
माओवादी जनयुद्धको आधार इलाका रोल्पा थियो । पूर्वी कमान्डअन्तर्गत खोटाङमा आधार इलाकाकै रूपमा विकसित गर्ने प्रयास गरिएको थियोे । खोटाङका लिकुवापोखरी, सावाकटहरे, वाप्लुखा, बडकादियाले, डम्बर्खुशिवालय, चिसापानी र खोटाङबजारलाई जनयुद्धको क्षेत्रीय आधार इलाकाका रूपमा लिइन्थ्योे । यो पूर्वाञ्चलस्तरीय माओवादी गतिविधिमा केन्द्रित आधार क्षेत्र थियोे ।
जनयुद्धमा माओवादीले अनेकौं काम गरे । गर्थ्यौं । त्यसताका स्थानीय सत्ता सञ्चालन अभ्यास प्रमुख कामभित्र पर्थे । त्यसताका विकृति र विसंगत क्रियाकलाप जुवा–तास, मद्यपान, शोषण, दमन कम गर्दै माओवादीले यसरी जनसत्ता सञ्चालन गर्छन् भनेर प्रमाणित गर्न अभ्यस्त थियौं ।
माओवादी खोटाङ इन्चार्ज रामकुमार राई ‘पासाङ’को निर्देशनमा खोटाङको आधार क्षेत्रमा उज्यालो अभियान सुरु गर्ने जिल्ला पार्टी बैठकले निर्णय गर्यो । सो कार्यक्रम जनस्तरसम्म लैजान तत्कालीन जिल्ला जनसरकार प्रमुख रत्नकुमार राई ‘दर्शन’को सक्रियतामा एरिया सेक्रेटरी ओमकार दाहाल ‘ओेके’ र त्यस क्षेत्रको माओवादी नेतृत्वका देवान किराती ‘पृथ्वी’, उदिम बान्तवा ‘मुक्ति’, मीनप्रसाद कोइराला ‘शिखर’लगायतको अहम् भूमिका थियो । उज्यालो अभियानका लागि त्यसताका माओवादी जनसरकार खोटाङले तीन लाख रुपैयाँ लगानी सहयोग गरेको कमरेड शिखरले जानकारी गराए ।
अभियानबाट लाभान्वित प्रत्येक घरधुरीबाट अनिवार्य जनश्रमदान हाह्वान गरिएको भोजराम राई ‘संघर्ष’ले सुनाए । विविध कायरणले जनश्रमदानमा सहभागी हुन नसक्नेलाई एक हजार ५०० का दरले रपैयाँ संकलन गरी श्रमदान आपूर्ति गरिएको थियो ।
त्यतिबेला १० किलोवाट क्षमता विद्युत् उत्पादनका लागि २०६२ मंसिरदेखि थालेर वैशाखमा पूरा भएको थियो । सावा, सावाकटहरे, डुम्रिबोटे, निगाले, सावा चन्डिथान, दाहाल गाउँलगायत तीन सयभन्दा बढी घरधुरीलाई पेल्ट्रिक सेट विद्युत् बत्ती उपलब्ध गराइएको दिलकुमार राई ‘हाङ्दीप’को भनाइ छ । यसैगरी जनश्रमदानमा माओवादीनिकट जनवर्गीय संगठनको ९० जनाले तीन दिन सहभागिता जनाएको थियोे भने जनमुक्ति सेना नेपाल १६औं बटालियनअन्तर्गत ‘सी’ कम्पनीले २२ दिन कुलो खनेको थियोे । सहिद परिवारका सदस्यसमेतले श्रमदानमा योगदान पुर्याएको तात्कालिक जनसरकार प्रमुख दर्शनले सुनाए ।
त्यतिमात्र होइन, जनसत्ताबाट कारबाही भोगेकाले हाँसीखुसी श्रमदान गरे । आफूले पाएको सजाय अवधि पूरा गर्न स्थानीय जनसत्ताले त्यस आधार इलाकाको कारबाहीमा परेकालाई उज्यालो अभियानमा खटाए । उज्यालो अभियान पूरा गर्न नगद र श्रमदान जोड्दा १५ लाख रुपैयाँभन्दा बढीको काम भएको थियो ।
