नेकपा जिल्ला कमिटी सदस्य चाम्लिङद्वारा बुवाआमाको सम्झनामा ‘गेट’


हलेसी (खोटाङ) । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्य डिल्ली चाम्लिङले बुवाआमाको सम्झनामा महेन्द्रोदय माध्यमिक विद्यालय हलेसीमा प्रवेशद्वार (गेट) निर्माण गरेका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडासदस्यसमेत रहेका नेता चाम्लिङले बुवा इन्द्रसेर राई आमा गउनसरी राईको स्मृतिमा विद्यालयमा ‘गेट’ निर्माण गरेका हुन् ।

महेन्द्रोदय माविको पूर्वपट्टि निर्माणाधीन ‘गेट’सहित ‘गेट’ प्रवेश गर्न सजिलोका लागि १९ वटा सिँढीसमेत निर्माण गरिएका छन् । सिँढीको दायाँबायाँ फलामको रेलिङ लगाइने वडासदस्य चाम्लिङले जानकारी गराए ।

यसैगरी, ‘गेट’को ढोका फलामकै राखिनेछ । फलामको ढोकालाई रंगरोगन गरेर आकर्षक बनाइनेछ ।

सामाजिक दूरी कायम गरेर ‘लकडाउन’को समयमा पनि चारजना मजदुरले ‘गेट’ निर्माणमा लागिपरेका छन् । साताअघि थालिएको काम सम्पन्न गर्न अझै आठदेखि १० दिन लाग्ने काममा संलग्न मजदुरको भनाइ छ ।

पितृको सम्मान र सम्झनामा सबै सन्ततिले यस्तै–यस्तै काम गर्ने हो गाउँठाउँका सानातिना कामका लागि सरकारको मुख ताक्न नपर्ने हलेसीका बुद्धिजीवी तथा समाजसेवीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्