जनयुद्धको अन्तर्यअनुसार नेपाली राजनीति अघि बढ्न सकेन । संवत् २०७२ को संविधान अझै अमूर्त भएकाले राष्ट्रिय राजनीतिको संकट गहिरिने उनको अनुमान छ ।
‘तत्काल संविधान संशोधन सम्भव छैन,’ उनको बुझाइ छ, ‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली र कार्यकारी राष्ट्रप्रमुखमात्रै देशको संकट समाधान गर्ने विकल्प हुन सक्छ ।’
पंक्तिकारले हरिबहादुर बुढाथोकी ‘अनन्त’ (६६) सँग खोटाङको अधिकांश भूगोलमा लामो समय संगत गरेका थिए । ०३२ मा महाँकाल प्राथमिक विद्यालयबाट ५ कक्षा उत्तीर्ण गरेपछि पढाइ रोकियो । घरपायकमा मावि विद्यालय थिएन । घरबाहिर बसेर पढ्ने हैसियत थिएन । तसर्थ, भागेर मोरङको विराटनगर पुगे । काका भक्तबहादुर बुढाथोकीको शरण परे । पढाइलाई निरन्तरता दिन थाले । काका सिँचाइ कार्यालयमा कार्यरत कर्मचारी । काकाले सिँचाइका हाकिमको कार्यालय सहयोगीको जागिर मिलाइदिए । हाकिमलाई खाना बनाउनेदेखि खुवाउनेसम्मको काम पाएपछि उनलाई खान, लाउनसमेत हाकिमले हेर्थे । मासिक १५० रुपैयाँ तलब पाउँथे । त्यही पैसाले महेन्द्र–रत्न (रात्रिकालीन साँझ ६ देखि १० बजेसम्म) विद्यालय भर्ना भए । नौ कक्षासम्म सोही विद्यालयमा पढे । बहुदलीय राजनीतिक प्रणाली स्थापित गर्नुपर्छ भन्ठानेर अध्ययनक्रममा विद्यार्थी राजनीतिमा लागेका उनी तत्कालीन पञ्चायतविरुद्ध भूमिगत आन्दोलनमा होमिए ।
पञ्चायती सरकारले बहुदलको पक्षमा लागेकालाई अराष्ट्रिय तत्व घोषणा गरेपछि चरम संकटकाल हाबी भयो । ‘त्यस घडीमा समेत निरन्तर आन्दोलनमा लागें । सरकारले मेरो नाम पनि अराष्ट्रिय तत्व (अत)मा राखेपछि स्कुलबाट निकालिएँ । अत घोषित नागरिकले न जागिरमा खान पाउँथ्यो न त पढ्न । त्यसपछि अध्ययनका लागि दिक्तेल पुगे । अत आरोप लागेकालाई विद्यालयले नाम लेख्नै मानेन । तसर्थ, पढ्ने रहर नौ कक्षामै सीमित भयो ।
०३६ मा जनमतसंग्रह भयो । जनमतसंग्रहमा निर्दलीय पञ्चायती शासकले सत्ताको भरपूर उपयोग गरी बहुदललाई पराजित गर्यो । जनमतसंग्रहको बलबुतामा पञ्चायत पुनः निरंकुश बन्दै गयो । बहुदल पक्षधरलाई प्रतिबन्धित गर्यो । ‘आफूसँग राजनीतिमा मात्रै लाग्ने स्थिति थिएन । घरपरिवार चलाउन केही समय आसाम पुगें । कमाइ राम्रो थिएन,’ उनले विगत सम्झे, ‘नागाल्यान्ड पुगेर उखु खेतीमा काम थालें । उखु खेतीमा लाग्दालाग्दै नागाल्यान्ड सरकारविरुद्धको विद्रोही समूहसँग संगठित भएँ ।’ छिपछिपे राजनीतिक बुझाइलाई फराकिलो बनाउन सघायो । त्यसपछि नेपाल फर्कें ।
