खार्तम्छा (खोटाङ) । राजीव राईले कम्मरमा खुकुरी भिर्न थालेको तीन वर्ष भयो । स्थानीय पुर्खाले सधैं खुकुरी भिरेको देखेपछि ३३ वर्षीय राईलाई पनि खुकुरी भिर्ने रहर जाग्यो ।
‘घरमा चारवटा खुकुरी थिए,’ ढाल तरवारगढीबाट फर्कंदै गरेका उनले भने, ‘तैपनि कम्मरमा भिर्न आधा किलो फलामबाट निर्मित यो खुकुरी बनाउन लगाएँ । यसको दुई हजार ५०० पर्यो । यो वर्ष दिनअघि बनाउन लगाएको हुँ ।’
नेपाली समाजमा खुकुरीको उपयोगिताबारे बयान गरिसाध्य छैन । बहुउपयोगी मानिने खुकुरी भिरेर हिँड्दाका अनेक फाइदा छन् । उनले तीन वर्षयता नियमितजसो खुकुरी भिरेरै हिँड्छन् ।
कारण के होला त ?
‘गाउँघरमा रातविरात हिँड्नुपर्छ । खुकुरी बोकेर हिँड्दा आँट आउँछ । मनोबल बढ्छ,’ उनले जानकारी गराए, ‘वन–जंगल जाँदा घारी काटेर बाटो बनाउन सजिलो हु्न्छ । बाटो बनाउँदै जंगल यात्रा गर्न सहज बनाउँछ । एक्लैदोक्लै हिँड्दा पनि डर–त्रास पटक्कै लाग्दैन ।’
उनीसँगैका दामलीले पनि खुकुरी भिरेर हिँड्ने गर्छन् । पछिल्लो समय खुकुरी भिर्नु फेसनजस्तै बनेको छ । खुकुरी भिरेर हिँड्दाको फाइदा अथाह छ ।
त्यतिमात्रै होइन, डालेघाँस, दाउरा, मासु, बाँसलगायत काट्न खुकुरी प्रयोगमा आइरहन्छ । उहिलेका बूढापाकाको कम्मरमा हिजोआज पनि खुकुरी भिरेको देखिन्छ । नेपाली सेना र प्रहरीले कम्मरमा खुकुरी भिर्ने गर्छन् । तसर्थ, खुकुरी नेपाली पहिचान बोकेको हतियार हो ।