ढुंगाको टोपी लगाउने किराती



माझकिरात (भोजपुर)मा जिरामुनि नाम गरेका किराती थिए । किराती मुन्दुमका ज्ञाता । मुन्दुमको सहाराबाट तान्त्रिक शक्तिले सर्वसाधारणले गर्न नसक्ने अनौठोे काम गरेर देखाउँथे । दिनभरि सामान्य व्यक्तिझैं रहने उनी रात परेपछि अत्यन्तै परचक्री व्यवहार र अपत्यारिला काम गर्थे । उनी मसान खेलाउँथे । मसानकै सहाराले सम्पूर्ण काम फत्ते गर्थे ।

भुरुचोकडाँडामा उनको घर थियो । टेम्के मैयुङ गाउँपालिका–३, अन्नपूर्ण दिल्पामा भुरुचोक पर्छ । उनी रातारात ओल्लोदेखि पल्लो गाउँ पुग्थे । सर्वसाधारणले गर्न नसक्ने काम एकैरातमा गर्थे । उनको अचम्मित कामको बयान ओल्लोदेखि पल्लो गाउँ हुँदै काठमाडौं (दरबार) सम्म फैलियो ।

शक्ति पहिचान गर्न काठमाडौं (दरबार) झिकाई नजरबन्दमा राखियो । दरबारमा असाध्यै कडा सुरक्षासहित उनलाई नजरबन्दमा राखियो । तान्त्रिक शक्ति प्रयोग गरेर नजरबन्दबाटै फुत्के ।

नजरबन्दबाट बाहिरिएका उनी घर (भोजपुर) फर्कंदा ढुंगाको टोपी लगाएर ढुंगाकै डन्डिबियो खेल्दै हिँडेका थिए रे । तर, खोटाङको अर्खौले (हलेसी तुवाचुङ नगरपालिका–१० कामीडाँडा) पुग्दा बिहान पहिलो प्रहरको भाले बास्यो । खेल्दै गरेको डन्डिबियो त्यहीं छाडी दोस्रो प्रहरको भाले बास्दा नबास्दै उनी दिल्पा भुरुचोक पुगिसकेका थिए । उनले लगाएको टोपी ढुंगा हिजोआज पनि अन्नपूर्णस्थित भुरुचोकडाँडामा सुरक्षित छ ।

त्यो ढुंगाको टोपी जिरामुनिले लगाएको हुँदा उनले भीमसेनको जस्तो बल पाएको भनी स्थानीयले ‘जिरामुनि भीमसेन’समेत भन्ने गर्छन् । टोपीढुंगालाई टाङलुङ पनि भनिन्छ । किरात राई बान्तवा भाषामा ‘टाङ’ भनेको टाउको वा शिर र ‘लुङ’ भनेको ढुंगा भन्ने अर्थ लाग्छ ।

जिरामुनि वान्तवा राईअन्तर्गत मुकारुङ पाछाका पुर्खा हुन् । तसर्थ, उनीहरूले टोपी ढुंगा आफ्ना पुर्खाले लगाएको विश्वास गर्छन् ।

प्रतिक्रिया दिनुहोस्