तालाभन्दा विश्वास बलियो


दुर्छिम (खोटाङ) । भारतमा खासी (खसिया) समुदाय छन् । उनीहरू पुरानो मातृसत्तात्मक समाज भएको समुदाय हुन् । उनीहरूको गाउँठाउँमा ढोकामा ताला कहिल्यै लगाइँदैन । ताला लगाएका छैनन् भन्ने मौका छोपेर कसैले चोरी गर्दैनन् । चोरी गरेको पत्ता लागे सार्वजनिक ठाउँमा लगेर उसको हात काटिन्छ । त्यसो गर्दा सम्बन्धित व्यक्तिको अभिभावकले रुने, कराउने गर्दैनन् । बचाउ पनि गर्दैनन् ।

खासी समुदायमा कति राम्रो प्रचलन । अघोषित प्रचलन उदाहरणीय, सराहनीय र प्रशंसनीय मानिन्छ । भारतको खासी समुदायमा मात्रै होइन, पूर्वी नेपालको पहाडी गाउँ–बस्तीमा पनि ताला लगाउने प्रचलन कमै छ । कतिले नभएर लगाएन् होला त कतिले भएर । जुन–जुन शीर्षकमा ताला नलगाइए पनि अपवादबाहेक त्यहाँ चोरीचकारी भएको सुन्न परेको छैन । धनमाल चोरी भयो भनेर कचहरी राखेको सुनिँदैन । स्थानविशेषको प्रहरी चौकीसम्म पुगेर निवेदन दर्ता गराएको पनि सुनिएको छैन । अपवादमा कहीं कतै भएका होलान् तर सुन्नमा नआएको हुन सक्छ ।

सहर–बजारमा मानिस घरभित्रै रहे पनि ढोका थुन्ने प्रचलन छ । गाउँघरमा त्यस्तो गरिँदैन । त्यसो गरे ‘मौवा’ हुन्छ भनिन्छ । मानिस घरमै छन् भने घरका झ्याल, ढोका खुलै हुन्छन् । मेलापात वा अन्य ठाउँ जाँदामात्रै हो, झ्याल, ढोका थुन्ने । उनीहरूले घरका ढोका थुने पनि ताला लगाउँदैन । किनकि उनीहरूलाई गाउँ, समाजप्रति उच्च विश्वास छ । एकले अर्कालाई उत्तिकै विश्वास गर्छन् । त्यत्तिकै भरोसा गर्छन् । त्यति भएपछि ढोकामा ताला लगाइरहन परेन । तालाभन्दा बलियो त विश्वास हो । अनि भरोसा पनि ।

प्रतिक्रिया दिनुहोस्