सांसद विशाल भट्टराईले गरेका १० अपराध


(१) सांसद भएपछि काठमाडौंमा घर बनाउनुपर्ने । पटक–पटक निर्वाचित हुँदासम्म काठमाडौंमा घर बनाएकै छैन। यत्तिको चलखेल गर्न सक्ने माननीयले चिल्लो कारमा हिँड्नुपर्ने, अहिलेसम्म सडकमा लखरलखर हिँड्ने गरेका छन् ।

(२) कानुन बनाउने विधायकका रूपमा निर्वाचित भएको मानिसको मानिस बिरामी परेछ । कसको केही काम नभएर अड्कििएछन् भनेर बिरामी हेर्दै समाधान खोज्दै हस्पिटल, कार्यालय अनि जनजनको घर तथा डेरामा पुग्ने गरेका छन्।

(३) आफ्नो हैसियतको ख्यालै नगरी खोटाङका गाउँ–गाउँ पुगेर विकासका काम गर्नेमात्र होइन, सानो–सानो योजनाका विस्तार अनि अनुगमनमा ख्याल गर्ने गरेका छन्।

(४) अरू त अरू आफ्ना काका बितेर मलामी जाँदासमेत खोटाङमा पार्ने योजनाबारे मात्र छलफल गर्छन् ।

(५) आफ्नो पदको हैसियत बिर्सेर बिहान ५ बजेदेखि मोबाइलमा आएका प्रत्येक झिनामसिना कामसम्बद्ध कल सबै रिसिभ गर्दै जनताका दुःख, गुनासा सुन्ने गर्छन् । बोल्दै गर्दा अरू कल आए भने कलव्याक गरेर सोध्छन् ।

नवराज रोका

(६) आफ्ना लागि कहिल्यै कसैसँग केही माग्दैनन् । आजका जमानामा मादक पदार्थसमेत खान जान्दैनन् । बेलुका घर पुग्दा सद्दे हुन्छन् ।

(७) सबैभन्दा बढी आफ्नो जिल्ला, गाउँघर पुगिरहने सांसदभित्र उनकै नाम आउँछ । अनि संसद्को महत्वपूर्ण कुनै बैठक पनि छुटाउँदैनन्।

(८) आजसम्म भ्रष्टाचारमा मुछिएका छैनन् । यो त ठूलो हुने लक्षण नै भएन नि ? यस्ताले कसरी खोटाङको विकास गर्छन् ?

(९) खोटाङबाट काठमाडौं पुगेका कोरोना संक्रमणका कारण बन्दाबन्दी (लकडाउन) मा परी दुःखमा परेका जनतालाई सरकारी बजेट खर्च गरी दुईजना कर्मचारी राखेर बाँड्नुपर्ने राहत सबैस सहयोग माग्दै राज्यकोषबाट १ रुपैयाँ खर्च नगरी आफैं चामलको बोरा बोक्दै जनताको घर–घर पुग्छन् ।

(१०) खोटाङका एकजनामा कोरोना संक्रमण पोजिटिभ देखिएपछि हतार–हतार स्वास्थ्य तथा जनसंख्या र स्वास्थ्य विभाग पुगेर स्वास्थ्य सामग्री जोहो गरी आफैंले बोकेर खोटाङ आइपुग्छन् । कसैलाई खान दिँदैनन्।

यस्तै–यस्तै कैयौं अपराध गर्नेलाई कारबाही नगरे कसलाई गर्ने ? उनलाई निगरानी (क्वारेन्टाइन)मा मात्र होइन, एकान्तवास (आइसोलेसन)मै राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्