पशपति राईका १२ मुक्तक


१.
यति ठूलो पद बोकेको साहेपले भ्रष्टाचार किन गरेको होला
यत्रो टुप्पोमा पुगेको मान्छे स्वात्तै फेदमा किन झरेको होला,
इतिहासमा स्वर्ण अक्षरले नाम लेखेर अमर हुने बेला थियो
तर, यस्तो घटिया नीच कर्म गरेर जिउँदै किन मरेको होला ?

२.
असल काम गर्नेले लोकमा नाम कमाउन सक्छ
गिट्टी कुटेर पनि त मान्छे जीवनभरि रमाउन सक्छ,
हेर काम पो गर्नु त टोपे र बालेले जस्तै नकाम गरे
दुनियाँले थुक्दैन मात्र पुलिसले पनि समाउन सक्छ !

३.
प्रकृतिले दिएको सम्पत्तिलाई प्रविधिले जोड्न सकेनौं
माल त पायौ चाल पाएनौ त्यै पुरानै ढिपी छोड्न सकेनौं,
विज्ञान र प्रविधिले विश्व कहाँदेखि कहाँ पुगिसक्यो हेर
हामी भने उहिलेकै पुरानो बाटोमा, बाटो मोड्न सकेनौं ।

४.
मेरा लागि कविता लेखिदेऊ न प्रिय मै बरु हरफ बनिदिन्छु
पखालौं न मनको मैलो आँसुले धोएर मै बरु सरफ बनिदिन्छु,
म अनुकूल तिमी भइनौ त के भो तिमी अनुकूल म भइदिउँला
तिमीमै घुलेर बस्छु तिमी जम्यौ भने म पनि बरफ बनिदिन्छु ।

५.
कति प्यारो साथी बनेको छ, मेरो एकान्त रात नै अचेल
मीठो लाग्छ नि तिमीले विगतमा गरेका बात नै अचेल
आकाशमा जून रहेसम्म त टोलाइरहने बानी पर्यो
जून डुबेपछि त थाहै हुन्न चिमोट्छु आफ्नो हात नै अचेल ।

६.
पोसाकमात्रै नेपाली हो वास्तवमा ऊ नेपाली खास छैन
पदका लागि जे पनि गर्छ भित्र कति राष्ट्रियताको बास छैन,
यता सुनको भनी पित्तलको जलहरि चढाएर गएको छ
आउँदा सबै बेचेरै आउने होला ल्याउँला भन्ने त आस छैन !

७.
जंगेले बरु बेलायत गएर महारानीसँग आँखा कड्काएर आए
लाउरा बेलसित मोज गरे एक्काइस तोप पनि पड्काएर आए,
खै आजका लोकतन्त्रको प्रधानमन्त्री त भारत गा’को रहर गरेर
खुबै सत्कार गरे वडाध्यक्षले दालभात मज्जाले सड्काएर आए ।

८.

घाम जून अनि हावाले डुलिरहन्छु भन्छ
प्रकृतिमै रमेर प्रकृतिमै भुलिरहन्छु भन्छ,
तिमी पनि मेरै काखमा आऊ हात समाऊ
म तिम्रै लागि फलिरहन्छु, फुलिरहन्छु भन्छ ।

९.
कल्पनामा स्वर्ग बनाएर मान्छेले किन भ्रम छरेको होला
साँच्चिकै स्वर्ग भएकै भए पनि स्वर्ग पुगेर को चैं झरेको होला,
अचम्म लाग्छ– नदेखेको स्वर्गको बयानमात्रै कसरी भयो
सायद यै देशको सुन्दरता देखेर स्वर्गको कल्पना गरेको होला ।

१०.
धोकै धोका भयो मान्छेबाट अनि त यस्तो कदम चालेको हुँ
यो मान्छेले विश्वास गुमायो अनि त मैले घरमा कुकुर पालेको हुँ,
नत्र त मैले मान्छेलाई नै निरन्तर पुज्दै आइरहेको थिएँ नि
यो मान्छेको बेइमान बल्ल बुझे र त ढुंगालाई पुज्न थालेको हुँ !

११.
हेरेरै मात्र पनि केही दिन त बाँचिने मेरो देश छ
एकचोटि हेरे जीवनभरि मुटुमा साँचिने मेरो देश छ,
खोलानाला झरनाको आवाज गुञ्जिरहन्छ सधैं
विनागीत संगीत नै छमछम नाचिने मेरो देश छ !

१२.
धर्म गर्छु भन्ने मान्छेले पाप कर्ममा बल दिन्छ
ॐ शान्ति मन्त्र जप्दै आफन्तलाई नै छल दिन्छ,
सच्चा धर्म त प्रकृतिले बाहेक जान्दैन अरूले
काटे पनि मारे पनि उसले त मीठो फल दिन्छ ।

प्रतिक्रिया दिनुहोस्