‘अनुमति पाए नगरवासीलाई घरसम्म ल्याउने व्यवस्था आफैं मिलाउँछौं’


नगरप्रमुख इवन राई

दुर्छिम (खोटाङ) । विभिन्न काम, पेसा तथा व्यवसाय गरेर जिल्लाबाहिर रहेका र ‘लकडाउन’का कारण चाहेर पनि घर फर्कन नसकेका नगरवासीलाई हलेसी तुवाचुङ नगरपालिकाले घरसम्म ल्याइदिने भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख तथा नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण नगरस्तरीय समन्वय समिति संयोजक इवन राईको अध्यक्षतामा शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

‘लकडाउन’ले अप्ठ्यारामा परेका नगरवासी जो जहाँ छन्, त्यहाँका सरकारसँग समन्वय गरेर उनीहरूलाई घरसम्म ल्याउन स्थानीय सरकारले तयारी थालेको हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इवन राईले जानकारी गराए ।

‘लकडाउन’को समयावधि थपिएको थपियै छ । गरिखानेलाई त्यत्तिकै अप्ठ्यारो पारेको छ । घर फर्कन्छु भन्दा पनि उपाय छैन । ‘जिल्लाबाहिर रहेका कतिपय नगरवासीको खानेकुरासम्म छैन । त्यस्तालाई भोको राख्नुहुँदैन,’ नगरप्रमुख राईले जिकिर गरे, ‘नगरवासी जो जहाँ हुनुहुन्छ, उहाँहरूलाई सम्बन्धित प्रदेश वा संघीय सरकारले खाने, बस्ने व्यवस्था मिलाइदिनुपर्छ । होइन भने घर फर्कने अनुमति दिनुपर्छ । अनुमति पाए हामी हाम्रा नगरवासीलाई घरसम्म ल्याउने व्यवस्था आफैं मिलाउँछौं ।’

‘लकडाउन’ले अप्ठ्यारोमा परेकालाई हलेसी तुवाचुङ नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत, सूचना अधिकारी र नगरप्रमुखको सचिवालयमा सम्पर्क गर्न आह्वान गरिएको छ । उसले प्रमुुख प्रशासकीय अधिकृतको मोबाइल नम्बर ९८५२८८८८७७, सूचना अधिकारीको मोबाइल नम्बर ९८५२८४९०५६ र नगरप्रमुखको सचिवालयको मोबाइल नम्बरमा ९८५२८३३१२६, ९८६७९७६०९२ मा सम्पर्क गर्न आह्वान गरेको हो ।

अप्ठ्यारामा परेका नगरवासीको तथ्यांक संकलनका लागि नगरपालिकाले शुक्रबार सूचना जारी गरेको छ । ‘अध्ययन, अध्यापन, औषधोपचार, पेसा, व्यवसाय तथा रोजगारीलगायत विभिन्न काममा जिल्लाबाहिर रहनुभएका नगरवासीलाई लकडाउनले पारेको असुविधाप्रति नगर तथा हाम्रो ध्यानाकर्षण भएको छ,’ जारी सूचनामा उल्लेख छ, ‘तपाईंहरूलाई घरसम्म ल्याउन संघीय सरकारसँग आवश्यक पहल भइरहेको हुनाले नगरवासीले जारी सूचनामा उल्लेख मोबाइल नम्बरमा सम्पर्क गरी आफ्नो नाम, अहिले बसिरहेको ठेगाना र सम्पर्क नम्बर टिपाइदिन अनुरोध गर्दछौं ।’

नगर उपप्रमुख बिमला राई

‘खाद्य र स्वास्थ्य सामग्री पर्याप्त भइदिए ‘लकडाउन’को पूर्ण पालना हुन्थ्यो,’ हलेसी तुवाचुङ नगरपालिका नगर उपप्रमुख बिमला राईले ‘होम क्वारेन्टाइन’मा बस्नेगरी घर फर्कन चाहनेका लागि नगरपालिकाद्वारा जारी सूचनासहित सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘तर, त्यो हुन सकेन । जिल्लाबाहिर रहे पनि घर फर्कन चाहने नगरवासीलाई घरसम्म ल्याउने प्रयास थालेका छौं । कृपया सम्पर्कमा रहिदिन अनुरोध गर्छु ।’

प्रतिक्रिया दिनुहोस्