेर्छु
सिकार कडा छ भन्ने लागेमा पाइन लगाउँछु ।
तर पाइन लाएपछि
बाँसको डुँडको पानीमा चोपलेर मत्थर पनि पार्छु ।
नत्र त पाइन लाग्दैन नि !
हतियार बनाउन कहाँ सजिलो छ र ?
१०० डिग्रीको राप र ताप खुवाएर
दुई किलो, आधा किलो र
पावाको ढकले कनाई–बनाई पिटेपछि
रेती र सानको करामतले बनेको
यो छुराको महत्व कम छैन ।
मलाई कालेले रिस उठाइहाले
गोर्खेलाई उचाल्छु
काले र गोर्खेलाई भिडाएर
आनन्द लिन कम्ता मज्जा आउँछ !
मेरो बानी बुझ्नेहरूले मलाई
अचेल काइते भन्छन्
खुरापाती भन्छन्, अरू के–के, के–के !
वीरेलाई भेट्दा धनेको कुरा काट्न मन लाग्छ
श्यामेलाई भेटें भने भोटेको कुरा काट्न मन लाग्छ ।
नयाँ मान्छेलाई भेट्न र देख्नसाथ
कसको कुरा काटौं ?
भनी दिमागमा छट्पटी चल्छ ।
अचेल दिनमा दुई/चारजनाको कुरा काट्न पाइएन भने
भातपानी बिरसिलो लाग्छ, जाँडपानी निरस लाग्छ ।
मेरो देशको नेताहरू
अर्को नेताले के बोल्यो भनेर सुन्छन्
र कापीमा टिपेर उसको विपरीत
कुरा काटेर बोल्ने गर्छन्
सायद यस्तै समाजका अगुवाहरूको
ढंगहरू मेरो मनमस्तिष्कमा सर्यो,
थुइक्क मेरो बानी…………………
अहिले नि मलाई सराप्ने त कम छैन
झन् मरे पछि त,
धारे हात लाउने धेरैलाई हतारो छ
मलाई भने कुरै काट्ने चटारो छ ।

प्रतिक्रिया दिनुहोस्