गणतन्त्रको कुफत



प्रत्येक वर्ष
मुलुकमा लुसुक्क गणतन्त्र पस्छ
र, छटपटाइरहेका आत्माहरूलाई
उसकै छाँयाले कुल्चेर जान्छ

जहाँ महँगा–महँगा महलहरू छन्
महँगा–महँगा गाडीहरू गुड्छन्
महँगा सपना बाँड्ने ऐसका निदहरू डुल्छन्
र त, गणतन्त्र दुःखीको हुँदैन
हुनेखानेहरूको हुन्छ
प्रत्येक वर्षको गणतन्त्र दिवसले
आफजस्तो नारा फलाक्दैन
इन्द्रेणी झाँकीहरूको सपना कुल्चेर हिँड्छ

गणतन्त्रको शासक
बेइमान सुन तस्करी पाल्छ
मानव ओसारपसार गर्ने अपराधीहरू पाल्छ
दलाल घुसखोरहरू उसको प्रिय पात्र बन्छ
सयौं रोपनी हडपेर घिच्ने गिरोह फाल्दैन
र त निमुखा आत्माहरू छटपटाइरहेछन्
गणतन्त्रको छाँया देखेर

तर त्यही गणतन्त्रको छाँयामा
फाटेका दौरासुरुवालहरू
टालेका टोपी–चोलीहरू
गणतन्त्रको चिसोमा वर्षौं कठ्याग्रिंरहेछन्

हटेको छैन विभेद उस्तै छ
गाउँमाथि सहरको ज्यादती झाँगिदो छ
हिजो र आजमा अन्तर छैन
गाउँकै उब्जनी खाएर सहर गाउँलाई हेप्छ
अनेकौं षड्यन्त्र गरेर
गाउँ जाने विकासको बाधक बन्छ
बिहान–बेलुकीको छाक
अभावको घेराबन्दीमा पारेको छ
चन्द्रमा छुने रकेटजस्ता सपनाहरू
खर्लप्पै सहरले निलेको छ
तैपनि क्रान्तिका हिमायती गाउँहरू
गणतन्त्रका सारथि बेंसीहरू
प्रत्येक वर्ष मनाइरहेछन् गणतन्त्र दिवस

अझै तयार छैन सहर
समानताको ढोका खोल्न
आयो गणतन्त्र सिन्दुर पुछिएका सिउँदोहरूले
पीडा सहिदिएर
अभिभावक गुमाएका टुहुराहरू
र, सन्तान मासिएका वृद्धवृद्धाहरू
मौन बसेर सहरको रझाँइ छ
र त पूर्वतिर फर्किएर
हेरिरहेछन् रित्तो घाम
खै उनीहरूको गणतन्त्र
प्रश्नहरू छरपष्ट छन्

निकायहरू पहुँचवालाकै छ
समानताको ढोका बन्द गर्ने हालीमुहाली छ
ठूला भनिनेहरूको इच्छामा कानुन मर्किन्छ
संशोधनले उसकै हित सपार्छ
अनि गणतन्त्र धमिराहरूको सिकार नभएर
अरू केको बन्छ
यसको उत्तर कसैले दिन सकेकै छैन

यसकारण चुपचाप छ
बलिदान गर्ने सहिदको जवाफ
सहिदहरूमाथि समेत किनबेचको धुइरो छ
फलना सहिद ठूलो
फलना सानोको दर्जा दिइएको छ
यसर्थ गणतन्त्र लुटाहा खातिर साबित भइरहेछ

गणतन्त्र सहिदहरूको सपना हुन्
ती सपना अमूल्य निधि हुन्
ती सपना रगतसँग साटिएका हुन्
झुटतन्त्र फैलाउने बन्जर खातिर थिएन
भुइँतहले उपभोग गर्न
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार
दिन ल्याएको हो गणतन्त्र
योभन्दा तलमाथि केही होइन गणतन्त्र ।

–काभ्रे

(कवि लामा लेखन र शिक्षण पेसामा हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्