‘०४३ को स्थानीय पञ्चायती चुनावमा मैले राजापानीबाट जनवादी पक्षधर उम्मेदवारी दिएँ,’ उनले दुःख व्यक्त गरे, ‘चैत ७ गते निर्वाचन हुँदै थियो । ६ गते बुवा चक्रबहादुर बुढाथोकीको देहान्त भयो । चुनाव पनि हारें ।’
०४५ देखि भूमिगत भएका उनी बहुदलको पक्षमा प्रचार प्रसार गर्दागर्दै ०४६ मा आन्दोलित भए । राजा वीरेन्द्रले बहुदलीय व्यवस्था घोषणा गरे । त्यसको तीन वर्षपछि ०४८ को निर्वाचनमा कम्युनिस्टलाई सघाए । खोटाङमा तीन निर्वाचन क्षेत्र थिए । तीनवटै निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवारले बाजी मारे ।
०४९ को स्थानीय निर्वाचनमा भाग नलिए पनि ०५४ को स्थानीय निर्वाचनमा साबिक राजापानी गाउँ विकास समिति–४ को वडाध्यक्षमा निर्वाचित भए । ‘निर्वाचित भएको वर्ष दिनपछि माओवादी साथीहरूसँग उठबस बाक्लियो । गाविस सचिव गुरुप्रसाद ढुंगानाले माओवादीसँग सम्बन्ध विस्तार गरिदिए,’ उनले प्रस्ट्याए, ‘ढुंगाना विजयखर्कका हुन् । उनका गाउँले देवी ढकाल माओवादी खोटाङका संस्थापक सदस्यसमेत भएकाले उनी माओवादी भइसकेका रहेछन् । ठुलकुमार श्रेष्ठको सेक्रेटरियटमा सात सदस्यीय जिल्ला समिति बन्दा ढुंगाना पनि एक थिए । उनकै सम्बन्धबाट विजयखर्कको जंगल तथा गोठमा माओवादी बैठकमा सहभागी हुन थाल्यौं ।’
‘सुरुमा पार्टटाइमरका रूपमा माओवादी पार्टीले दिएको भूमिका निर्वाह गरें । जनप्रतिनिधि भएकाले खुलमखुला काम गर्न सहज थिएन,’ उनले भने, ‘कतिपय काम सदरमुकाम दिक्तेल जाने फर्कनेक्रममा गरिरहन्थें ।’
०५७ मा साबिक फेदी गाविसको सारालुङमा पूर्वमन्त्री अग्निप्रसाद सापकोटाको प्रशिक्षणमा उनी सहभागी भए । त्यसपछि पार्टीमा पूर्णकालीन बन्ने निधो गरे । पार्टी कामको सिलसिलामा तात्कालिक शाही सेनाले माओवादीको हत्या गरी जिल्लाभरिको सांगठनिक अवस्थाबारेको बैठक पुस्तिका हात पार्न सफल भए । त्यसपछि जिल्लामा क्रान्तिकारीको धरपकड सुरु भयो । केपिलासगढी, सप्तेश्वर, चिउरीबासका मोतीराम राई (स्थायी शिक्षक) को मुढे ब्यारेकमा हत्या भयो । गुरुप्रसाद ढुंगाना (यिजयखर्क), शारदा ढकाल (विजयखर्क), धनपति भट्टराई (बुइपाली, शिक्षक), कालिका रिमाल (बाक्सिला), उत्तम राई (खार्मी), किशोर केसी (बन्दी शिक्षक डुम्रे देउराली)लाई मुढे ब्यारेकको सैनिक हिरासतमा राखेर केरकार गरियो । उनीहरूलाई चाहिँ धन्न छाडे । उनीहरू शाही सैनिकका लागि आफ्नै काल बोलाउने निम्तोपत्र थिए । त्यहीक्रममा मोतीराम राई सहिद भए ।