स्थानीय जनसत्ताले सावाकटहरेलाई नमुना गाउँमा परिणत गरेको घामझैं छर्लंगै छ । जनयुद्ध लडिरहेका माओवादीलाई त्यतिबेलासम्म पनि ध्वंसमात्रै गर्छन् भन्ने भ्रम फैलाइएको थियो । भ्रम चिर्न रोल्पा जनसरकार प्रमुख सन्तोष बुढामगरको नेतृत्वले जिल्लाका स्थानीय जनसत्ताले पेल्ट्रिक सेटबाट विद्युत् उत्पादन गरी राङ्सी र राङ्कोटवासी लाभान्वित भएको माओवादी खोटाङ बैठकमा सुनिएपछि सावाकटहरेमा पेल्ट्रिक सेट सञ्चालन गर्ने जिल्ला पार्टी र जनसरकारले गरेको बताइन्छ ।
जिल्लामा जनसरकारले थुप्रै कार्यक्रम सञ्चालन गरे । त्यतिबेला माओवादी जनसरकारको स्रोतबाट विजयखर्कमा रहेको माध्यमिक विद्यालयमा दुईकोठे, दुईतले विद्यालय भवन निर्माण गरेको दर्शनले बताए । यसैगरी, जनता माध्यमिक सल्लेमा दुईकोठे भवन, इलाका प्रहरी कार्यालय परिसर हलेसीमा निर्मित समीक्षालय भवन माओवादीले नै निर्माण गरेका थिए । उता, डम्बर्खु र दिप्लुङमा प्राथमिक विद्यालय भवन निर्माण योजनासम्म बनेको थियो । जिल्लाभरि १६ विद्यालयमा खेलमैदान खनिए । बोपुङको बुवाखोला, सावा, तुवाखोला, ताप र रावाको माथिल्लो भू–भागसमेत गरेर २२ वटा काठेपुल निर्माण गरिएको थियो । सावाकटहरे चन्डिथाननिवासी तिलक राई ‘अनुहाङ’को घरमा सहिद स्मृति छात्रवास स्थापना गरी निम्न माध्यमिक विद्यालयस्तरीय जनवादी शिक्षा पठनपाठन सञ्चालन गरियो । यसको अवधारणाकर्ता उत्रबहादुर राई ‘उत्तर’ हुन् । सावामै सुलभ ब्याजदरको बचत तथा ऋण सहकारी लिमिटेड र एक सातु अर्थात् पोरिज उद्योग सञ्चालनमा ल्याएका थियौं । गोरेटो बाटो कति खनिए कति ।
जनसत्ता व्यवस्थित सञ्चालन गरी राज्यले दिनेजति सुविधा दिन खोटाङ जनसरकार लागिपरेको थियो । ‘हामीले जनसत्तामार्फत मुद्दा हेर्ने न्यायाधीश वकिलसमेत नियुक्त गरेका थियौं,’ खोटाङ जनसरकार प्रमुख दर्शनले थपे, ‘जिल्लाका नौ एरिया पार्टीमातहत जनताको जग्गा बेचविखन, जग्गा पाससम्बन्धी कागजात, धनीपुर्जा र लालपुर्जा बनाई जग्गा लेनदेनसमेत थालेका थियौं ।’
पछिल्लो समय गोपाल थापामगरको घरमा जनयुद्धकालीन पुस्तकालय र युद्धसामग्री हेरचाहनिम्ति निकै दिन बसेको थिएँ । त्यहाँ रहँदा माक्र्सवादसम्बन्धी किताब अध्ययन गर्ने मौका पाएँ । हिजोआज पनि ती दिन सम्झँदामात्रै पनि पुलकित हुन्छु ।



