संसारमा कमै मानिस राम्रा हुन्छन् । आँखामै राखे पनि नबिझाउने उनीहरू छोटो आयुका हुँदारहेछन् । त्यही पंक्तिमा निश्चल राई पनि परे । राई पंक्तिकारका साइँला भाइ हुन् । निश्चित तर आफ्नै लयमा उनले जिन्दगीको बाटो पहिल्याइरहेका थिए । भाइसँग लगभग १४ वर्ष सुख–दुःख साट्यौं । यत्तिका समयावधिमा हामीबीच रौंबराबरको असमझदारी रहेन । त्यसका लागि उनले अर्थपूर्ण भूमिका खेले ।
समाज, परिवार र मलाई केही न केही दिन आफ्नो पनि उत्तिकै अहम् भूमिका छ भन्ने उनले गहिरो अनुभूति गरेका थिए । आफू काममा जोतिएर मलाई स्वतन्त्र भएर राजनीतिक तथा सामाजिक काममा जुट्ने अवसर मिलाइदिए । उनले मलाई दाजुभन्दा सामाजिक नेतृत्वका रूपमा चिनेका थिए । परिवारमा साह्रोगाह्रो पर्दा मैलेभन्दा बढ्ता उनले निर्धक्क सामना गरिदिए । भाइ, बहिनी, दाजु, भाउजू, बुवा, आमा, भतिजा, भतिजी, गाउँले समकालीन साथी तथा वृद्धवृद्धा ऊसँगै नजिक थिए । त्यति राम्रालाई मदन भण्डारी र कान्छा कार्कीको यात्रुवाहक बसले खाइदियो ।
भाइ असाध्यै आज्ञाकारी थिए । चाहे दिक्तेलमा पढ्ने विषय होस् या गाउँबाट काठमाडौं आउने शीर्षकमा । जे गर्दा पनि मसँगै ठोकिन्थे । मेरै सल्लाह लिन्थे । कोरोना कहरमा कान्छा भाइसँग उनलाई काठमाडौंबाट घर पठाएँ । घरमा त्यस्तै अनिकाल । आर्थिक अभाव उस्तै । महुरे–रसुवा–फोक्सिङटार सडक निर्माण चलिरहेकाले काम गर्न त्यता हान्निएछन् । यता, काठमाडौंमा रहेका हाम्रो (तीनजनाको) परिवारले रायो सागको जरासम्म खोतलीखोतली उसिनेर खानुपर्यो । उता सडकको काम गर्दागर्दै ठेकेदारले झन्डै महिना दिनको पारिश्रमिक नदिई उनलाई बिचल्ली पारे ।
गाडीलाइनमा काम गर्ने गाउँकै दाजुले उनलाई गाडी सिक्ने गरी टिप्परको काम मिलाइदिएछन् । त्यसपछि उनले आफूलाई संकटपूर्ण काममा लगायो । त्यस्तो काममा नजाऊ भनी सल्लाह दिँदा भविष्यमा कुशल सवारीचालक बन्छु भनेर टिप्परको लोड–अनलोड काममा पाँच महिना बितायो । त्यतिबेला म स्युचाटार (काठमाडौं) मा कुखुरापालन र तरकारी खेतीमा लागेको थिएँ । टिप्पर मर्मत गर्न काठमाडौं आउँदा हाम्रो भेट भयो । एकरात सुख–दुःखको बात मार्दा नमीठो लाग्यो । भो, अब गाडीलाइनमा जानुपर्दैन भनेर सुझाएँ । मलाई छाडेर कतै नजा, सँगसँगै सुख–दुःख खेपौंला भनेपछि ऊ मसँगै बस्न थाल्यो ।
तौल २५ किलो पनि थिएन । १८/२० वर्षे ठिटो । त्यस्तो अवस्थाका ठिटोले कति र कस्तो काम गर्थे होलान् ? ‘दाइ, टिप्परको हिँडाइ । अफरोडको बटो । बुइपादेखि रसुवा, साप्सुखोलाको बालुवा उठाउनुपर्ने,’ भाइले सुनाए, ‘गुरुजीहरू कता लाग्थे कता । म भने टन्टलापुर गर्मीमा दिनभर बेल्चाले बालुवा लोड गर्थें । टिप्परमा काम गर्न थालेपछि राति पनि सुत्न नपाइने । त्यसरी काम गरेकाले दुब्लाएँ ।’ सुन्दा मन अमिलो भयो । हामी गरिबमात्रै होइन, सोझासिधा हुनुको फाइदा हजुरबुवा, बुवा र हामी छोराहरूले समेत कसै न कसैलाई फाइदा पुर्याइरहेका छौं ।
दाजुभाइ मिलेर जमेर काम गर्यौं । माइला भाइ दुबईतिर थिए । कान्छो र कान्छी बहिनीको पढाइमा हाम्रो चासो थियोे । हुन त साइँला पनि एसइई दिएर काठमाडौं आएका हुन् । उनले भाइबहिनीका लागि गर्नसम्म त्याग गरे । परिवारका लागि पढाइभन्दा रोजगारी नै रोज्यो । संवत् २०८० मंसिरदेखि उनले छिमेकी सोम सुनुवारजीको तामा कारखानामा काम गर्न थाले । सुनुवारजीकै प्रस्तावमा भाइले काम थाले । ऊ घर नगएको पनि दुई वर्ष भइसकेको थियोे ।
गत असोज २१ गते आमालाई बागदत्ता दिने कार्य तय भएको थियो । दसैं मनाउन र दसैंपछि युरोप जाने सपना बुनेर पासपोर्ट बनाउन गाउँ हिँडेको साइँला भाइ, लीला बहिनी, कान्छो भाइ उज्ज्वल, कान्छी बहिनी पूर्णिमा, भान्जी हिम्चिमा, हिम्साना र हिम्सालगायत सात जना चढेको यात्रुवाहक बस हरिहरपुर गाउँपालिका–५, द्वारखोला सिन्धुलीनजिकै दुर्घटना हुँदा साइँला भाइ (निश्चल राई) को घटनास्थलमै निधन भयो । ४७ जना यात्रु बोकेको बा ०१–००६ ख ६७८५ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा दुईजनाको निधन भयो भने बाँकी सबै घाइते भए । हलेसी तुवाचुङ नगरपालिका–२, बाहुनीडाँडा, जयरामनिवासी कान्छा कार्कीको बस दुर्घटनामा निश्चल राई (खोटाङ) र बुद्धिमान तामाङ (भोजपुर) को ज्यान गयो । सवारी दुर्घटनाका घाइतेप्रति स्वास्थ्यलाभको कामनसहित राई र तामाङप्रति श्रद्धासुमन ।