केप कड नेपाली समाजको आयोजनामा अमेरिकाको म्यासाचुसेट्स राज्यअन्तर्गत केप कडको साउथ डेनिस सहरमा रहेको जोन ए केली पार्कमा वैशाखे पूर्णिमा (उँभौली) भव्यतासाथ मनाइएको छ ।
केप कड नेपाली समाजका अध्यक्ष केबी राईको सभापतित्व र युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाका भूतपूर्व अध्यक्ष विष्णु राईको प्रमुख आतिथ्यमा भव्यतासाथ उँभौली मनाइएको हो ।
प्रमुख अतिथि विष्णु राईले कार्यक्रममा उपस्थित सबैलाई शुभकामना दिँदै साकेलाको सांस्कृतिक, सामाजिक र ऐतिहासिक महत्वबारे प्रस्ट पारेका थिए । ‘अमेरिकाभरिमै नेपाली समाजले पहिलोपटक यसरी वृहत् भेला गरी उँभौली मनाएर नयाँ इतिहास रचेको छ,’ प्रमुख अतिथि राईले भने, ‘यस्ता कार्यक्रमले भावी पुस्तालाई उदाहरणीय सांस्कृतिक सन्देश दिनेछ । आयोजकलाई विशेष धन्यवाद ।’
केप कड नेपाली समाजका वरिष्ठ उपाध्यक्ष विष्णुमान प्रधानले विभिन्न संघ संस्थाबाट प्रतिनिधित्व गरेका अतिथि, समाजका सम्पूर्ण सदस्य तथा केपकडवासी आमाबुवा, दाजुभाइ, दिदीबहिनी र नानीबावुलाई शुभकामना दिँदै हर्षोल्लाससाथ उँभौली मनाउन आग्रह गर्दै कार्यक्रममा हार्दिक स्वागत गरेका थिए ।
युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाका महासचिव मुक्तिनारायण राई र पशुपति बुद्ध फाउन्डेसनकी वरिष्ठ उपसभापति एलिना श्रेष्ठले साकेला उँभौलीबारे आ–आफ्नो मन्तव्य राख्नुको साथै शुभकामना दिएका थिए ।
कार्यक्रमका सांस्कृतिक संयोजक सीताराम राईले उँभौलीबारे मन्तव्य राख्दै सबैलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गरे ।
यसैगरी, केप कड नेपाली समाजकी सदस्य कुमुदा पोखरेलले नयाँ पुस्ताका भाइबहिनी, छोराछोरीलाई लक्षित गरी साकेला उँभौलीबारे अंग्रेजी भाषामा तयार पारिएको सामग्री वाचन गरेर सुनाइन् ।
उँभौलीको प्रमुख आकर्षण र महत्वपूर्ण पक्ष ‘साकेला उँभौली पूजा’ प्रमुख अतिथि तथा विष्णु राईबाट शुभारम्भ गरिएको थियो । यसमा केप कड नेपाली समाजका संस्थापक अध्यक्ष तथा सल्लाहाकार हरि राईले उँभौली पूजामा गीत गाएर नाच्दै उपस्थित सबैलाई सांस्कृतिक नाचमा सहभागी हुन उत्प्रेरित गरेका थिए ।
उँभौली पूजा सम्पन्नपछि खानपान गरी दोस्रो चरणको कार्यक्रमबीचमा नानीबाबुहरूले नेपाली गीतमा सामूहिक नृत्य र मार्सल आर्ट प्रदर्शन गरेका थिए । सामूहिक नृत्यमा रिया चालिसे, दीप्ति अधिकारी, आशा आचार्य र विभूति सिटौला सहभागी थिए भने मार्सल आर्ट करातेतर्फ विश्लेक्समान प्रधान, मिलन तामाङ, विधान खड्का र आर्य थापा सहभागी थिए ।
बाल स्वयंसेवक आभाश्री खतिवडाले कार्यक्रमस्थलमै लेमोनेड र स्न्याक्स पसल राखी त्यसबाट हात लागेको नगद ४,१२१.८२ केप कड नेपाली समाजलाई प्रदान गरेकी थिइन् ।
यस्ता नेपाली मौलिक, परम्परागत र सांस्कृतिक कार्यक्रममा नयाँ पुस्ताका नानीबाबुको सक्रिय सहभागिता भएमात्र संस्थाले राखेको लक्ष्य नेपाली भाषा, संस्कृति र संस्कारको पुस्तान्तरणमा मद्दत पुग्छ । कार्यक्रममा प्रतिभा प्रदर्शन गर्ने सबै नानीबाबुलाई प्रशंसा प्रमाणपत्र प्रदान गर्नुको साथै खादासहित प्रतिभाको कदर गरिएको थियो ।
केप कड नेपाली समाजको कार्यसमितिको बोर्ड बैठकको निर्णयबाट कार्यसमिति सदस्यमा छेजी शेर्पा र संस्थापक अध्यक्ष हरि राईलाई सल्लाहाकारमा मनोनीत गरी समाजका अध्यक्ष केबी राईले खादासहित प्रमाणपत्र प्रदान गरेका थिए ।
केप कडबासी नेपालीले उँभौलीका लागि आवश्यक खानपानको व्यवस्था स्वयंसेवकका रूपमा जिम्मा लिएर घर–घरमै तयार पारिएका स्वस्थकर साथै स्वादिष्ट परिकार उपलब्ध गराएका थिए ।
समाजका कोषाध्यक्ष विमल खड्काले कार्यक्रममा सहभागी सबैको नाम दर्ता गर्नुको साथै संस्थाको सदस्यता लिन इच्छुकलाई सदस्यता वितरण गरेका थिए । उँभौलीमा १७५ जनाको सहभागिता थियो ।
समाजका महासचिव इच्छा खड्का र सचिव सरस्वती खनालले कार्यक्रम सञ्चालन गरेका थिए । केप कड नेपाली समाजको निमन्त्रणा स्वीकार्दै कार्यक्रममा सहभागी अतिथिको कार्यक्रम भव्यतासाथ सम्पन्न गर्न सघाउ पुर्याएको थियो ।
केप कड नेपाली समाज, नेपाली कला, संस्कृति संरक्षण र प्रवद्र्धन गर्न सन् २०११ मा केप कड म्यासाचुसेट्स, अमेरिकामा स्थापना गरिएको गैरनाफामूलक सामाजिक संस्था हो । यो संस्थाले नेपाली समुदायको हितका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।
समाजका अध्यक्ष केबी राईले नेपालको किरात राई समुदायको महान् चाड साकेला उँभौली २०२४ मा आमन्त्रित अतिथि, समाजसम्बद्धका पदाधिकारी तथा सदस्य र सम्पूर्ण केप कडवासीको अमूल्य समय, साथ र सबैखाले सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै शुभकामना दिएका थिए । अध्यक्ष राईका अनुसार, केप कड नेपाली समाजले पहिलोपटक वैखाखे पूर्णिमा (उँभौली) आयोजना गरेको हो ।