‘त्यतिबेला राजापानीका दुई सयजनाले माओवादीलाई सहयोग गर्नेमा मेरो नाम नाइकेका रूपमा जिल्ला प्रशासन कार्यालयले राखेको रहेछ,’ उनले वास्तविकता सुनाए, ‘जिल्ला प्रशासनले बोलायो । म हाजिर भएँ । मलाई आत्मसमर्पण कागजमा सही गर्न लगाइयो । मैले गरिनँ । म राजापानी वडा नम्बर ४ को जनप्रतिनिधि हुँ भनेर प्रतिवाद गरें । एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराईको रोहबरमा प्रशासनले मलाई छाड्यो ।’
छाड्न त छाड्यो तर प्रहरी र सेनाले दुःख दिन छाडेन । पटक–पटक घर आएर खानतलासी गर्थे । अध्यायननिम्ति राखिएका क्रान्तिकारी कम्युनिस्ट पुस्तक जलाउँथे । माओवादी दस्तावेज कहाँ छ ? भन्दै दुःख दिइरहेपछि ०५८ कात्तिकबाट पूर्णकालीन बने ।
सामान्य किसान परिवारमा जन्मेका हरिबहादुर बुढाथोकी ‘अनन्त’ले किसान आन्दोलनको अग्रमोर्चामा रहेर भूमिका निर्वाह गरे । आफू किसानकै छोरा भएकाले सो संगठनमा सक्रिय भूमिका निर्वाह गर्दा अनन्त कम्ती खुसी छैनन् । किसानको हकहितका सवालमा माक्र्सवादी दृष्टिकोण दिने उनी अगुवा किसान हुन् । पूर्वेली कृषि क्रान्तिका नायक हुन् । उनले पार्टीको विभिन्न संगठनमा रहेर जिम्मेवारी पूरा गरे । एरिया सेक्रेटरी, जनसरकारको जनअदालत हुँदा न्यायाधीश थिए । भोजपुर सदरमुकाम, दिक्तेल सेबोटेज, पानधारे मोर्चा, घोडेटारभन्दा पहिलेको लडाइँ सोलु–सल्लेरी, जुनबेंसी (सोलुखुम्बु), रुम्जाटार (ओखलढुंगा) र ऐंसलुखर्क खोटाङमा प्रत्यक्ष सहभागी भए ।
०५९ मा नेकपा माओवादी खोटाङ जिल्ला सदस्यमा चुनिए । ०६१ मा जिल्ला सचिवालय सदस्य बने । उनले माओवादी किरात प्रदेश सदस्यसम्मको जिम्मेवारी पाए । अखिल नेपाल किसान संघ (क्रान्तिकारी)को इलाका अध्यक्ष, जिल्ला कमिटी अध्यक्ष र जनकपुर–सगरमाथा ब्युरो रहँदा किसान संगठनको १३ जिल्लाको इन्चार्जसमेतको भूमिका निर्वाह गरे ।
चक्रबहादुर बुढाथोकी र महेश्वरा बुढाथोकीको जेठो छोरा हरिबहादुर बुढाथोकी ‘अनन्त’को जन्म ०१५ असार ७ गते भएको थियो । दुई छोरा र चार छोरीका धनी अनन्तका ठुली छोरी संकटकालमै पूर्णकालीन भइन् । जेठो छोरा ऋषिकेश बुढाथोकी र कान्छो दिनेश बुढाथोकी नेकपा माओवादी केन्द्रको काठमाडौं–खोटाङ सम्पर्क समिति र वाईसीएल नेपाल खोटाङमा कार्यरत छन् ।
नेता अनन्तको काठमाडौं ट्रमा सेन्टरमा तेस्रोपटक हड्डीको शल्यक्रिया गर्नुपर्ने भएको छ । ०७८ भदौ १७ गते बुइपा र विजयखर्कको महभीरमा मोटरसाइकल दुर्घटना हुँदा देब्रे खुट्टामाथि हिप गेडी टुटेकाले शल्यक्रिया गर्नुपरेको हो । अहिले स्टिल झिकिएको छ । हड्डीमा गेडी प्रत्यारोपण गर्न कृत्रिम गेडी निर्माणका लागि अर्डर गरिएको छ । दुई शल्यक्रिया गर्दा साढे सात लाख खर्च भएको छ । तेस्रो चरणको शल्यक्रियाका लागि चार लाख ५० हजार लाग्ने अस्पतालले जनाएको छ ।