गोकुले दमाईलाई पञ्चेबाजा बजाउन आउँछ । तर, दमाईले नर्सिङ्गामात्रै बजाउँछन् । उनको नाम लिनेबित्तिकै नर्सिङ्गा बजाउन खप्पिस भनेर गाउँभरि चर्चा गरिन्छ । उनलाई डिकुवाको कुनाकन्दराले समेत चिन्छ । उनले बजाएको नर्सिङ्गाको आवाज भुम्जु र दाम्ली डाँडाले छेकेर छेकिँदैन । उनको सासको करामतले बजेको नर्सिङ्गाको बयान गरिसाध्य छैन ।
‘म असाध्यै खुसी छु,’ काठमाडौंको चाबहिलमामा बस्ने माइली छोरी र ज्वाईंको डेरामा भेटिएका उनले खुसी व्यक्त गरे, ‘गोकुले दमाई हुनुमै गर्व गर्छु । उनले १२ वर्ष टेक्दै गर्दा नर्सिङ्गा फुक्न थाले ।
संवत् २००१ असोजमा जन्मेका उनले ०१३ देखि बाजासँग अटुट सम्बन्ध जोडे । न्वारान, पास्नी, छेवर, बिहे, विभिन्न शीर्षकका भोज र मानिसको मरनपछिको किरिया गर्दासमेत पञ्चेबाजा बजाउनेको पछि लागेर नर्सिङ्गा बजाउन छाडेका छैनन् । उनले नर्सिङ्गा बजाउन थालेको ६८ वर्ष भयो । ‘प्रत्येक सांस्कृतिक कार्य सम्पन्न गर्न पञ्चेबाजा अनिवार्य बजाउनैपर्ने रितिथिति थियोे । अझै पनि छ,’ उनले जानकारी गराए, ‘त्यसमा पनि सबैभन्दा पहिले नर्सिङ्गा बाजा बजाएपछि मात्रै अन्य बाजा बजाउन सुरु गरिन्छन् । तसर्थ, नर्सिङ्गा पञ्चेबाजामध्येकै मूल मानिन्छ ।’
सर्वप्रथम एक रुपैयाँ लिएर नर्सिङ्गा बजाउन थालेका उनको पारिश्रमिक क्रमशः २, ३, ४ र ५ रुपैयाँ हुँदै गयो । ‘कतैबाट पञ्चेबाजा बजाउने निम्ता पाउनुपहिले दुरी र समयको हिसाब गर्नुपर्छ,’ उनले सुनाए, ‘०७६ पछि पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म पारिश्रमिक सम्झौता गर्दै आएका छौं । पञ्चेबाजा बजाउन समूह सहभागी हुनुपर्छ ।’
‘हामीले खोज्दै गएर बजाउने कुरा होइन नि हजुर,’ उनको भनाइ थियो, ‘विष्टहरूलाई आवश्यक परेपछि हामीकहाँ आउनुहुन्छ । चलेको भाउमा सम्झौता गरेपछि पञ्चेबाजा बजाउन पुग्छौं ।’
हुन पनि हो, पञ्चेबाजा बजाउन त्यति सजिलो छैन । घामपानी, हिलो, धुलो, जाडो, भोक, तिर्खा, अनिदो, थकान नभनी पञ्चेबाजा बजाउनुको पीडा खनिखोस्री साध्ये छैन । ‘पञ्चेबाजा बजाउनु भनेको कलाकारितामात्रै नभएर सीप पनि हो,’ उनले प्रस्ट्याए, ‘यो सीपले लोककला र संस्कृतिको जगेर्ना गर्छ । गाउँठाउँको शोभा बढाउँछ ।’
हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, दाम्ली खोटाङनिवासी गोकुले दमाईले पञ्चेबाजा बजाउनुका अलावा कपडासमेत सिलाउँथे । दमाईले बालीघरे प्रथाअन्तर्गत डिकुवाका ९० घरधुरी विष्टका लुगा सिलाएर जीविकोपार्जन गरेकै हुन् । तर, ०७४ मा श्रीमतीको निधनपछि कपडा सिलाउने काम छाडे । कपडा सिलाउने काम छाडे पनि नर्सिङ्गा बजाउन छाडेका छैनन् ।