कृसु क्षेत्रीका तीन कविता



लज्जावती झारलाई आज
पटक–पटक छुँदा पनि लजाइन
मैले सोधें कारण
उसले भनी–
अब लाज भन्ने शब्द नै रहेन ।


एउटा सन्की वादशाह
नाङ्गै दौडिरह्यो सडकमा
यात्रीहरूका बन्द थिए आँखा
तर
उसको कुरूप शरीर हेर्दै
कोही भइरहेका थिए–
स्खलित ।


आज एकाएक
आकाशतर्फ फर्किएर थुक्न मन लाग्यो
थाहा थियो आफ्नै मुखमा पर्छ
तर आश्चर्य
झरेन जमिनमा थुक
थुकको समुद्र रहेछ
हामीले आस्था गरेको आकाश !

प्रतिक्रिया दिनुहोस्