लाप्पा जुधेर निर्वाचित राजा



दुर्छिम (खोटाङ) । च्यास्मीगढीका किरात राजा बल्माबुङसँगको लडाइँमा होलेसुङको निधन भयो । होलेसुङको निधनपछि चार भाइ छोरा (होमदिम, मायाराजा, जितराजा र पुरिम)बीच उत्तराधिकारी को बन्ने भनेर विवाद चुलियो ।

सबैले दाबी गरे, ‘म राजा हुन्छु ।’ अन्तिममा ‘रावाचुङ गएर लाप्पा जुधौं, जसले जित्छ उही राजा हुनुपर्छ’ भनेर सहमति गरे । खिम्लेबाट माथि रावाचुङको ठूलो टारमा साता दिन लाप्पा जुध्दा जितराजा विजयी भए । लगत्तै उनी हलेसीका स्थानीय शासक चुनिए ।

राजाको जेठा छोरा स्वतः राजा हुने निरंकुश राजतन्त्रीय व्यवस्थाविपरीत ‘लाप्पा’ जुधेर जितेपछि जितराजा निर्वाचित हुनुलाई तत्कालीन सन्दर्भमा लोकतान्त्रिक विधिलाई निर्वाचित गर्ने उदाहरणीय अभ्यास मान्न सकिन्छ । यसबाट लगभग ३५० वर्षपहिलेसम्म पनि किरातीहरूमा निरंकुश राजतन्त्रीय प्रणाली विकास भएको थिएन । उनीहरू गणतान्त्रिकै थिए भन्ने स्पष्ट हुन्छ ।

सांस्कृतिक हिसाबले किरात राई गणतान्त्रिकै हुन् । खासगरीकन खड्गो काट्दा राजालाई कालबराबर मानेर राजाको नाम भएको मोहरमाथि कालको प्रतीक कुभिन्डो राखेर काट्ने प्रचलन गणतान्त्रिक चेतनाको सांस्कृतिक अभ्यास हो ।

‘लाप्पा’ले अर्को कुरा पनि संकेत गरेको छ– चौदन्डी राज्यअन्तर्गत रहे पनि किरात राईहरूले स्वतन्त्र र स्वायत्त ढंगले स्थानीय शासन सञ्चालन गर्थे । यदि त्यसो हुँदैनथ्यो भने कसलाई स्थानीय शासकका रूपमा छनोट गर्ने भन्ने कुरामा निश्चयै चौदन्डीका सेन राजाहरूको हस्तक्षेप या दबाब हुने थियो ।

निर्वाचित भइसकेपछि जितराजाले तल खिम्लेबाट सारेर रावाचुङमा गढी स्थापना गरी शासन सञ्चालन गरे । त्यसको कारण थियो– सुरक्षा चुनौती । च्यास्मी र खाम्तेल दुवै गढीसँग राम्रो सम्बन्ध नभएकाले सुरक्षाका हिसाबले खिम्लेमा बसेर शासन गर्नु उपयुक्त थिएन ।

जितराजाका दुई भाइ छोरा थिए– मखमल र दारिम । यी दुईमध्ये मखमल राजा निर्वाचित भए । उनीपछि उनका छोरा भ्वाँरम (भ्वाँरा) राजा भए । उनकै शासनकालमा पृथ्वीनारायण शाहका गोरखाली सेनाले हलेसीगढीमा आक्रमण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्